काठमाडौं, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग गरेको छ । कम्पनीका अनुसार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उक्त संस्थालाई ५० लाख रुपैयाँ सहयोग गरिएको हो ।
कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष भगवान् कोइरालालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बालबालिकालाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ हाल नेपालमा आधुनिक बहु–विशेषज्ञ बाल अस्पताल निर्माणको प्रक्रियामा छ । संस्थाले बाल हृदय रोग, बाल क्यान्सर, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तारमा काम गरिरहेको छ ।
रिलायबल नेपाल लाइफले उक्त सहयोगले बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक स्वास्थ्य पूर्वाधार विकास तथा भविष्यमा हजारौं बालबालिका र उनीहरूका परिवारलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।