काठमाडौं, एसआरएम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले नेपालमा १० हजार विद्युतीय सवारी (ईभी) बिक्री गर्ने लक्ष्य राखेको छ ।
नेपाली बजारमा कम्पनीले अगस्ट २०२३ मा एसआरएम ईभीको यात्रा सुरु गरेको थियो । हालसम्म कम्पनीले १ हजार १ सय ११ थान ईभी बिक्री गरेको छ । कम्पनीले नेपाली सडकमा १० हजार थान एसआरएम ईभी पुर्याउने आफ्नो दीर्घकालीन लक्ष्य अनुसार नेपालभर ब्रान्डलाई अझ विस्तार गर्ने तयारी गरेको जानकारी दिएको छ । भिजी मोटर्सले विशेष समारोह आयोजना गरी १ हजार १ सय ११ थान एसआरएम ईभी बिक्रीको उत्सव मनाएको छ । कार्यक्रममा एसआरएमका प्रतिनिधि, ग्राहक, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा एसआरएमको एसियाली बजारका महाप्रबन्धक वाङ लु, एसियाली बजारका बिक्री प्रबन्धक लुसिया वाङ, भिजी मोटर्सका प्रबन्ध निर्देशक विशाल अग्रवाल, प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे, बिजनेस हेड चन्दन रौनियारलगायतको उपस्थिति थियो । कार्यक्रममा चर्चित नेपाली तेक्वान्दो खेलाडी तथा एसआरएमका ब्रान्ड एम्बेसडर दीपक विष्टको पनि सहभागिता थियो । एसआरएम र भिजी मोटर्सले १ हजार १ सय ११ सवारी बिक्रीको उपलब्धिलाई ‘१ हजार १ सय ११ यात्रा, १ हजार १ सय ११ जीविका र १ हजार १ सय ११ कथा’ को रुपमा व्याख्या गरेका छन् । कार्यक्रममा महत्वपूर्ण ग्राहक तथा साझेदारलाई सम्मान गरिएको थियो । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजलाई १ हजार औं एसआरएम खरिदकर्ता तथा युरो स्कुल, छाउनीलाई सबैभन्दा धेरै एसआरएम ईभी खरिद गर्ने संस्थाका रूपमा सम्मान गरिएको हो । डिस्कभरी एजुनेसन नेटवर्क काठमाडौं प्रालिलाई एसआरएम पायोनियर अवार्ड प्रदान गरिएको थियो ।
एसआरएमका विद्युतीय सवारी यात्रु ओसारपसार, विद्यालय तथा संस्थागत यातायात, सामान ढुवानी र साना व्यवसायका विभिन्न आवश्यकतामा प्रयोग हुँदै आएका छन् । कम्पनीका अनुसार नेपालका चुनौतीपूर्ण सडक अवस्थालाई ध्यानमा राख्दै एसआरएमका विद्युतीय सवारीमा ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै मोटरको शक्ति र टर्क वृद्धि गरिएको छ । कम्पनीले सीएटीएलका ब्याट्र प्रयोग गर्दै आएको छ । एसआरएमले सर्तसहित ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ । भिजी मोटर्सका अनुसार नेपालमा एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन् । बढ्दो विद्युतीय सवारी इकोसिस्टमअन्तर्गत सयभन्दा बढी चार्जिङ स्टेसन स्थापना भइसकेका छन् । कम्पनीले ४० जिल्लाका १ हजार ५ सय भन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकलाई ईभी प्रविधि र सडक सुरक्षासम्बन्धी तालिम दिएको छ । एसआरएमले नेपालमा थप विस्तारका लागि दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभी ल्याउने तयारीसमेत गरिरहेको जनाएको छ । कम्पनीले चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक तालिम, स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवामा थप लगानी गर्दै विद्युतीय व्यावसायिक सवारीको प्रयोगलाई देशभर विस्तार गर्ने योजना बनाएको छ ।