काठमाडौं, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा बढेको छ । संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक करोड ७० लाख रुपैयाँ रहेको खुद नाफाको तुलनामा यो एक हजार ३६ दशमलव ४६ प्रतिशत अर्थात् १० गुणाले बढी हो ।
संस्थाको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३५ करोड ५९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा बढेर ४९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । निष्क्रिय कर्जाबापत गर्नुपर्ने प्रोभिजन घट्नुका साथै आम्दानीमा वृद्धि भएपछि सञ्चालन नाफा दुई करोड २३ लाख रुपैयाँबाट बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको हो । पछिल्लो समय संस्थाको वितरणयोग्य नाफामा समेत उल्लेख्य सुधार देखिएको छ । नियामकीय समायोजनपछि गत असार मसान्तसम्म वितरणयोग्य नाफा १६ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको चार करोड ७७ लाख रुपैयाँको तुलनामा निकै उच्च हो । चुक्ता पुँजीका आधारमा प्रतिसेयर वितरणयोग्य नाफा ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ, जसले चालू वर्षमा आकर्षक लाभांश वितरण गर्ने क्षमता रहेको संकेत गरेको छ ।
चुक्ता पुँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको संस्थाको सञ्चित नाफा र जगेडा कोषसहित कुल कोष ४९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । सदस्यहरूबाट संकलित निक्षेप तथा सापटी तीन अर्ब ७४ करोड रुपैयाँबाट बढेर पाँच अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा पाँच अर्ब ११ करोड रुपैयाँबाट बढेर छ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यसैगरी संस्थाको कुल सम्पत्ति एक वर्षमै पाँच अर्ब ६९ करोड रुपैयाँबाट बढेर छ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।