काठमाडौं, भोटेकोशी (त्रिशूली) बाढीको कारण नेपाली व्यवसायीले पौने आठ अर्बको क्षति भोग्नु परेको छ । बाढीका कारण सात अर्ब ७० करोडबराबरको सामग्रीमा क्षति पुगेको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष रामहरि कार्कीका अनुसार भदौ १० गते गएको निवाशाकारी बाढीका कारण नेपाल र चीनदुवैतर्फको नाकामा क्षति पुर्याउँदा सात अर्ब ७० करोडबराबरको क्षति भएको हो । ‘नेपाली व्यवसायीले आयात गरेको सामगीहरू केरुङ नाका र रसुवागढी नाका दुवैतर्फ रहेको थियो’, उनले भने, ‘बाढीले दुवैतर्फको नाकामा क्षति पुर्याएपछि कराडौं मूल्यबराबरको चीनबाट आयत गरेको सामग्रीमा क्षति पुगेको हो ।’ नेपाली व्यवसायीहरूले चीनबाट तीज, दशैँ, तिहार र छठका लागि आवश्यक सामग्रीहरू चीनबाट आयात गरेका थिए । चाडपर्वलक्षित उक्त आयात गरेका सामग्रीबाट व्यवसायीले करिब १८ करोड भन्सार विभागलाई राजस्व समेत तिरिसकेका छन् । यसबाट दर्जनौँ व्यवसायी समेत प्रभावित भएका छन् ।
त्यस्तै बाढीले करिब दुई सय ६० वटा लरी तथा कन्टेनर बगाएको छ । उक्त कन्टेनरहरूमा कम्तीमा पनि एक करोडबराबरको सामान हुने गरेको पाइन्छ । यसरी हेर्दा दुई अर्ब ६० करोडभन्दा बढीको चाडबाडलक्षित सामग्रीमा क्षति पुगेको संघले जनाएको छ । त्यसैगरी दुई सयवटा विद्युतीय सवारीसाधन पूर्णरूपमा क्षति भएको छ । विद्युतीय सवारीसाधनहरू रसुवा भन्सार यार्डमा रहेका थिए भने कुनै केरुङमा रहेकोमा क्षति भएको हो । सो विद्युतीय सवारीसाधन नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) र अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आयात गरेको हुनसक्ने आकलन गरिएको छ ।
विभागका निर्देशक किशोर बर्तौलाका अनुसार भन्सार यार्डमा चेकजाँचका लागि राखिएको उक्त सवारीसाधन बाढीले बगाएको हो । ‘दुई सय विद्युतीय सवारीसाधन, ढुवानी ट्रक तथा लरी तीन सयवटा गरी पाँच सयवटा सवारीसाधन बाढीमा बगेका हुन् वा क्षति पुगेको हो । भन्सार चेकजाँचमा रहेका लगायतका सवारीसाधन पनि बगेका छन्, यकिन तथ्यांक भने आइसकेको छैन’, निर्देशक बर्तौलाले भने ।
उनका अनुसार विद्युतीय सवारीसाधनका साथै विद्युतीय सामग्री, कम्प्युटर, लत्ताकपडा, फलफूल, लसुन, प्याजलगायतका सामग्री बोकेको कन्टेनर समेत बाढीले बगाएको छ । बाढीले आर्थिक मात्र नभई मानवीय क्षति समेत भएको छ । व्यवसायी, भन्सार कर्मचारी, ट्रक कन्टेनर चालक तथा सहचालकलगायत मानवीय क्षति भएको विभागले जनाएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अनुसार विद्युतीय सवारीसाधनका अतिरिक्त तिनका पार्टपुर्जा, लत्ताकपडा तथा जुत्ता–चप्पल, तयारी पोसाक, होजियारी कपडा, रबर तथा जुत्ता