काठमाडौँ, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेको बताएका छन् ।
भोटेकोशी बाढी सम्बन्धमा सरकारले गरिरहेको खोजी, उद्धार तथा राहत कार्यलगायत विषयमा जानकारी दिन मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा सचिव राईले नेपाली सेनासँगको समन्वयमा विशेषगरी सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार गर्न भारत, चीन र गणतन्त्र कोरियाबाट केही सुरुङ उद्धार विशेषज्ञहरू पनि परिचालन गरिएको जानकारी दिए ।
बाढीपछि नेपाल सरकारले खोजी, उद्धार, राहत तथा पुनःप्राप्ति कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै उपलब्ध स्रोतसाधन तथा प्रयास परिचालन गरेको परराष्ट्र सचिव राईले बताए । तत्कालीन राष्ट्रिय प्राथमिकता जीवन बचाउने, बेपत्ता व्यक्तिहरूको खोजी गर्ने, उनीहरूको उद्धार गर्ने, जीवित बचेकाहरूलाई तत्काल राहत उपलब्ध गराउने तथा प्रभावित नेपाली र विदेशी नागरिकहरूले उचित सहायता तथा सहयोग प्राप्त गर्ने सुनिश्चित गर्ने रहेको उनले बताए । सचिव राईले यस उद्देश्यका लागि प्रभावित क्षेत्रमा करिब १९ हजार सुरक्षाकर्मी र १६ हेलिकप्टर परिचालन गरिएको जानकारी दिए ।