काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका छन्।मन्त्री तिमिल्सिनाले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन्।
‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ उनले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएपछि दिनभर प्रेस स्वतन्त्रताको विषयमा बहस भएको थियो।
प्रहरीले नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए। मैनालीलाई नियन्त्रणमा नलिई नफर्किने अडानसहित प्रहरी टोली दुई घण्टाभन्दा बढी समय कार्यालयमै बसेको थियो।
पछि शुक्रबार साँझ प्रहरी टोलीले मैनाली र नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तलाई शनिबार साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिएर कार्यालयबाट बाहिरिएको थियो।शुक्रबार विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई समाचार प्रकाशित गरेको विषयमा प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको चौतर्फी विरोध भएको थियो। सञ्चारमाध्यम तथा पत्रकारका विभिन्न संगठनसँगै राजनीतिक दलका नेताहरूले समेत पत्रकारमाथिको धरपकडप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका थिए।
शुक्रबारको घटनामा पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी सञ्चारमन्त्रीबाट आए पनि उनीहरूलाई कुन विषयमा र कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको थियो भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएसँगै शुक्रबारको घटनाले प्रेस स्वतन्त्रता र प्रहरीको अनुसन्धान प्रक्रियाबीचको सीमाबारे थप बहस सिर्जना गरेको छ।