काठमाडौं, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले साधारण सेयरको बिक्री आहृवान गरेको छ । कम्पनीले यही भदौ २२ गतेदेखि साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब चार करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र एक लाख चार हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ।
अब बाँकी सेयरमध्ये २० हजार आठ सय कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ५२ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुनिश्चित गरी बाँकी रहेको आठ करोड ६३ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीका अनुसार साधारण सेयर खरिदको लागि न्यूनतम १० कित्ताका लागि र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज पाँच गते हुनेछ । कम्पनीको साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी लिमिटेड रहेको छ ।