काठमाडौं । रसुवा र नुवाकोटमा गएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि मोरङको विराटनगरस्थित बालकल्याण विद्यामन्दिर माध्यमिक विद्यालयले १० लाख रुपैयाँ सहयोग गरेको छ। बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि मानवीय सहयोगका लागि विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–कर्मचारी तथा विद्यालय परिवारले रकम संकलन गरी सहयोग गरेको हो।
विद्यालय परिवारले विपद्को कठिन घडीमा पीडित नागरिकलाई साथ दिनु आफ्नो सामाजिक दायित्व भएको भन्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।विद्यालयले प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सक्दो सहयोग आवश्यक रहेको बताएको छ। विद्यालय परिवारले आफ्नो तर्फबाट गरिएको सहयोगले विपद्मा परेका नागरिकको पीडामा केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ। रसुवा र नुवाकोटसहित विभिन्न क्षेत्रमा बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएपछि पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम बढिरहेको छ।