काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र व्यापारको आवरणमा लुट मच्चाउँदै आएका सुवास श्रेष्ठले अदालतमा दायर गरेका सबै मुद्दा खारेज भएको छ । पर्यटन मन्त्रालयलाई मिलाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र विनाप्रतिस्पर्धा न्यून भाडामा व्यापार गर्दै आएका श्रेष्ठलाई नागरिक उड्डयन प्राधिकरणले हटाउन खोजेपछि उनी उच्च अदालत पुगेका थिए ।
विमानस्थलमा सञ्चालित श्रेष्ठका कम्पनीहरू यती मनी एक्सचेन्ज, हाइलाइट्स नेपाल, क्रियटिभ नेपाली प्रोडक्ट सप प्रालि, होटल स्वनीगलगायत कम्पनीले दायर गरेका रिटहरू उच्च अदालत पाटनका न्यायाधीशद्वय गीता तिमल्सिना र प्रकाश ढुंगानाको इजलासले यही साउन १३ गते खारेज गरेको हो ।
शक्तिकेन्द्रहरूसँगको साँठगाँठमा सिंगो प्राधिकरणलाई नै कब्जामा लिएर व्यापारको आवरणमा अवैध गतिविधि गरेको गोप्य सूचना प्रधानमन्त्री कार्यालय पुगेपछि उनलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै उनी भागेर थाइल्याण्ड पुगेको बताइएको छ । यससँगै उनका विमानस्थलका व्यापारहरू बन्द हुने भएका छन् । उनको कान्तिपुर क्याफे करिब तीन महिनाअघि नै बन्द भइसकेको छ भने स्टेरलाइज्ड क्षेत्रमा उनको मात्र पसल रहेको छ ।
श्रेष्ठमाथि डलरदेखि सुन तस्करी समेत गरेको आरोप लागेको छ भने उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिन रोकाउन उनी विदेशबाट चलखेल गरिरहेको बताइएको छ ।