निर्मल पुर्जा (निम्स दाइ) भन्नासाथ संसारले एउटा त्यस्तो नेपालीलाई सम्झिन्छ, जसले असम्भवलाई सम्भव बनाए । नेपालको म्याग्दी जिल्लाको एउटा सामान्य परिवारमा जन्मिएका उहाँले आफ्नो साहस, आत्मविश्वास, अनुशासन र अथक मेहनतको बलमा विश्व पर्वतारोहणको इतिहासमै नयाँ अध्याय लेख्नुभयो । निर्मल पुर्जा (निम्स दाइ) नेपालका म्याग्दीको एउटा सानो गाउँमा जन्मिएर यो प्रकृतिलाई माया गर्ने एक आँटिला, जोसिला व्यक्तित्व हुनुहुन्थ्यो ।
बेलायती सेनाको स्पेसल बोट सर्भिस (एसबीएस) जस्तो विश्वकै कठिन सैन्य इकाइमा रहेर सेवा गर्नुभएका उहाँले पछि आफ्नो जीवन हिमाल र मानव सेवाका लागि समर्पित गर्नुभयो । यसैलाई आफ्नो कर्मथलो पनि बनाउनुभयो । पहिला आफूले सिक्नुभयो र पछि धेरैलाई साहस र ऊर्जा सिकाउनुभयो । धेरैलाई सफलताको सिँढी चढ्न पनि सिकाउनुभयो ।
संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्न वर्षौँ लाग्ने मान्यता थियो । तर निर्मल पुर्जाले ९प्रोजेक्ट पोसिबल०मार्फत केवल ६ महिना ६ दिनमै सबै १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेर विश्वलाई नै अचम्मित पार्नुभयो । यो केवल एउटा कीर्तिमान मात्र थिएन, यो नेपाली साहस, आत्मविश्वास र अठोटको विश्वसामु गरिएको घोषणा थियो । उहाँको जीवनमा आधारित ९ज्ञद्ध एभबपकः ल्यतजष्लन क्ष्क क्ष्mउयककष्दभि० वृत्तचित्रले संसारभरका लाखौँ मानिसलाई प्रेरणा दिएको छ ।
सगरमाथादेखि के–टु, अन्नपूर्णदेखि नङ्गा पर्वतसम्मका कठिन हिमालहरूमा नेपालको झण्डा फहराउँदै उहाँले बारम्बार प्रमाणित गर्नुभयो कि नेपालीहरू केवल हिमालका छोराछोरी मात्र होइनन्, संसारलाई नेतृत्व गर्न सक्ने साहसी मानिस पनि हुन् । उहाँले कहिल्यै आफ्नो सफलता केवल आफ्नै लागि प्रयोग गर्नुभएन । भरियाहरूको हक–अधिकार, हिमाली समुदायको सम्मान, उद्धार कार्य, मानव सेवा, शान्तिको सन्देश र नेपालको पर्यटन प्रवद्र्धनमा उहाँ निरन्तर लागिरहनुभयो ।
यति धेरै सफलता प्राप्त गरेपछि पनि उहाँमा घमण्ड थिएन । हो, समयको माग सँगै र आफ्नो इच्छाले नै उनलाई बेलायती सेनामा लग्यो, तर उहाँ सधैँ आफूलाई नेपाली भनेर चिनाउन गर्व गर्नुहुन्थ्यो । संसारको जुनसुकै देशमा पुगे पनि ‘आइ एम नेपाली‘ भनेर गर्वका साथ भन्नु उहाँको पहिचान थियो । त्यसैले उहाँ केवल विश्वविख्यात पर्वतारोही मात्र होइन, लाखौँ नेपालीका प्रेरणा, आत्मविश्वास र देशप्रेमका प्रतीक बन्नुभयो ।
तर आज त्यही साहसी व्यक्तित्व पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी हामीबाट सदाका लागि टाढिनुभएको छ । यो केवल एउटा व्यक्तिको निधन होइन, नेपालले आफ्नो एउटा अमूल्य सम्पत्ति गुमाएको क्षण हो । एउटा यस्तो व्यक्तित्व, जसले आफ्नो जीवनभर नेपाललाई विश्वसामु चिनाउन कहिल्यै पछि हट्नुभएन, आज उहाँकै सम्झनामा सिंगो नेपाल र संसारभर रहेका उहाँका शुभचिन्तकहरू भावविह्वल भएका छन् ।
