काठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ लिङकरोडस्थित होटल अमन प्यालेसबाट करिब १ सय ग्राम ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिईएको छ । भारत घर बताउने अन्दाजी ३५ वर्षीय विशाल कुमार कुशवाहालाई उक्त ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
सो ठाउँमा लागूऔषध कारोबार गरिरहेको भन्ने एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र साउदको कमान्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनले उक्त ब्राउन सुगर भारतको रक्सौला नाका हुँदै नेपाल ल्याएको बताएका छन् ।
साथै, उनले प्रयोग गरेको बीआर ०५ बीएस ०४१९ नम्बरको मोटरसाइकल तथा नेपाली र भारतीय रुपैयाँसमेत बरामद गरिएको छ । नियन्त्रणमा लिईएका कुशवाहालाई बरामद ब्राउन सुगर तथा अन्य सामानसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।