काठमाडौं, यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बीमा क्षेत्रमा मात्र अर्बौँ रुपैयाँबराबरको भुक्तानी दायित्व सिर्जना हुने देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक अनुमानित दाबीसम्बन्धी प्रतिवेदनअनुसार १५ वटा बीमा कम्पनीमा कुल पाँच सय ८३ वटा बीमालेखबाट २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँबराबरको प्रारम्भिक बीमा दाबी पर्ने देखिएको हो ।
प्राधिकरणका अनुसार प्रारम्भिक अनुमानमा सबैभन्दा ठूलो दाबी दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा देखिएको छ । कम्पनीमा आठवटा बीमालेखबाट मात्रै १३ अर्ब चार करोड २१ लाख २६ हजार छ सय रुपैयाँबराबरको प्रारम्भिक दाबी पर्ने अनुमान गरिएको छ । कुल अनुमानित दाबीको ठूलो हिस्सा एउटै कम्पनीमा केन्द्रित भएकाले भोटेकोशी बाढीले बीमा क्षेत्रमाथि पार्न सक्ने वित्तीय प्रभाव समेत निकै ठूलो देखिएको छ । त्यसैगरी युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा बीमालेखबाट चार अर्ब ९७ करोड ४८ लाख ६२ रुपैयाँबराबरको प्रारम्भिक दाबी पर्ने देखिएको छ भने सानिमा जीआईसी इन्स्योरेन्समा एक सय दुईवटा बीमालेखबाट दुई अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँबराबरको दाबी पर्ने अनुमान गरिएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ बीमालेखबाट एक अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ र शिखर इन्स्योरेन्समा एक सय २७ बीमालेखबाट एक अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँबराबरको प्रारम्भिक बीमा दाबी पर्ने प्राधिकरणको अनुमान छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ बीमालेखबाट ६४ करोड ७८ लाख २० हजार रुपैयाँबराबरको प्रारम्भिक दाबी पर्ने देखिएको छ । प्राधिकरणका अनुसार नेको इन्स्योरेन्समा ६६ बीमालेखबाट ५१ करोड ७० लाख ३७ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ बीमालेखबाट २४ करोड २३ लाख २७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीमा ३२ बीमालेखबाट २३ करोड ८६ लाख ४५ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २६ बीमालेखबाट १८ करोड ७३ लाख चार हजार रुपैयाँबराबरको प्रारम्भिक बीमा दाबी पर्ने अनुमान गरिएको छ ।
यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीमा २१ वटा बीमालेखबाट ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १४ वटा बीमालेखबाट तीन करोड १२ लाख आठ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा दुईवटा बीमालेखबाट ७६ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्स कम्पनीमा दुईवटा बीमालेखबाट ५३ लाख ३५ हजार रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा पाँच लाख रुपैयाँबराबरको प्रारम्भिक दाबी पर्ने देखिएको छ । यसरी १५ वटा बीमा कम्पनीमा परेको प्रारम्भिक विवरणअनुसार भोटेकोशी बाढीबाट कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँबराबरको बीमा दाबी पर्न सक्ने प्राधिकरणले जनाएको छ । यद्यपि यी रकमहरू प्रारम्भिक अनुमानमा आधारित भएकाले क्षतिको विस्तृत मूल्यांकन तथा दाबी प्रमाणीकरणपछि वास्तविक भुक्तानी दायित्वमा केही फरक पर्न सक्ने प्राधिकरणको भनाइ छ ।
इन्जिन तथा ठेक्का जोखिम बीमामा साढे २० अर्बको दाबी
नेपाल बीमा प्राधिकरणका अनुसार बीमालेखको प्रकारका आधारमा हेर्दा भोटेकोशी बाढीबाट सबैभन्दा ठूलो बीमा दाबी इन्जिन तथा ठेक्का जोखिम बीमाअन्तर्गत पर्ने देखिएको छ ।
यो शीर्षकअन्तर्गत ५२ वटा बीमित संख्या रहेकोमा मात्रै २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँबराबरको भुक्तानी दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसपछि ठूलो दाबी सम्पत्ति बीमाअन्तर्गत देखिएको छ । यस शीर्षकमा एक सय १३ बीमित संख्या रहेकोमा दुई अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँबराबरको दाबी पर्ने अनुमान गरिएको छ ।
प्राधिकरणका अनुसार मोटर बीमाअन्तर्गत तीन सय १३ बीमित संख्याबाट एक अर्ब ५० करोड ९३ लाख ९० हजार रुपैयाँबराबरको बीमा दाबी पर्ने देखिएको छ । परिवहन बीमाअन्तर्गत ४७ बीमित संख्याबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँबराबरको दाबी पर्ने अनुमान गरिएको छ ।
प्राधिकरणका अनुसार अन्य बीमाअन्तर्गत ५४ बीमित संख्याका लागि ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँबराबरको दाबी पर्ने देखिएको छ । त्यस्तै स्वास्थ्य बीमाअन्तर्गत चार बीमित संख्या रहेकोमा चार करोड १६ लाख रुपैयाँबराबरको दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
प्राधिकरणका अनुसार इन्जिन तथा ठेक्का जोखिम बीमा, सम्पत्ति बीमा, मोटर बीमा, परिवहन बीमा, अन्य बीमा र स्वास्थ्य बीमासहित कुल पाँच सय ८३ बीमित संख्याबाट २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँबराबरको बीमा दाबी भुक्तानी गर्नुपर्ने अवस्था देखिएको हो ।