नेपालमै कतिपय नेपालीले नै उहाँलाई ‘नेपाली होइन‘ भनेका बेला पनि उहाँले गर्वका साथ ‘म नेपाली हुँ‘ भनेर संसारसामु चिनाउनुभयो । नेपाल सानो होला, गरिब होला, विकास नभएको होला, तर आखिर आमा त आमा नै हो, चाहे त्यो झुप्रोमै किन नहोस् भन्ने भावना उहाँले आफ्नो जीवनबाट सिकाउनुभयो । उहाँकै कारण आज धेरै नेपालीले ‘म नेपाली हुँ‘ भन्न गर्व गर्न सिकेका छन् ।
जहाँ एकले अर्काको घाँटीमा छुरा हान्ने समाज अझै पनि छ, चाहे त्यो व्यवहारले होस् वा शब्दले, त्यस्तो ठाउँमा जन्मिएको एउटा मानिसले पनि चाह्यो भने के गर्न सक्दैन र ? भन्ने अदम्य साहस उहाँले देखाइदिनुभयो । सामाजिक सञ्जालमा छरपस्ट गाली गरेर अरूको चरित्र हत्या गर्ने, अनि राज्य टुलुटुलु हेरेर बस्ने प्रवृत्ति बढिरहेको समाजमा पनि उहाँले कसैको नकारात्मक कुराको पर्वाह नगरी आफ्नो कर्मलाई निरन्तर अघि बढाइरहनुभयो ।
अरूलाई राम्रो गरिरहेको देख्न नसक्नेहरू धेरै हुन्छन् । तर त्यस्ता मानिसहरूको कुरा सुनेर आफ्नो लक्ष्य छोड्नु हुँदैन भन्ने प्रेरणा उहाँले दिनुभयो । एक पटक हार्दैमा अर्को पटक जित्न सकिँदैन भन्ने होइन, बरु हार नै सफलताको एउटा पाठ हो भन्ने आत्मविश्वास उहाँले लाखौँ युवामा जगाइदिनुभयो । निर्मल पुर्जा (निम्स दाइ) केवल एक साहसिक पर्वतारोही मात्र हुनुहुन्नथ्यो । उहाँ एक साहसी योद्धा, कर्मठ व्यक्तित्व र लाखौँ युवाका प्रेरणाका स्रोत हुनुहुन्थ्यो ।
अब उहाँ हाम्रो बीचमा नरहनुभएको भए पनि उहाँप्रति सच्चा सम्मान व्यक्त गर्ने हो भने उहाँले गर्न चाहेका योजना र सोचलाई राज्यले सम्बोधन गर्नुपर्छ । राम्रो खबर सुन्न नै मुस्किल पर्ने समाजमा नेपाल र नेपालीलाई विश्वसामु चिनाउने निम्स दाइलाई वास्तविक श्रद्धाञ्जली दिनु भनेको उहाँका सपनालाई निरन्तरता दिनु हो । यदि वास्तवमै उहाँलाई सम्मान गर्ने हो भने मुखले मात्र होइन, काम गरेर देखाउनुपर्छ । नेपाललाई विश्व पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन, साहसिक पर्यटनको विकास गर्न, हिमालसँग जोडिएका स्थानीय समुदायको जीवनस्तर उकास्न, भरियाहरूको हक–अधिकार सुनिश्चित गर्न र नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउने वातावरण बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्छ । यही नै निम्स दाइप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
उहाँबाट पाएको शिक्षा
१. हार नखाइ काम गर्नुपर्छ, सफलता अवश्य पाइन्छ ।
जीवनमा सफलता एकैपटक आउँदैन । धेरै पटक असफल भइन्छ, धेरै पटक लडिन्छ, तर हार मानेर बस्नु हुँदैन । निरन्तर मेहनत गर्दै जाने हो भने ढिलो–चाँडो सफलता अवश्य प्राप्त हुन्छ भन्ने पाठ मैले उहाँबाट सिकेको छु ।
