काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ ।सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।त्यस्तै, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र सम्बन्धमा प्राकृतिक व्यक्तिका लागि अग्रिम करको व्यवस्था गरिएको छ । जसअनुसार विनियम बजारको कार्य गर्ने निकायले ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३.५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाही अघि बढाउन साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिई बीमा तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरिएको छ ।सरकारले चक्रिय राहत कोष सञ्चालन कार्यविधि–२०८३ समेत स्वीकृत गरेको छ । यस्तै, नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।