काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई समाचार प्रकाशित गरेको विषयमा प्रहरीले कार्यालयमै पुगेर पक्राउ तथा धरपकड गरेको घटनाप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर आपत्ति जनाएको छ। रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रहरीको शैलीमाथि नै प्रश्न उठाउँदै ‘पुलिस स्टेट बन्द गर’ भनेका छन्।रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिको प्रहार भएको जनाएको हो।
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई समाचार प्रकाशित गरेकै आधारमा प्रहरी कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी भइरहेको घटनाप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ।लोकतन्त्रमा स्वतन्त्र, सक्षम र उत्तरदायी संस्थाहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै रास्वपाले सञ्चार जगत् नागरिकको आवाज मुखरित गर्ने प्रमुख माध्यम भएको जनाएको छ।
समाचार सामग्रीप्रति कसैको असहमति, गुनासो वा कानुनी प्रश्न भए त्यसको निरूपणका लागि स्थापित कानुनी प्रक्रिया र वैधानिक निकायको प्रयोग गर्नुपर्ने रास्वपाको भनाइ छ।सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्था हुँदाहुँदै स्थापित कानुनी प्रक्रियालाई बेवास्ता गरी पत्रकारमाथि धरपकड गर्नु विधिको शासनविपरीत हुने पार्टीले जनाएको छ।
रास्वपाले समाचारको स्रोतको गोपनीयता संरक्षण गर्नु पत्रकारिताको विश्वव्यापी मान्यता तथा सञ्चारकर्मीको व्यावसायिक अधिकार र दायित्व भएकोसमेत स्मरण गराएको छ।कानुन कार्यान्वयनको नाममा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामा आँच पुर्याउने र पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने गतिविधि स्वीकार्य नहुने पार्टीले स्पष्ट पारेको छ।
रास्वपाले पत्रकार पक्राउ तथा खोजी भइरहेको घटनाको निष्पक्ष, पारदर्शी र यथार्थपरक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल विनासर्त र ससम्मान रिहा गर्न पनि पार्टीले जोडदार माग गरेको छ।पार्टीले कुनै पनि प्रकारको भय, त्रास र अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठामा आधारित पत्रकारिता जारी राख्न सञ्चारकर्मीलाई आह्वान गरेको छ।
सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाउँदै पत्रकारहरूको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो अडान सम्झौताहीन रहने रास्वपाले जनाएको छ।
सचेतक परियारको कडा प्रश्न ? ‘पुलिस स्टेट बन्द गर’
रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकार पक्राउको घटनालाई लिएर प्रहरीको भूमिकामाथि नै गम्भीर प्रश्न उठाएका छन्। शुक्रबार साँझ फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै परियारले समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ तथा धरपकड गरिएको भन्दै विरोध गरेका हुन्।
‘पुलिस स्टेट बन्द गर,’ परियारले लेखेका छन्, ‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयासप्रति घोर भर्त्सना गर्दछु।’ उनले पत्रकार पक्राउमा प्रहरीको शैलीप्रति प्रश्न उठाउँदै संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व राज्यको शक्तिशाली संगठन प्रहरीकै रहेको स्मरण गराएका छन्।
‘संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली पुलिस स्टेट यानी प्रहरी राज उन्मुख देखियो,’ परियारले लेखेका छन्।सत्तारूढ दलकै पार्टी नेतृत्व र संसदीय दलका सचेतकबाट पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी प्रवेशको विरोध भएपछि घटनाले थप राजनीतिक तथा संस्थागत बहस निम्त्याएको छ। यसअघि विभिन्न पत्रकार संगठन तथा राजनीतिक व्यक्तिहरूले समेत पत्रकारमाथि भएको धरपकडको विरोध गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकार र प्रहरीसँग माग गरिसकेका छन्।