‘विशाल चीन र भारतको बीचमा रहेकोले मात्र नेपाल ज्यादै सानो देखिएको हो । अन्यथा अलवानिया, अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, श्रीलंका, कोस्टारिका, डेनमार्क, डोमिनिकन गणतन्त्र, ग्रीस, ग्वाटेमाला, हंगेरी, इजरायल, जोर्डन, पुर्तगाल, स्विटजरल्यान्ड, भुटान, जाम्बिया, मालदिभ्सजस्ता पचासौं मुलुकहरु भन्दा नेपाल क्षेत्रफलमा ठूलो छ । नेपालभन्दा कम जनसंख्या भएका मुलुकहरु पनि अनेकौं छन् । नेपालको ६८ प्रतिशत भूमि त्रिआयमिक उच्च पर्वतले युक्त भएको भौगोलिक विभिधता, सांस्कृतिक र सामाजिक धनाढ्यता, ऐतिहासिक गौरव आदिले गर्दा स्वाभिमानी राष्ट्रको रुपमा नेपालको विश्व मानचित्रमा आफ्नै प्रकारको स्थान रहेको छ ।’
माथिको अनुच्छेद हिरण्यलाल श्रेष्ठद्वारा लिखित नेपाल परिचय भन्ने पुस्तकबाट लिइएको हो । प्रायजसो द्वितीय श्रोतहरुबाट सुनेको र अध्ययन गरेको कारणले गर्दा हामीलाई नेपाल ज्यादै सानो छ भनि विश्वास गर्नु कुनै अनौठो कुरा होइन तर वास्तवमा आम साधारण नेपालीहरुले बुझे जस्तो नेपाल पटक्कै सानो छैन । यो लेखकलाई नेपालका ६१ जिल्लाहरुमा पुग्न ४५ वर्ष लाग्यो र बाँकी रहेका १६ जिल्लाहरुमा पुग्न अझै कति बर्ष लाग्ने हो? नेपाल सांस्कृतिक र सामाजिक दृष्टिकोणले ठूलो मात्र होइन तर विश्वका अति नै भीमकाय देशहरुभन्दा पनि विशाल छ भन्ने कुरा यो लेखमा उल्लेख गरिन्छ ।
वास्तवमा भन्ने हो भने नेपाल विविधताको देश हो । यहाँको जातीय विविधता, धार्मिक विविधता, सांस्कृतिक विविधता, सामाजिक विविधता र भौगोलिक विविधताले नेपाललाई दुनिया भरिमा अलौकिक र अद्भुत राष्ट्र बनाउँछ । त्यति मात्र होइन विश्वमा नै नेपाली जातिहरु पाहुनाको सत्कार गर्ने, सबैस“ग मिलेर बस्न सक्ने, मिलनसार, मेहनती र बीर योद्धाको रुपमा पनि चिनिन्छन् । छिमेकी एसियाली देशहरुमा भइरहेको जातीय र धार्मिक दंगाले नेपाललाई कहिल्यै पनि छोएन नत युरोपेलि र अमेरिकी व्यक्तिवादी संस्कृतिले नेपालीहरुलाई कहिल्यै छोयो । संसारभरि मानिसहरुका बीचमा पशुवत् व्यवहारहरु भइरहँदा नेपालीहरुमा भाइचाराको भावना थियो । साथै दुनियाभरि गृहयुद्ध चलिरहँदा यसको हावाले नेपाललाई कहिल्यै छोएन । निश्चय नै नेपालमा युद्ध र युद्ध अपराधहरु नभएका होइनन् ।
विगतमा नेपालका राजा, शासक र सामन्तहरुले आफ्नो स्वार्थको लागि लडाइ लडी नै रहे तर पनि नेपालीहरु युगौदेखि एक अर्कासंग मिलेरै बसेका थिए तर पनि शासकहरुले उनीहरुको स्वार्थको लागि नेपालीहरुलाई लडाएरै छोडे । किनकि शासकहरुको त स्वभाव नै लड्नु हुन्छ तर नेपालीहरुको स्वभाव चाहिँ सबैसंग मिलेर बस्नु हो । यसैकारण नै नेपालीहरुको सामाजिकीकरणलाई दुनियाभरिमा एउटा राम्रो उदाहरणको रुपमा लिइन्छ जो दुनियामा कहीं पनि पाइँदैन । नेपालीहरु विश्वको जहाँ जहाँ गए त्यहाँ दुनियालाई उनिहरुले सबैसंग मिलेर बस्नुपर्छ भन्ने पाठ पढाएरै छोडे । दाजिलिंग, सिक्किम, आसाम, भारत, बर्मा, भुटान यसका ज्वलन्त उदाहरणहरु हुन् ।
