काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म नेपाल सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ लागिरहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामो विवरण सार्वजनिक गर्दै उनले बाढी प्रभावित क्षेत्रमा आफ्नो ज्यानको समेत परवाह नगरी खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न निकायका पदाधिकारी, सञ्चारमाध्यम, स्वयंसेवी संस्था तथा आम नागरिकको भूमिकाको प्रशंसा गरेका छन्।
उनले विपद्को अवधिमा नागरिकहरूले देखाएको धैर्य, साथ, सहयोग र समन्वयप्रति आभार व्यक्त गर्दै विपद् व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारले दिएको सहयोग महत्वपूर्ण रहेको बताएका छन्। मित्रराष्ट्र, स्वदेशी तथा विदेशी संघसंस्था, सञ्चारमाध्यमलगायत सबै सरोकारवालाबाट प्राप्त सहयोग पनि अनुकरणीय रहेको उनको भनाइ छ।
खोज, उद्धार र राहत सरकारको प्राथमिकतामा
सरकार अहिले पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेको शाहले बताएका छन्। यससँगै प्रभावित नागरिकका लागि राहत सामग्री संकलन तथा वितरणको काम पनि तीव्र रूपमा अघि बढाइएको उनले उल्लेख गरेका छन्।
काठमाडौँलगायत देशका विभिन्न स्थानबाट संघसंस्था र आम नागरिकले उपलब्ध गराएका राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने काम भइरहेको छ। राहत व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग प्राप्त भइरहेको उनले बताएका छन्।
हालसम्म भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट सहयोग प्राप्त भइसकेको शाहले जानकारी दिएका छन्।
उनका अनुसार सुरक्षाकर्मीले हवाई तथा सडकमार्गबाट प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङका चारवटा संकलन केन्द्रमार्फत रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रमा राहत पुर्याइरहेका छन्। हालसम्म ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्याइएको उनले बताएका छन्।प्रदेश र स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रिय रहेको उल्लेख गर्दै शाहले राहत संकलन र वितरणसम्बन्धी जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर सार्वजनिक गरिरहेको बताएका छन्।
प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ८७ करोडभन्दा बढी
बाढीपीडितका लागि नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत आर्थिक सहयोग जुटाइरहेको शाहले बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिरहेको उनको भनाइ छ।उनका अनुसार आज मध्यान्हसम्म प्रधानमन्त्री राहत कोषअन्तर्गत नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको उनले बताएका छन्। कतिपय देश तथा संघसंस्थाले थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको उनको भनाइ छ।
त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडियो
बाढीबाट प्रभावित नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको शाहले बताएका छन्। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी भएर त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका छन्।यससँगै नुवाकोटका ठूलो संख्याका नागरिकको सदरमुकामसँग पुनः प्रत्यक्ष सडक पहुँच स्थापित भएको र उद्धार, राहत सामग्री वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिमा सहजता हुने अपेक्षा गरिएको छ।
रसुवा, नुवाकोटदेखि धादिङका अधिकांश स्थानमा पुल भत्किँदा आवतजावत प्रभावित भएको उल्लेख गर्दै उनले सरकारले अस्थायी पुल निर्माणलाई पनि प्राथमिकतामा राखेको बताएका छन्।सरकारसँग ४८ मिटर लम्बाइका ६ वटा र ७० मिटरको एउटा बेलिब्रिज रहेको तथा देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजार गरी तीन स्थानमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको उनको भनाइ छ।
भारत सरकारबाट २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको र थप सातवटा बेलिब्रिज पठाउने प्रतिबद्धता पनि आएको शाहले बताएका छन्। चीन सरकारले पनि ३० वटा बेलिब्रिज चाँडै उपलब्ध गराउने उनको भनाइ छ।
११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना सम्पर्कविहीन
बाढी प्रभावित क्षेत्रबाट उद्धार कार्य तीव्र पारिएको उल्लेख गर्दै शाहले केहीबेर अघिसम्म ११ हजार ३७९ जनाको उद्धार भइसकेको जानकारी दिएका छन्।उनका अनुसार हाल ३ हजार ९२५ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनको संख्या घटबढ भइरहेको उनले बताएका छन्।प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ जना घाइतेमध्ये १६८ जना डिस्चार्ज भइसकेको उनको भनाइ छ।
सुरक्षा निकायसँग निरन्तर ब्रिफिङ
बाढी प्रभावित क्षेत्रमा भइरहेको काम र वर्तमान अवस्थाबारे सुरक्षा निकायसँग नियमित रूपमा जानकारी लिइरहेको शाहले बताएका छन्।उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रमुखसँग खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाबारे विस्तृत ब्रिफिङ लिइएको जानकारी दिएका छन्।प्रभावित क्षेत्रमा खटिएका मन्त्रिपरिषद्का सदस्य, संघीय सांसद तथा अन्य प्रतिनिधिबाट पनि निरन्तर जानकारी लिइरहेको र यो क्रम जारी रहने उनको भनाइ छ।
रसुवामा ३० प्रतिशत र नुवाकोटमा ८५ प्रतिशत विद्युत् पुनःस्थापना
