काठमाडौं–धनगढी उडानमा रहेको श्री एयरलाइन्सको जहाज चरासँग ठोक्किएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार दिउँसो २ः५३ बजे धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज चरासँग ठोक्किएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।
उडानका क्रममा चरासँग ठोक्किएपछि जहाजको अगाडिको सिसामा चर्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। जहाजमा सवार ५० जना यात्रु भने सकुशल रहेको बताइएको छ।घटनापछि जहाजलाई सोमबार अपराह्न ३ः३० बजे भैरहवा विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराइएको हो। आकस्मिक अवतरणपछि जहाजमा रहेका यात्रुहरूलाई भैरहवा विमानस्थलको अन्तर्राष्ट्रिय डिपार्चर हलमा राखिएको जनाइएको छ।
चरासँग ठोक्किँदा जहाजमा भएको क्षतिको वास्तविक अवस्था तथा घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। जहाजको प्राविधिक निरीक्षण तथा आवश्यक जाँचपछि मात्रै उडानसम्बन्धी थप निर्णय गरिने बताइएको छ। घटनाबारे सम्बन्धित निकायले आवश्यक प्राविधिक परीक्षण तथा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।