मकवानपुर जिल्लाको कैलाश गाउँपालिका, वडा नं २, डाँडाखर्कको तल्लो गाउँ छ्यांगदुङ्गमा बसोबास गर्ने लगभग एकसय घरधुरीमा गुरुङ, मगर, तामांङ्ग र चेपांङ्गहरुको मात्र बस्ति छ । तर अचम्मलाग्दो कुरा त्यत्रो सारा गाउँ नै मंगोलियनहरुले भरिए तापनि त्यो गाउँमा एकघर मात्र बाहुन परिवार बस्दछन् । ति बाहुन बुढाबुढीका एक छोरा र पाँच छोरीहरु काठमाडौँ र अन्यत्र घरजम गरी बस्दछन् । त्यसैले कहिलेकाहीं मात्र उनीहरु मकवानपुरको सो गाउँमा आउँदछन् ।
विगत केही वर्षदेखि छोरा र बुहारीले बुढा बा र आमालाई सो गाउँको घरजग्गा बिक्री गरी काठमाडौँमा नै बस्नको लागि धेरै नै कर गरे तर ति वृद्ध बा र आमाले छोरा बुहारीको कुरो सुनेपछि यसरी जवाफ दिए, ‘हामी यही गाउँमा जन्मियौँ, यही गाउँमा नै हुर्कियौँ र तिमीहरुलाई पनि हामीले यहीं जन्मायौँ, ठूला बनायौँ र तिमीहरु आज काठमाडौँमा बस्ने भयौ तर हामी बुढाबुढी चाहिँ यो गाउँ छोडेर कतै पनि जादैनौं । हामी यहीं जन्मियौ र यहीं गाउँमा मर्छौ ।’ यी को अन्तिम निर्णय सुनेपछि आजभोली उनीहरुका छोराबुहारीले बुझेका छन् कि अब उनीहरु यो गाउँ छोडेर अन्यत्र कहिँ पनि जाने छैनन् ।
छोरा बुहारीले त्यत्रो कर गर्दा र त्यत्रो प्रेम दर्शाउँदा पनि किन उनीहरु गाउँको घरजग्गा बेचेर काठमाडौँ जान राजी भएनन् त भनी प्रश्न गर्दा स्थानीयबासी प्रविण प्रजा र उहाँका ससुरा भिम बहादुर गुरुङले एकसाथ जवाफ दिनुभयो, ‘यो हाम्रो गाउँमा हामी गुरुङ र चेपांङ्गहरुको बाहुल्यता छ र यो पूरै गाउँमा त्यो एक घर मात्र बाहुनको छ । त्यो बाहुन परिवार हाम्रै काखमा हुर्कियो र हाम्रै छत्रछायाँ र हाम्रै ममतामा बढ्यो हामी गाउलेहरुमध्ये कसैले पनि उसको एक चिम्टी माटो मिच्दा पनि सारा गाउलेहरु उसको पक्षमा हुन्छन् र कसैले त्यो बाहुन परिवारको खेतबारीको एक डोको घास काट्यो भने पनि सारा गाउलेहरु उनीहरुको पक्षमा हुन्छन् ।’ भीम बहादुर गुरुङले अझै थपे, ‘गाउँलेहरु भन्छन् त्यो बाहुनको बिउ हाम्रो गाउँमा एउटा मात्र छ त्यसैले हामीले त्यसलाई चलाउनु र उसको थिचोमिचो गर्नु हुँदैन । बरु हामीले उसलाई सक्दो प्रेम र सहयोग गर्नुपर्छ । त्यही भएर नै ऊ र उसको परिवार यो गाउँ छोडेर कहीं पनि बसाइँ सर्न चाहँदैनन् ।’
यसरी सारा गाउलेहरुको मायाँ, ममता र दयाको कारण ती बाहुन वृद्धवृद्धाले आजसम्म यो मकवानपुरको डाँडाखर्क गाउँलाई छोड्न चाहेका छैनन् तर उनीहरु बाचुञ्जेल यहीं गाउँमा नै बस्न चाहन्छन् । किनकि उनीहरु जान्दछन् यो माटोमा उनीहरुको मायाँ छ र यहाँका प्रत्येक गाउलेहरुको हृदयमा उनीहरु बसेका छन् जसले उनीहरुलाई आफ्नो हृदयबाट निकाल्न सक्दैनन् । विश्वभरि नै अमेरिकी र युरोपेली व्यक्तिवादी सोचले प्रभाव पारिरहँदा आजसम्म नेपालका गाउँ र बस्तिहरुलाई सामाजिकीकरणले नै
