काठमाडौं, बुधबारको रसुवा बाढीपछि सयौँ अझै सम्पर्कविहीन छन् । दोस्रो दिन उनीहरुमध्ये कतिपयको भने ठेगाना खुल्नथालेको छ । रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीले नुवाकोट र धादिङमा त्रिशूलीको वहाव बढाएपछि बुधबार व्यापक असर गरेको हो । योसँगै विभिन्न जिल्लाका सम्पर्कविहीन मानिसहरुको क्षेत्र पहिचान हुन थालेको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
बुधबार एक्कासि आएको बाढीले तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ भने सम्पर्कविहीन हुनेको संख्या बढ्दो क्रममा छ । यसले त्यसतर्फ गएका दर्जन बढी देशका पर्यटकसहित रसुवा र नुवाकोटका धेरै गाउँ डुबाएको थियो । अप्रत्याशित बाढीपछि सरकारले अहिले राहत तथा उद्धारमा ध्यान दिएको छ ।
बर्दियाका ९० जना सम्पर्कविहीन
बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन भएका छन् । त्यहाँस्थित जलविद्युत् आयोजना, कन्स्ट्रक्सन कम्पनीलगायतमा कार्यरत रहेका उनीहरु सम्पर्कविहीन भएका हुन् । गुलरिया नगरपालिकाका दुई, बाँसगढी नगरपालिकाका १८, राजापुर नगरपालिकाका १६, बारबर्दिया नगरपालिकाका २५, ठाकुरबाबा नगरपालिकाका १३, मधुवन नगरपालिकाका एक, गेरुवा गाउँपालिकाका १४ तथा एक जना पालिका नखुलेका व्यक्ति बाढीपछि सम्पर्कविहीन भएका बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
सम्पर्कविहीन हुनेहरुमध्ये पावर चाइना हाइड्रोपावर, अपर त्रिशूली हाइड्रोपावर, त्रिशूली हाइड्रोपावर, रसुवागढी कन्स्ट्रक्सन कम्पनी, रसुवा सुरुङमार्गमा कामदारका रुपमा काम गर्न गएका व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् ‘फोकल पर्सन’ लोकप्रसाद ढकालले बताए । त्यस्तै रसुवाको मैलङ्मा बर्दियाका २०० जना सुरक्षित रहेको र उद्धारको पर्खाइमा रहेको बर्दिया क्षेत्र नंं १ बाट प्रतिनिधित्व गर्ने सङ्घीय संसद् ठाकुरसिंह थारूमार्फत जानकारी आएको जिल्ला प्रशासन कार्यालयका विपद् फोकल पर्सन ढकालले जानकारी दिए । यस्तै, पावर चाइना हाइड्रोपावर कम्पनीमा काम गर्न गएका बर्दियाका करिब १५ जना आधारभूत विद्यालय उत्तरगया–१ मा सुरक्षित रहेको र उद्धारको प्रर्खाइमा रहेको गेरुवाका धनिराम दहितले जानकारी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले भोटेकोशी बाढीबाट सम्पर्कविहीन रहेका बर्दियाका व्यक्तिहरुको तथ्यांक संकलन गरिरहेको छ । खोज तथा उद्धारका लागि रसुवाका प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ ।
मकवानपुरका ७० जना सम्पर्कबाहिर
भोटेकोशी नदीमा गएको बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर रहेका छन् । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार रसुवासहित बाढी प्रभावित क्षेत्रमा पुगेका जिल्लावासीसँग सम्पर्क हुन नसकेको भन्दै उनीहरूका आफन्तले प्रशासनलाई विवरण टिपाएका हुन् ।