काठमाडौं, एनसेलले बाढी प्रभावित क्षेत्रमा दिएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि एक हप्ता थप गरेको छ । सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क सेवालाई शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको कम्पनीले जनाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् ।
यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो र सोही अनुसार सेवा दिदै आएको थियो । विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका पहललाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ । प्रभावित समुदायका सर्बसाधारणलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सजिलो बनाउँदै कम्पनीले उक्त निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ ।
कम्पनीले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ । यस्तै अन्य ९ प्रभावित टावरहरूको पुनःसञ्चालनको लागि कार्यसमेत गरिरहेको छ । यसैगरी, एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत एक करोड सहयोग गरेको छ ।