बनाउने कच्चा सामग्री, खाद्य तथा कृषि उपजः स्याउ, लसुन, ओखरलगायतका फलफूल तथा मसलाजन्य सामग्रीहरू बाढीले बगाएको हो । विद्युतीय उपकरण, कस्मेटिक सामान र विभिन्न औद्योगिक कच्चा पदार्थहरू समेत बाढीले बगाउँदा व्यवसायीहरूको आर्थिक क्षति हुन पुगेको महासंघका महासचिव रामचन्द्र पराजुलीले बताए । बाढीका कारण मानवीय र आथिर्क क्षतिका कारण दुखमा परेको बताउँदै उनले सवारीसाधन व्यवसायी, लत्ताकपडा व्यवसायीलगायतमा सबै समस्या परेको बताए ।
यसैबीच चिनियाँ पक्षले तातोपानी नाका बन्द गर्ने बताएपछि व्यवसायीहरू थप समस्यमा परेका छन् । केही दिनका लागि तातोपानी नाका बन्द गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । तातोपानी नाका पुननिर्माणका कारण बन्द गरिएको उनको भनाइ छ । व्यवसायीहरूका अनुसार रसुवागढी नाका बाढीबाट प्रभावित भएको हुँदा तातोपानी नाका पनि बन्द गर्दा नेपाली व्यवासायीहरू थप समस्यामा पर्नेछन् ।
‘रसुवागढी र तातोापानी नाका नेपाली व्यवसायीहरूलाई फाइदाजनक नाकामा रुपमा रहेको छ’, संघमा अध्यक्ष कार्कीले भने, ‘रसुवागढी र तातोपानी नाकाबाट काठमाडौं सामग्री ल्याउँदा ढुवानी मूल्य धेरै लाग्दैन तर कोराला नाका प्रयोग गर्दैै ढुवानी मूल्य धेरै लाग्ने भएकाले चीनबाट आयात गरिने सामग्रीको मूल्य बढ्नेछ’, उनले भने । कोराला नाका प्रयोग गर्दा ढुवानी बढी लाग्ने र आयातित सामग्रीको मूल्य बढ्ने हुन्छ, त्यसैले गर्दा सरकारले तातोपानी नाका खुला गराउनु आवश्यक रहेको कार्कीको भनाइ छ । नेपाल–चीनबीच ७० प्रतिशतभन्दा बढी व्यपार रसुवा भन्सारबाट हुने गथ्र्यो भने ज्यादै कम मात्रामा मात्र तातोपानी नाका प्रयोग हुन्थ्यो । स–साना सवारीसाधन मात्र तातोपानी नाकाबाट नेपाल भित्रिने गरेको थियो । बाढीपहिरोको कारण तातोपानी नाका भएर धेरै सामग्री आयात हुने नगरेको व्यवसायीहरूको भनाइ छ ।
यसैगरी नेपालको निर्यात व्यापार समेत प्रभावित बनेको छ । नेपाबाट चीनतर्फ धातुका मूर्ति तथा भाँडाकुँडा, नेपाली हाते कागज, गलैँचाहरू, औद्योगिक र औषधीय प्रयोजनका लागि प्रयोग हुने वनस्पतिलगायतका सामग्री निर्यात हुने गरेको छ । तामा, पित्तल र काँसबाट बनेका परम्परागत धार्मिक मूर्तिहरू तथा कलात्मक भाँडाहरू, नेपालमा उत्पादित बहुमुखी र बहुमूल्य रुद्राक्षका दाना तथा बुद्धचित्तहरू चीनमा धेरै निर्यात हुने गरेको पाइन्छ । लोकताबाट बन्ने परम्परागत नेपाली कागज र त्यसबाट निर्मित डायरी, उपहार आदि, लत्ताकपडा तथा गलैँचाहरू पश्मिना सल तथा पछ्यौरी, चाउचाउ र स्न्याक्सहरू र छाला समेत निर्यात हुने गरेको छ । चीनले नेपाललाई विभिन्न उत्पादनमा शून्य भन्सारको समेत सुविधा दिएको छ ।