काठमाडौं, नेपालमा बीवाईडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक प्रालिले बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
बीवाईडी र साइमेक्सले संयुक्त रुपमा सो रकम दिने घोषणा गरेका हुन् । सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनःस्थापनाका कार्यमा परिचालन गरिने कम्पनीले जनाएको छ । यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले विपद्को घडीमा कम्पनी नेपाली जनतासँग ऐक्यबद्ध भएर उभिएको बताए ।