२. अरूको नक्कल गर्नु हुँदैन, आफू जे छौँ त्यसैमा मेहनत गर्नुपर्छ ।
हरेक मानिसको आफ्नै क्षमता र पहिचान हुन्छ । अरूको बाटो पछ्याएर होइन, आफ्नो बाटो आफैँ बनाउने हो । आफूमा विश्वास राखेर निरन्तर मेहनत गर्ने हो भने एक दिन संसारले पनि चिन्ने रहेछ भन्ने शिक्षा उहाँबाट पाएको छु ।
३. देशप्रेम–’जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ ।
देश सानो होला, गरिब होला, विकास नभएको होला, तर आफ्नो जन्मभूमिभन्दा ठूलो केही हुँदैन । संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो देशलाई गर्वका साथ चिनाउनुपर्छ भन्ने भावना उहाँको जीवनबाट सिक्न पाइन्छ ।
होला, उहाँको पार्थिव शरीरलाई बेलायत लगेर अन्त्येष्टि गरिदिन्छ, त्यो उनको कर्मघरप्रतिको सम्मान र पारिवारिक कुरा होला । जसरी नि उनको रगतको थोपा–थोपामा नेपालीपन नै थियो ।
४. मानिस पैसाले होइन, मानले ठूलो हुनुपर्छ ।
धेरै धन कमाउनु मात्र ठूलो कुरा होइन । मानिसले आफ्नो व्यवहार, इमानदारी, कर्म र समाजमा कमाएको सम्मानले ठूलो बन्नुपर्छ । पैसा एक दिन सकिन सक्छ, तर राम्रो नाम र सम्मान कहिल्यै सकिँदैन ।
५. मेहनत गरेर खानुपर्छ, ठगेर, लुटेर र चोरेर होइन ।
इमानदार मेहनतबाट कमाएको एउटा रुपैयाँ पनि ठगी गरेर कमाएको लाखौँ रुपैयाँभन्दा ठूलो हुन्छ । जीवनमा जे प्राप्त गर्ने हो, आफ्नै पसिना र कर्मबाट प्राप्त गर्नुपर्छ भन्ने शिक्षा उहाँले दिनुभएको छ ।
६. मानिस भाग्यले होइन, कर्मले अगाडि बढ्छ । कर्म गरे भाग्य आफैँ पछ्याउँदै आउँछ ।
भाग्यको भरमा बस्ने हो भने जीवन अघि बढ्दैन । कर्म गर्ने मानिसलाई एक दिन भाग्यले पनि साथ दिन्छ । त्यसैले काम नगरी भाग्यलाई दोष दिनुभन्दा कर्ममा विश्वास गर्नुपर्छ भन्ने पाठ उहाँको जीवनले सिकाएको छ ।
७. सानो ठाउँमा जन्मिए पनि ठूलो सपना देख्न सकिन्छ ।
सफल हुन धनी परिवार वा ठूलो सहरमा जन्मिनु आवश्यक हुँदैन । एउटा सानो गाउँबाट उठेर संसारलाई जित्न सकिन्छ भन्ने जीवित उदाहरण उहाँ आफैँ हुनुहुन्थ्यो । सपना ठूलो हुनुपर्छ, मेहनत त्यसभन्दा पनि ठूलो हुनुपर्छ ।
८. शरीर, घर–परिवारभन्दा उद्देश्य ठूलो बनाएर हिँडियो भने सफलता अवश्य प्राप्त हुन्छ ।
घरपरिवार चाहिन्छ तर जीवनमा कहिलेकाहीँ आफ्नो घरपरिवार, आराम, सुख र व्यक्तिगत चाहनाभन्दा माथि उठेर लक्ष्यका लागि संघर्ष गर्नुपर्छ । त्याग विना ठूलो सफलता सम्भव हुँदैन भन्ने शिक्षा उहाँको जीवनले दिएको छ ।
९. माता–पितालाई उच्च स्थान दिनुपर्छ ।
जसले आफूलाई जन्म दिए, हुर्काए र संघर्ष गर्न सिकाए, उनीहरू नै जीवनका पहिलो गुरु हुन् । त्यसैले जीवनमा जति माथि पुगे पनि आफ्ना माता–पितालाई कहिल्यै बिर्सनु हुँदैन भन्ने भावना उहाँको जीवनबाट सिक्न सकिन्छ ।
१०. गरिब, दुःखी र निम्न वर्गका मानिसलाई माया गर्नुपर्छ ।
