काठमाडौँ, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
सगरमाथा आरोही संघको २५औँ स्थापना दिवसका अवसरमा आयोजित ‘रजत महोत्सव’ कार्यक्रममा सहभागीहरूले ऐनलाई समयसापेक्ष बनाउँदै आरोहीमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् । प्रतिनिधिसभा सदस्य एवं हिमाल आरोही मिङ्मा डेविड शेर्पाले पर्यटन क्षेत्रलाई समयसापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न वर्तमान पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताए । विसं. २०३५ मा बनेको पर्यटन ऐनले वर्तमान समस्या पहिचन गर्न नसक्ने उनको भनाइ छ । ‘हामी अझै पनि २०३५ सालको कानुनमा हिँडिरहेका छौँ, अब यसलाई परिवर्तन गर्ने बेला भएको छ’, उनले भने ।
सगरमाथा आरोहणको ७३ वर्ष पुगिसक्दा पनि धेरै आरोहीले उचित सम्मान र सुरक्षा नपाएका उनले बताए । ‘हामीले थुप्रै आरोहीहरू गुमाएका छौँ, कति महिला एकल भएका छन्, बालबालिका टुहुरा भएका छन् । आरोहीको अधिकारका लागि सरकारले के गर्यो भन्ने प्रश्न अझै जीवितै छ’, उनले भने । नेपाली युवा विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले युवाले मुलुकको पर्यटन क्षेत्रमा भविष्य देख्ने वातावरण बनाएर अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटनको विकास भएमात्र देशको विकास हुने बताए । नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको विकास, प्रचारप्रसार, प्रवर्द्धन र संरक्षणमा लाग्न उनले सबैलाई आग्रह गरे । उनले सङ्घले प्रत्येक दुई वर्षमा आरोहीलाई सम्मान गर्दै आइरहेको जानकारी दिए । सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोही तथा माउन्टेन गाइड (पथप्रदर्शक)को सुरक्षा, हकहित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी नीतिनिर्माण गर्नुका साथै छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने बताइन् । आफ्नो जीवन जोखिममा राखेर नेपालको पर्यटन तथा पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाउने आरोही र माउन्टेन गाइडको भविष्य सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
संघका प्रथम उपाध्यक्ष दिवस पोखरेलले आरोही तथा गाइडको सुरक्षा र अधिकार सुनिश्चित गर्न संघ तथा प्रदेश तहमा स्पष्ट र व्यावहारिक नीति आवश्यक रहेको बताए । उनले भने, ‘संसारले हाम्रा अग्ला र सेता हिमाल देख्छ, तिनको सौन्दर्यको प्रशंसा गर्छ तर ती हिमालको चुचुरामा देशको झण्डा फहराउने आरोही तथा गाइडको वास्तविक दुःख, पीडा र सङ्घर्ष भने प्रायः ओझेलमा पर्ने गर्छन् ।’ संघका महासचिव शिवबहादुर सापकोटाले दुर्घटनामा परेका आरोहीको निःशुल्क तथा गुणस्तरीय उपचार र ज्यान गुमाएका आरोहीका बालबालिकाका लागि उच्च शिक्षा तथा छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । ‘जबसम्म हाम्रा गाइड र आरोही सामाजिक र आर्थिक रूपमा सुरक्षित हुँदैनन्, तबसम्म नेपालको पर्यटन क्षेत्रको दिगो विकास सम्भव छैन’, उनले भने ।
कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आरोही र पर्वतीय पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । त्यस्तै, संघद्वारा २५औँ स्थापना दिवसका अवसरमा प्रकाशन गरिएको ‘रजत स्मारिका’ विमोचन गरिएको थियो ।