काठमाडौँ, मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख रिङ्गिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ । हालै रसुवास्थित भोटेकोसीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको हो ।
विपद्का बेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ड्रोन उपलब्ध गराइएको प्रोटोनले जनाएको छ । विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाइ निरीक्षण गर्न ड्रोन उपयोगी हुने कम्पनीले जनाएको छ । मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी नाडमा (एनएडिएमए) ले यसको व्यवस्थापन तथा समन्वय गरेको हो । मलेसियाको मानवीय सहायता तथा विपद् उद्धार अभियानअन्तर्गत हाल नेपालमा खटिएको स्मार्ट(एसएमएआरटी) को टोलीद्वारा ड्रोन नेपालसम्म ल्याउने व्यवस्था मिलाइएको थियो । यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएका र नेपाल सरकारकै स्वामित्वमा रहने पनि उल्लेख गरिएको छ ।
ड्रोन हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ, र नाडमा (एनएडीएमए) का महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकिमको उपस्थिति रहेको थियो । उक्त हस्तान्तरण कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधिहरू चु ह्वाइ जेङ, र इन्चिक जुल इज्बान हम्जाको पनि सहभागिता रहेको थियो भने हाल नेपालमा प्रोटोन ब्रान्डको लोकप्रियता पनि निरन्तर बढ्दै गएको छ । प्रोटोनले यस्ता विपद् तथा कठिन परिस्थितिमा नेपालीहरूसँग ऐक्यबद्धता जनाउँदै स्थानीय समुदायलाई सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ । जगदम्बा मोटर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ नगद योगदान गर्दै विपद्को घडीमा नेपालप्रति आफ्नो प्रतिबद्धता जनाएको छ । साथै, अन्य जिन्सी सहयोगहरू पनि गरिरहेको छ । प्रोटोन र शंकर ग्रुपको सहयोगले सकारात्मक र अर्थपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।