काठमाडौँ । दुग्ध विकास संस्थानमा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी हानिनोक्सानी पुर्याएको आरोपमा प्रहरीले तत्कालीन महाप्रबन्धकसहित ८ जनालाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संस्थानमा पूर्वनियोजित योजना तथा आपसी मिलेमतोमा संगठित सञ्जाल निर्माण गरी गैरकानुनी आर्थिक लाभ लिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक ४५ वर्षीय सञ्जीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत ४६ वर्षीय विजयकुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत ५५ वर्षीय मनहरी शर्मा रहेका छन्।
त्यस्तै, तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज तथा हाल काठमाडौँ दुग्ध वितरण आयोजना संकलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत ४९ वर्षीय रामकेवल राय र भरपाई पदमा बागमती धुलो दूध कारखाना, हेटौँडामा कार्यरत २८ वर्षीय जितेन्द्रकुमार यादव पनि पक्राउ परेका छन्।यसैगरी डेरी ब्वाइ पदमा कार्यरत नवलपुर–गरुडा चिस्यान केन्द्रका इन्चार्ज नवीन राय यादव, दैनिक पारिश्रमिक पदमा माडी चिस्यान केन्द्रमा कार्यरत शिवनन्दन राय र जुनियर टेक्निकल असिस्टेन्ट तथा माडी चिस्यान केन्द्रका इन्चार्ज विखबहादुर भण्डारीलाई पनि पक्राउ गरिएको सिआईबीले जनाएको छ।
सिआईबीका अनुसार उनीहरूले पूर्वनियोजित योजना तथा आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी संगठित सञ्जालमार्फत संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ बराबरको गैरकानुनी हानिनोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ। सिआईबीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिका तथा संस्थानमा भएको भनिएको आर्थिक अनियमितताबारे समेत थप अनुसन्धान भइरहेको जनाएको छ।