प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा पुनःस्थापनाको काम पनि जारी रहेको शाहले बताएका छन्।रसुवाको कालिकास्थान, नौकुण्डका केही भाग, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ का केही क्षेत्र तथा सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः पुगेको उनले जानकारी दिएका छन्।
आमाछोदिङ गाउँपालिकाका केही भागमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालनको तयारी भइरहेको छ। बाँकी क्षेत्रमा घरायसी प्रयोजनका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको उनले बताएका छन्।नुवाकोटमा बाढीका कारण प्रभावित विद्युत् सेवा हाल ८५ प्रतिशत क्षेत्रमा पुनःस्थापना भइसकेको र बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी पाँच दिनभित्र सेवा पुर्याउने गरी काम भइरहेको उनको भनाइ छ।त्यसैगरी धादिङमा पृथ्वी राजमार्गको दायाँबायाँको क्षेत्र प्रभावित भए पनि आदमघाटको केही क्षेत्रबाहेक जिल्लाको ९९.८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको उनले बताएका छन्। आगामी दुई दिनभित्र सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्ने गरी काम भइरहेको छ।सञ्चार सेवा पनि अधिकांश स्थानमा पुनःस्थापना भइसकेको उल्लेख गर्दै उनले नेपाल टेलिकमका १२० बीटीएसमध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरबाट सेवा सञ्चालनमा आइसकेको जानकारी दिएका छन्।
जलविद्युत् आयोजनाबाट २७९ जनाको उद्धार
बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएको र केही आयोजनामा कार्यरत जनशक्ति सम्पर्कविहीन भएको आशंका रहेको शाहले बताएका छन्।नेपाली सेनाले विभिन्न जलविद्युत् परियोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरेको छ भने सुरुङभित्र पनि खोज तथा उद्धार कार्य जारी रहेको उनले उल्लेख गरेका छन्।
नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरेको छ। चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले आयोजनाको सुरुङको भित्री भागसम्म खोजी गरेको भए पनि त्यहाँ मानिस नभेटिएपछि टोली फर्किएको थियो।रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली तथा नेपाली सहयोगीहरूले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्।
मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जना र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको शाहले बताएका छन्। माथिल्लो त्रिशूली–१ को सुरुङमा नेपाली सेना, कोरियन तथा चिनियाँ टोलीले खोज तथा उद्धार प्रयास जारी राखेको उनको भनाइ छ।
यस्तै नुवाकोटको माथिल्लो त्रिशूली–थ्री ए को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ९० जनाको टोली परिचालित छ। नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिरहेको छ।माथिल्लो त्रिशूली–३ बी आयोजना क्षेत्रबाट दुई जनाको उद्धार गरिएको र हाल ३१ जनाको टोलीले खोज तथा उद्धार गरिरहेको उनले बताएका छन्। चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले उक्त क्षेत्रमा खोज तथा उद्धार सुरु गरेको हो।नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जना, सौर्य आयोजनाबाट चार जना र देवीघाट जलविद्युत् आयोजनाबाट चार जनाको उद्धार भइसकेको शाहले जानकारी दिएका छन्।
९३९ जनाको शव फेला, वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन
बाढीका कारण ज्यान गुमाएका तथा पहिचान हुन नसकेका व्यक्तिको शव कानूनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको शाहले बताएका छन्।‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन भइरहेको उनले जानकारी दिएका छन्।
पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवको डीएनएलगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर मात्रै व्यवस्थापन गर्ने गरिएको उनको भनाइ छ।हालसम्म ९३९ जनाको शव फेला परेको र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको उनले बताएका छन्। पहिचान भएका शव भने आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।
‘हिमालय क्षेत्रकै ठूलो विपद्’
शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी नभएको बताएका छन्। उनका अनुसार हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित यो घटनालाई यस क्षेत्रकै ठूलो विपत्तिका रूपमा हेरिएको छ।यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै विपद्को जोखिम बढ्दै गएको संकेत गरेको उल्लेख गर्दै उनले यस विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्ने समय आएको बताएका छन्।
अब पुनःस्थापनामा केन्द्रित हुने तयारी
खोज तथा उद्धारसँगै सरकारले प्रभावित नागरिकको पुनःस्थापनाबारे पनि छलफल अघि बढाएको शाहले बताएका छन्।स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु भइसकेको उनको भनाइ छ। बाढीबाट हजारौँ नागरिकले घर, परिवार, प्रियजन तथा जायजेथा गुमाएको उल्लेख गर्दै उनले प्रभावितलाई सामान्य जनजीवनमा फर्काउन पुनःस्थापनालाई अबको प्रमुख प्राथमिकता बनाइने बताएका छन्।
‘उहाँहरूले भोग्नुभएको पीडा सरकारले बुझेको छ,’ उनले भनेका छन्, ‘उहाँहरूको पीडामा मलहम लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पुर्याउनु अबको बाटो हो।’ प्रभावित नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापनाको काम अघि बढाइने र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउने क्रम पनि जारी रहेको शाहले बताएका छन्।