भक्तपुरका शिवप्रसाद मुटुको रोग जचाउन बिहान ९ बजे मनमोहन कार्डियोलोजि भास्कलर टान्स प्लान्ट सेन्टरमा पुगेका थिए । साढे ९ बजे ओपीडीको ७७ नम्बरको टिकट काटेर लाइनमा बसेकोमा ३ बजे मात्र पालो आएको बताउँछन् शिवप्रसाद । पछिल्लो समयमा सबैजसो सरकारी अस्पतालहरूमा यस्तै छ भिडभाड अस्तव्यस्त। शिक्षण अस्पतालमा मात्र होइन, सरकारी वीर अस्पतालमा पनि यस्तै टिकट लिन १ डेढ घण्टा लाइन बस्नुपर्ने, डाक्टर जाँच गर्न २ घण्टा लाइन, केही जाँच गर्नुपर्यो भने पैसा तिर्न १ घण्टा लाइन बस्नुपर्ने, प्रयोगशालामा १ घण्टा लाइन बस्नुपर्ने, कतिपय त उपचारका लागि गएकाहरू आकस्मित सेवा जचाउन पर्नेसमेत समस्या रहेको बताउँछन् । सरोकारवालाहरू सरकारी अस्पतालहरूमा अस्तव्यस्त त छ नै, लाइनसमेत मिच्ने गरेका छन् ।
मनमोहन कार्डियोलोजिमा जेष्ठ नागरिक भनेर पहिले पठाउँने गरेका छन् त्यसोत जेष्ठ नागरिकहरूलाई सम्मान दिनुपर्छ । तर अरुको पालो मिचेर होइन । अस्पतालमा जचाउन के जेष्ठ नागरिक के युवा सबै बिरामी नै हुन्छन् । यसको लागि पनि त अस्पताल प्रशासनले ध्यान दिनुपर्ने हुन्छ । खासगरी सरकारी अस्पतालहरूमा भिडभाडर अस्तव्यस्त भएको आइतबार बिदा दिएकाले हो भनेर पनि भन्ने गरेका छन् जानकारहरू । बालेन सरकारले पेट्रोल बचाउन भनेर आइतबार पनि सार्वजनिक बिदा दिएको छ । पेट्रोल कतिको बचत भयो ? त्यो सरकारले नै जानोस् तर आइतबार बिदाले सरकारी अस्पतालहरूमा भिडभाड बढाएको छ । सरकारी अस्पताल वीर अस्पतालमा दिनमा २ हजार जति बिरामीहरू ओपीडीमा जचाउन आउँने गरेको देखिन्छ ।
स्वयं यो लेखक पनि वीर अस्पतालमा जचाउन बिहान १० बजे पुगेकोमा टोकन नं १५ सय परेको थियो । १२ बजेसम्म टोकन वितरण गर्ने गरेको बताउँछन् । आइतबार बिदा भएको कारणले आइतबारका बिरामीहरूको चाप अरु बार पर्ने गरेको र अरुबार अस्पतालमा भिडभाड हुने गरेका छन् र बिरामीहरूले समस्या भोग्न परेको बताउँछन् सोकारवालाहरू । यसकारणले पनि आइतबार सरकारी अस्पतालहरूमा बिदा दिन नहुने बताउँछन् । त्यसोत कतिपयको भनाइमा अस्पतालहरूमा बिदा नै दिन नहुने बताउँछन् डाक्टर र कर्मचारीहरू । आलोपालो गरी बिदा दिएर अस्पतालमा ओपीडी सधैँ सञ्चालन गर्नुपर्ने देखिन्छ । एक त देशमा सरकारी अस्पतालहरूका कमी छन् । त्यसमा पनि महिनाको १० दिन त सार्वजनिक बिदाहरू हुने गरेका छन् ।
नेपालका सबै नागरिकहरू निजी अस्पतालमा जान सक्ने हैसियतका छैनन् । निजी अस्पतालहरूमा शुल्क बढी लाग्छ। सरकारी अस्पतालमा नै जानुपर्ने बाध्यता छ । सरकारी अस्पतालहरूमा सधैँ भिडभाड हुने गरेका छन् । अनि यस्तो अवस्थामा सरकारी अस्पतालहरूमा आइतबार पनि बिदा दिने गरेको न्यायोचित नभएको बताउँछन् । अहिलेको डिजिटलाइजेसनको जमानामा पनि सरकारी अस्पतालहरूले आ–आफ्नो सेवाहरू चुस्त व्यवस्थित बनाउन सकिरहेका छैनन् भन्दा पनि फरक नपर्ला । यसमा अस्पतालका व्यवस्थापकले ध्यान दिनुपर्ने देखिन्छ । त्यसो त अरू सरकारी अस्पतालहरूभन्दा शिक्षण अस्पताल अलि व्यवस्थित नै छ भन्दा पनि फरक नपर्ला । अस्पतालहरूमा आइतबारको बिदा फिर्ता लिनुपर्ने आम नागरिकहरूले भन्ने गरिरहेका छन् । त्यसैगरी आइतबारको बिदालाई फिर्ता लिन अभिभावकहरूको माग रहेको छ । शिक्षण संस्थाहरूमा दिने गरेको आइतबारको बिदा पनि न्यायोचित नभएको अधिकांश अभिभावकहरूको भनाइ रहेका छन् । एक त आइतबारका दिन स्कुलहरूको बिदाले गर्दा विद्यार्थीहरूको पढाइ बिग्रेको छ । विद्यार्थीहरू मोबाइल फोनमा झुण्डिने गरेका छन् भने कतिपय विद्यार्थीहरू उछलकुदमा लाग्ने गरेका बताउँछन् अभिभावकहरू । आइतबार पनि बिदाले गर्दा स्कुलहरूमा महिनाको २० दिनमात्र पढाइ हुने गरेका छन् । १ वर्षमा ५२ दिन आइतबार हुन्छन् । ५२ दिनको लगभग २ महिना । वर्षमा २ महिना त आइतबारको बिदाले विद्यार्थीहरू पढ्न पाउँदैनन् तर अभिभावकहरूले शुल्क भने तिर्नुपर्ने । शुल्कको कुरालाई छाड्ने हो भने पनि आइतबार बिदाले गर्दा विद्यार्थीहरू बतालिएर हिड्ने गरिरहेका छन् । एक त विद्यार्थीहरूको पढाइ बिग्रेको छ भने विद्यार्थीहरु पनि एताउता भौतारिरहेने अवस्था आएको देखिन्छ । यसकारणले पनि शिक्षण संस्थाहरूमा र अस्पतालहरूमा आइतबारको बिदा खारेज गर्नुपर्ने सरोकारवालाहरूको भनाइ रहेको छ । कतिपय अवस्थामा त आम नागरिकहरू सही विषयमा पनि बोल्न र सरकारको आलोचनासम्म गर्न डराइरहेका छन् । सही विषयलाई लिएर सरकारको आलोचना मात्र गरे पनि छाडाछाडा अश्लील–अश्लील गालि दिने गरेका छन् केही असभ्यहरूले ।