दोलखा, स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही अवधारणालाई व्यवहारमा उतार्दै दोलखाको वैतेश्वर गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि र कर्मचारी वडा कार्यालयको सेवा नै झोलामा बोकेर काठमाडौं पुगेका छन् ।
गाउँघर छाडेर काठमाडौंमा बसोबास गर्दै आएका तथा गाउँ फर्किएर वडा कार्यालयबाट सेवा लिन नसक्ने नागरिकलाई लक्षित गरी वडाहरूले राजधानीमा घुम्ती शिविर सञ्चालन गरेका हुन् । शिविरमार्फत विशेषगरी ज्येष्ठ नागरिक, एकल महिला, दलित तथा अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकको भत्ता कार्ड नवीकरण तथा सूचीकृत गरिएको छ । वैतेश्वर गाउँपालिका वडा नम्बर ८, क्षेत्रपाले काठमाडौंमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेको वडा अध्यक्ष शान्तबहादुर जिरेलले जानकारी दिए । गाउँ आउन नसक्ने दर्जनौं नागरिकलाई राजधानीमै सेवा उपलब्ध गराइएको उनले बताए । ‘राज्यले उपलब्ध गराउने सेवाबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले वडाका कर्मचारीसहित काठमाडौं पुगेर सेवा दिएका हौं,’ अध्यक्ष जिरेलले भने ।
त्यस्तै, वडा नम्बर २, गैरिमुदीले साउन २५ देखि २९ गतेसम्म चारदिन घुम्ती शिविर सञ्चालन गरी सेवा प्रदान गरिसकेको वडा अध्यक्ष श्यामकुमार घिसिङले बताए । उनका अनुसार सेवाग्राहीको सहजताका लागि ज्येष्ठ नागरिक, एकल महिला, दलित तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी राजधानीमै शिविर सञ्चालन गरिएको हो । वडा नम्बर ३, मिर्गेले पनि मंगलबारदेखि काठमाडौंको कोटेश्वरमा दुईदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । वडा अध्यक्ष कमल अधिकारीका अनुसार मिर्गे स्थायी ठेगाना भएका ज्येष्ठ नागरिक, दलित, एकल महिला तथा अपाङ्गता भएका नागरिकलाई शिविरमार्फत सेवा दिइनेछ ।