आफू सफल भएपछि समाजका कमजोर र दुःखी मानिसहरूलाई पनि साथ दिनुपर्छ । भरियाहरूको हक–अधिकारका लागि आवाज उठाउनु, मानव सेवामा लाग्नु र ’निम्सदाइ फाउन्डेसन’ स्थापना गर्नु उहाँको यही मानवीय सोचको उदाहरण हो ।
उहाँको जीवनबाट सिकेको अर्को ठूलो पाठ के हो भने कर्म र भाग्यले एकैपटक साथ दियो भने मानिस संसारकै सबैभन्दा माथि पुग्न सक्छ । तर कहिलेकाहीँ भाग्यले साथ नदिँदा दुःखद् दुर्घटना पनि हुन सक्छ । त्यसैले भाग्यको मात्र भरोसा गरेर बस्नु हुँदैन, कर्म गरिरहनुपर्छ । कर्म गर्ने मानिस कहिल्यै हार्दैन, चाहे शरीर नरहे पनि उसको नाम, योगदान र प्रेरणा सधैँ जीवित रहन्छ ।
उहाँकै भनाइ थियो— ९ल्य क्भिभउ, ल्य ीष्mष्तक त्जभ एबष्ल ध्बक तजभ एचष्शभ।० यो केवल एउटा वाक्य होइन, उहाँले बाँचेको जीवनको दर्शन थियो । न भोकको चिन्ता, न थकाइको डर, न असफलताको भय— उहाँका लागि लक्ष्यभन्दा ठूलो केही थिएन ।
उहाँले ’निम्सदाइ फाउन्डेसन’ स्थापना गरेर अरूको सेवामा आफूलाई समर्पित गर्नुभयो । उहाँ अरूको भरोसा बन्नुभयो, धेरैका लागि प्रेरणा बन्नुभयो । विश्वमा भइरहेको युद्धविरुद्ध आवाज उठाउनुभयो, हिमालको चुचुरोबाट शान्तिको कामना गर्नुभयो, भरियाहरूको हक–अधिकारका लागि बोल्नुभयो र आफूले सकेसम्म सहयोग गर्नुभयो । उहाँ साँच्चै एक च्भब िज्भचय, एक ीभनभलम हुनुहुन्थ्यो ।
आज धर्तीको एउटा चम्केको तारा अस्ताएको छ । तर ताराहरू कहिल्यै मर्दैनन्, उनीहरूको प्रकाश मात्र हाम्रो आँखाबाट टाढा हुन्छ ।
आशा छ, उहाँको सपना, उहाँको साहस र उहाँको देशप्रेमले अब हजारौँ नयाँ ’निम्स दाइ’ जन्माउनेछ । उनी यो संसारमा नरहे पनि उनले देखाएको त्यो पाठ अमर रहनेछ । देशमा साहसिक पर्यटकको विकास हुनेछ । उनको आत्माको चिरशान्तिको कामना गर्दछु ।
अदम्य साहस, उत्साह, जीवनमा सधैं ऊर्जावान्, न भोकको चिन्ता, न त डर, अनि अरूको सेवा— जसले निम्सदाई फाउन्डेसन बनायो, एउटा अटुट विश्वास भएको मानिस, अरूको पनि आँट, भरोसा भएर बाँचेका मानिस, एक वास्तविक हिरो, एक लिजेन्ड, जसले विश्वमा भइरहेको युद्धलाई रोक्न आवाज उठाएको मानिस, शान्तिको कामना हिमालको चुचुरोबाट गरेका मानिस, भरियाको हक र अधिकारको बारेमा आवाज उठाई आफूले सक्दो सहयोग गरेका मानिस— धर्तीको तारा आज अस्ताएको छ । आशा छ, फेरि उनी अर्को जन्म लिएर सगरमाथाको चुचुरोमा घामको ज्योति बनी आउनेछन् ।
यो दुर्घटनामा निम्स दाइ मात्र होइन, उहाँसँगै आरोहणमा रहेका अन्य नौ जना पर्वतारोहीले पनि ज्यान गुमाए । उनीहरू सबैले हिमालप्रतिको आफ्नो समर्पण र साहसका लागि अत्यन्तै संघर्ष गरे, तर विधिको विधान, सबैले जीवनको अन्तिम स्वास हिमालकै काखमा फेर्नुपर्यो । उनीहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली ।
हार्दिक श्रद्धाञ्जली !