काठमाडौं, वार्षिक १२ अर्ब रुपैयाँभन्दा बढीको चाँदीको कारोबार गर्ने व्यवसायी राकेश अडुकीयाको कम्पनी हिमालयन बुलियनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ ।
कम्पनीले मंगलबार सूचना प्रकाशित गर्दै अनुभवी प्रमुख कार्यकारी अधिकृत वा मुख्य व्यावसायिक अधिकृतका लागि आवेदन माग गरेको हो । आवेदनमा सीईओका लागि एमबीए वा पीजीडीएम उत्तीर्ण गरेको र बहुमूल्य धातुको व्यापारमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुका साथै बजार विश्लेषणमा विज्ञता भएको विशेष गरी सरकारी मान्यता प्राप्त प्रमाणपत्र भएकालाई प्राथमिकता दिने सूचनामा उल्लेख छ ।
व्यवसायी राकेश अडुकियाको कम्पनी हिमालयन बुलियनलले मागेको सीईओको आवेदनमा व्यवसाय वृद्धि, रणनीतिक योजना, कार्यान्वयन, बिक्री, शाखा विस्तार, र ५० भन्दा बढी कर्मचारीहरूको टोली व्यवस्थापनमा पोख्त हुनुपर्ने, चाँदीको आयात–निर्यात सञ्चालनसम्बन्धी विशेष ज्ञान भएको हुनुका साथै वरिष्ठ व्यवस्थापन तहमा काम गरेको अनुभव अनिवार्य रहेको हुनुपर्ने उल्लेख छ ।
हिमालयन बुलियनले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ५० लाख रुपैयाँबराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।