काठमाडौँ । समाचार कक्षमै प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड तथा त्यसपछि पत्रकारहरूलाई प्रहरी कार्यालयमा बोलाइएको घटनाप्रति मिडिया एलायन्स नेपालले गम्भीर आपत्ति जनाएको छ।मिडिया एलायन्स नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप लोकतान्त्रिक व्यवस्थाका लागि स्वीकार्य नहुने स्पष्ट पारेको छ।प्रधानमन्त्री कार्यालयको चासोका आधारमा साइबर ब्युरोले पत्रकारहरूलाई बोलाएको प्रहरी प्रवक्ताको स्पष्टीकरण र घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रधानमन्त्री कार्यालयको दाबीबीच देखिएको विरोधाभासले सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको संस्थाको भनाइ छ।
त्यस्तै, सरकारका गतिविधिमाथि उठिरहेका प्रश्न र आलोचनाबाट सार्वजनिक बहसलाई अन्यत्र मोड्ने उद्देश्यले प्रधानमन्त्रीले भोलिपल्टै सामाजिक सञ्जालमार्फत अर्को विषयलाई प्राथमिकताका साथ अघि सार्ने प्रवृत्तिले लोकतान्त्रिक शासनको मर्यादा कायम गर्न नसक्ने मिडिया एलायन्स नेपालको भनाइ छ।स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै संस्थाले सञ्चारगृहमा प्रहरी प्रवेश गर्ने, पत्रकारलाई त्रसित बनाउने तथा प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने जनाएको छ।
सरकार आलोचनाबाट भाग्ने नभई आलोचना र प्रश्नलाई सुन्ने तथा त्यसको जवाफ दिने लोकतान्त्रिक जिम्मेवारीबाट निर्देशित हुनुपर्ने मिडिया एलायन्स नेपालको भनाइ छ। मिडिया एलायन्स नेपालले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको हक कुण्ठित गर्ने यस्ता गतिविधिको कडा विरोध गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि आवश्यक कारबाही गर्न तथा आगामी दिनमा यस्ता हस्तक्षेप दोहोरिन नदिने सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।