काठमाडौं, हमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङका दुई मोडलका बस नेपालमा सार्वजनिक गर्ने भएको छ । काठमाडौंको भृकटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना हुने नाईमा अटो एक्स्पोमा कम्पनीले ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस सार्वजनिक गर्न लागेको हो ।
नेपालमा डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस यसअघि नै बिक्री हुँदै आएका छन् । आयाम इन्टरकन्टिनेन्टलले भने ठूला विद्युतीय बसप्रति बढ्दो मागलाई लक्षित गर्दै डोङफेङका बस नेपाल भित्र्याएको जनाएको छ । कम्पनीले निकट भविष्यमा ३८ र ५२ सिट क्षमताका क्रमशः ९ मिटर र १२ मिटरका बससमेत नेपाल ल्याउने तयारी गरेको जनाएको छ । नाइमा अटो एक्स्पोमा सार्वजनिक हुने बसको मूल्य तथा प्राविधिक विवरण कम्पनीले एक्स्पोकै क्रममा सार्वजनिक गर्ने जनाएको छ ।
कम्पनीका अनुसार ती बसको मूल्य नेपालमा हाल उपलब्ध अन्य ब्रान्डका समान प्रकृतिका बसको तुलनामा बढी प्रतिस्पर्धी हुने छन् । एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको योजना समेत ल्याउने कम्पनीले जनाएको छ । बिक्रीपछिको सेवा तथा स्पेयर पाट्र्सका लागि हिमालयन अर्गनाइजेशनअन्तर्गतका शाखा तथा डिलरमार्फत सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार डोङफेङ मोटर कर्पोरेसनले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी तथा विभिन्न अटोमोबाइल पार्टपुर्जा उत्पादन गर्दै आएको छ । सन् १९६९ मा स्थापना भएको कम्पनीका सवारीसाधन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण अमेरिकालगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएका छन् ।