काठमाडौं, वाणिज्य बैंकहरूको कुल निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म निक्षेप ७२ खर्ब ६१ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो । एक महिनाअघि अर्थात् अंग्रेजी महिनाको मध्य ‘मे’मा यस्तो निक्षेप ७१ खर्ब ९७ अर्ब ३४ करोड रुपैयाँ थियो । अर्थात् एक महिनामै निक्षेप ६४ अर्ब ४० करोड रुपैयाँले बढेको छ । गत वर्षको मध्य जुनमा वाणिज्य बैंकहरूको कुल निक्षेप ६२ खर्ब ६३ अर्ब ८३ करोड रुपैयाँ थियो ।
यस आधारमा एक वर्षमा वाणिज्य बैंकहरूको कुल निक्षेप करिब नौ खर्ब ९७ अर्ब ९१ करोड रुपैयाँ अर्थात् १५ दशमलव ९२ प्रतिशतले बढेको छ । दुई वर्षअघिको मध्य जुलाई २०२४ को तुलनामा भने निक्षेप करिब १५ खर्ब ३ अर्ब १५ करोड रुपैयाँले बढेको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप बढ्नुमा बचत तथा कल निक्षेपको योगदान उल्लेख्य रहेको छ । मध्य जुन २०२६ सम्म बचत निक्षेप ३३ खर्ब ३८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जुन एक महिनाअघि ३२ खर्ब ८१ अर्ब १८ करोड रुपैयाँ थियो । यसैगरी कल निक्षेप ५९ खर्ब १९ अर्ब ९२ करोडबाट बढेर ६२ खर्ब ५४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यसको विपरीत मुद्दती निक्षेप भने एक महिनामा २७ खर्ब ३५ अर्ब ६२ करोडबाट घटेर २६ खर्ब ९४ अर्ब ४७ करोड रुपैयाँमा झरेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा वाणिज्य बैंकहरूमा मुद्दती निक्षेप घटेपनि बैंकहरूको कुल पुँजी कोष भने बढेको छ । मध्य जुन २०२६ मा बैंकहरूको पुँजी कोष सात खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । मध्य मेमा यो सात खर्ब ५१ अर्ब रुपैयाँ थियो । एक महिनामा पुँजी कोष शून्य दशमलव २० प्रतिशतले बढेको हो ।
गत वर्षको मध्य जुनमा छ खर्ब ८७ अर्ब ७५ करोड रुपैयाँ रहेको पुँजी कोष एक वर्षमा करिब ६४ अर्ब ७३ करोड रुपैयाँले बढेको छ । तर पुँजी कोषभित्र सञ्चित आम्दानी भने अझै ऋणात्मक अवस्थामा छ । मध्य जुनमा ‘रेटेन्ड अर्निङ’ २५ अर्ब ५१ करोड रुपैयाँ ऋणात्मक रहेको तथ्यांकले देखाउँछ ।
वाणिज्य बैंकहरूको कुल दायित्व तथा सम्पत्तिको आकार मध्य जुन २०२६ मा ९० खर्ब ८२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । मध्य मेमा ८९ खर्ब ६९ अर्ब ७९ करोड रुपैयाँ रहेको कुल आकार एक महिनामा एक दशमलव २५ प्रतिशतले बढेको हो । गत वर्षको मध्य जुनको ८१ खर्ब ७० अर्ब ९३ करोड रुपैयाँको तुलनामा भने यो १२ दशमलव पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । यसबीच बैंकहरूको नाफा तथा नोक्सानी खातामा रहेको रकममा पनि सुधार आएको छ ।
मध्य मेमा ४७ अर्ब ९७ करोड रुपैयाँ रहेको यस्तो रकम मध्य जुनमा बढेर ५५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । एक महिनामा करिब १५ दशमलव १५ प्रतिशतको वृद्धि भए पनि गत वर्षको मध्य जुनको ५४ अर्ब आठ करोड रुपैयाँको तुलनामा वृद्धि भने करिब दुई दशमलव १४ प्रतिशत मात्र रहेको छ ।
राष्ट्र बैंकका अनुसार मध्य जुन २०२६ सम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप वार्षिक आधारमा १५ प्रतिशतले बढेको छ भने निजी
क्षेत्रतर्फको कर्जा वृद्धि छ दशमलव पाँच प्रतिशतमा सीमित छ । पछिल्लो समय वाणिज्य बैंकहरूको आधार दर र कर्जाको ब्याजदर
घटेको भए पनि लगानीको माग अपेक्षाअनुसार बढ्न सकेको छैन । मध्य जुन २०२६ मा वाणिज्य बैंकहरूको औसत आधार दर चार
दशमलव ८८ प्रतिशत र औसत कर्जाको ब्याजदर छ दशमलव ६४ प्रतिशतमा झरेको छ ।