काठमाडौँ । बंगलादेशको संसदका सभामुख हाफिज उद्दीन अहमदले नेपालमा बाढी र पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख र शोक व्यक्त गरेका छन्।सभामुख अहमदले शोक सन्देश जारी गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त नेपाली परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन्। उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
गत १० भदौमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीसँगै आएको गेग्रानका कारण भोटेकोशी नदीको बहाव एकाएक बढ्दा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ। भीषण बाढीले स्थानीय बस्ती र महत्वपूर्ण पूर्वाधारमा क्षति पुर्याउनुका साथै कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकलाई समेत प्रभावित बनाएको छ।