काठमाडौं । माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनामा ठूलो संख्यामा कामदार/कर्मचारी हराएको भन्दै आफन्तहरूले त्यसको ललितपुरस्थित कार्यालय घेरेका छन् । उक्त आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) हो । यो आयोजनाबाट दुई सय १६ मेगावाट जलविद्युत् निकाल्ने भनेर निर्माणाधीन छ ।
सात दिनदेखि बेपत्ताहरूको खोज–उद्धारमा आयोजनाले बेवास्ता गरेको भन्दै आफन्तले निर्माण कम्पनी पावर चाइनाको कार्यालय पुगेर विरोध गरेका हुन् । यद्यपि सरकारले नै आफैं गर्ने भन्दै प्रवर्द्धकसँग आयोजनामा फसेकहरूको खोज र उद्धारमा सहयोग नलिएको हो । मंगलबार मात्र सरकारले प्रवर्द्धकहरूको विज्ञहरूको सहयोग वेपत्ताहरूको खोज तथा उद्धारमा लगाउने प्रतिबद्धता जनाएको छ ।
वेपत्ताका परिवारको सदस्यहरको विरोधका कारण उक्त कार्यालयबाट चिनियाँ कर्मचारीसमेत लखेटिएका छन् । कर्मचारीमाथि आक्रमण र कार्यालयमााथि तोडफोडको सम्भावना बढेपछि प्रहरीले रोकेको थियो ।
एनडब्ल्यूइडीसी, दुसान र पावर चाइना गरी तीन कम्पनीको समन्वयमा उद्धारका लागि जेनेरेटरलगायतका आवश्यक सामग्री कार्यस्थल पठाइसकिएको भए पनि सुरुङभित्र जाने प्राविधिक पठाउने विषयमा सरकारसँग कुरा मिलेको छैन ।