काठमाडौं, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत किन्न पाउने गरी चार लाख ६९ हजार तीन सय दुई कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले यसअघि उक्त सेयर साविकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । कम्पनीले ३५ दिनको सूचना जारी गरेर आवेदन माग गरेकोमा कुनै पनि सेयरधनीबाट सेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
उक्त सेयर खरीद गर्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले सूचना प्रकाशित मिति (भदौ ९ गते) ले सात दिनभित्र नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको मापदण्ड पूरा हुने आवश्यक कागजातसहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।