काठमाडौं, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/०८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार संस्थाले उल्लेखनीय रूपमा नाफा वृद्धि गर्दै १९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ दशमलव ६३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाले १० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको सञ्चालन आम्दानी २२ करोड ६२ लाख रुपैयाँबाट बढेर ३४ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा खुद ब्याज आम्दानी पनि २१ करोड १६ लाख रुपैयाँबाट बढेर २२ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको चुक्ता पुँजी हाल एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ३४ करोड ८१ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ १५ करोड २६ लाख रुपैयाँ पुगेको छ । वित्तीय विवरणअनुसार संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ १८ पैसा, प्रतिसेयर नेटवर्थ एक सय ३७ रुपैयाँ २६ पैसा तथा लाभांश क्षमता १० दशमलव १३ प्रतिशत रहेको छ ।
यस्तै, संस्थाको निष्क्रिय कर्जा (एनपीएल) घटेर दुई दशमलव ८८ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एनपीएल तीन दशमलव ८४ प्रतिशत रहेको थियो ।