काठमाडौं, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका अनुसार एक लाख १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । उक्त सेयर कम्पनीकै विद्यमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको कम्पनीले जानकारी दिएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । कम्पनीका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्रीमा राखिएको जनाएको छ । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय ५० रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले कति कित्ता सेयर कति रकममा खरिद गर्न चाहेको हो भन्ने विवरण खुलाएर आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । आवेदन बिक्री प्रबन्धक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा पेस गर्नुपर्नेछ । निर्धारित ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा वा सबै सेयर बिक्री नभएमा बाँकी सेयर अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।