काठमाडौं, रसुवाको भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपश्चात् सरकार र निजी क्षेत्र सो क्षेत्रमा राहत र उद्धारका लागि अघि बढेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रीहरूले बाढीपछि प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बिहीबार बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री शाह र मन्त्री लम्साल बिहान ९ बजेर ३० मिनेटमा सडकमार्ग हुँदै नुवाकोट गएका हुन् । प्रधानमन्त्री शाहले नुवाकोट सदरमुकाम विदुर र आसपासका क्षेत्रको निरीक्षण गरेका छन् । उनले बाढीबाट प्रभावित, स्थानीय र घाइतेहरूलाई भेटेका छन् । भेटको क्रममा उनले बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, उपचार र पुनस्र्थापनाका काममा कमी हुन नदिने बताए । शाहको उपस्थितिमा नुवाकोट विदुरमा रहेको श्री नं १ सैन्य तालिम केन्द्रमा उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा उनले बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, उपचार र पुनस्र्थापनामा स्रोतको कमी हुन नदिने बताए । ‘सरकारले आवश्यक स्रोत प्रभावितका लागि प्रयोग गर्नेछ । जनताको साथमा सरकार छ’, उनले बैठकमा भने, ‘प्रभावितका लागि कुनै अभावको महसुस गर्नुपर्ने अवस्थाको सिर्जना हुँदैन । ’
बैठकमा पूर्वाधार मन्त्री लम्साल, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, प्रधानसेनापति अशोक सिग्देल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख र स्थानीय तहका प्रमुखलगायतका सहभागिता रहेको थियो । बैठकपछि मन्त्री तिमिल्सिनाले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लालाई संकटग्रसत क्षेत्र घोषणा गरिसकेकोले आवश्यक स्रोत साधनको प्रयोग गर्ने निर्णय भएको बताए । ‘संकटग्रस्त क्षेत्र घोषणा गरिसकिएको छ । उद्धारका लागि सबै हेलिकोप्टर परिचालन गरिएको । स्थलगत तवरबाट पनि उद्धार भइरहेको छ । उद्धारका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन भएका छन्’, उनले भने ।
‘बैठकले बाढीमा परेका व्यक्तिहरूको खोजी र उद्धार गर्ने । बाढीमा परि मृत्यु भएको शव खोजी गर्ने र व्यवस्थापन गर्ने निर्णय गरेको छ’, तिमिल्सिनाले भने, ‘उद्धार गरिएकालाई उचित व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ ।’ बैठकमा प्रधानमन्त्रीले अहिलेको व्यवस्थापन उचित तरिकाले गर्दै भोलिका दिनमा अघि बढाउने योजना निर्माण गरी अघि बढ्न सरोकारवाला सबैलाई निर्देशन दिएको उनले बताए ।
प्रधानमन्त्री शाहले तालिम केन्द्रमा रहेका घाइतहरूसँग कुराकानी गरेका थिए । करिब दुई घण्टा स्थलगत अनुगमनपश्चात् प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै काठमाडौं फर्किएका हुन् । शाह फर्किएपछि मन्त्री लम्सालले भने तालिम केन्द्र तथा त्यसवरपरको वस्तुस्थितको बारेमा थप जानकारी लिएका छन् । उनलाई उद्धार र खोजबिनमा भइरहेको प्रगतिवबारे नेपाली सेनाले जानकारी गराएको छ ।
त्यस्तै तिमिल्सिनाले पनि बाढीबाट उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग भेटघाट गरेका छन् । नुवाकोट तिमिल्सिनाको गृह जिल्ला समेत रहेको छ ।