प्रभाव पारिरहेको छ ।
आज पनि नेपालका महानगर र नगरहरू व्यक्तिवादी सोचाइ र जीवनशैलीलाई अंगाल्दै अमेरिकी र युरोपेली बन्ने प्रयास गरिरहदा नेपालका गाउँ, बस्ति, भिर र पखेराहरुमा अझै पनि नेपालीहरु सामाजिकीकरणलाई नै अंगालीरहेका छन् । पूर्वी नेपालको पांचथर जिल्लाको सदरमुकाम फिदिमबाट पाँचघण्टा जिपको यात्रापछि पुगिने याङ्गवरक गाउँपालिकाको वडा नं २ मा पर्ने बेतेनी, तिमतिम्बु, च्यांगथापु र फलैचा जस्ता गाउँहरुमा बसोबास गर्ने लिम्बु समुदायको बीचमा केही घर ब्राहृमण, क्षेत्री र अन्य केही दलित जातिहरु मिलेर बसेको देख्दा वास्तवमै त्यहाँ पुग्ने जो कोहीको पनि नेपाली हुनुको गर्वले छाती फुलेर आउँदछ । ती गाउँहरुमा फरक–फरक जातिका मानिसहरु बसोबास गरे तापनि र उनीहरुमा जातीय, धार्मिक र सांस्कृतिक विविधता भएता पनि उनीहरु एकतामा मिलेर बसेको देख्दा र उनीहरुले एक अर्काको सह अस्तित्वलाई स्वीकारेको देख्दा वास्तवमै यो लेखकको पनि उनीहरुप्रति ठूलो सम्मान जागेको थियो ।
सहर बजारिया जीवन व्यक्तिवादी सोचले प्रभावित हुन्छ जहाँ सामाजिकीकरण प्रायः न्यून हुन्छ । व्यक्तिवादी सोच भएको समुदायका मानिसहरु बैंकमा जान्छन् अनि एटीएम मेसिनबाट पैसा झिक्छन् र मासु पसलमा गएर सुइ हानेको ब्रोइलर कुखुराको मासु किनेर खान्छन् तर पांचथर जिल्लाको याङ्गवरक गाउँपालिकाको तिमतिम्बुमा ८० किलोको लोकल कालो सुँगुर काट्दा कम्तिमा पच्चीस घरका प्रतिनिधिहरु मासु किन्न आएका थिए । मासु कटिसकेपछि छुट्टाछुट्टै पच्चीस भाग लगाइयो जहाँ फल मासु मात्र जोखियो र उपस्थित भएका सबैलाई सुँगुर काटेको घरले तत्कालै मासु पकाएर सबैलाई एक–एक कचौरा (भुटेको) फ्राइ गरेको सेकुवा खुवाएर बिदा गरे ।
सुँगुरलाई भालाले रोपेर मार हान्ने स्थानीयबासी बीर बहादुर बेघाले भने, ‘यो हाम्रो गाउँको चलन हो कि जुन घरले सुँगुर काट्छ त्यो घरले उपस्थित सबैलाई एक–एक कचौरा (भुटेको) फ्राइ गरेको सेकुवा, चिया वा जाँड खुवाएर मात्र पठाउँछ । अनि हरेक उपस्थित हुनेले मासु आ–आफ्नो घरमा लगेर आफू र आफ्नो घर परिवारलाई खुवाउँछन् ।’ त्यहाँ चिया खानेहरुले मासु र चिया खाए र जाँड खानेहरुले मासु र जाँड खाए तर एकसाथ संगै बसेर कसैले कसैको विरोध गरेनन् र कसैले आफूलाई ठूलो र अर्कोलाई सानो ठानेनन् । त्यतिमात्र होइन त्यो गाउँमा स्थानीय चर्चका पादरी सनम बेघा चिया र सेकुवा खाँदै थिए भने उनको छिमेकी उनिसंगै बसेर जाँड र सेकुवा खाँदै गरेको दृश्य एकदमै रोमान्चकारी र मनमोहक देखिन्थ्यो । यस्तो देख्दा वास्तवमै नेपाल अद्धितीय र अद्भुत देवभूमि हो भन्ने कुरा थाहा हुन्छ । छिमेकी देश भारतमा कुनै समय नरभक्षी मानिसहरुको बसोबास थियो । तर त्यहीं नै बेला नेपालमा मानिसहरु धर्म र ईश्वरको खोजी गर्दथे । अमेरिका र युरोपका मानिसहरु जंगलमै बसिरहँदा नेपालीहरु सभ्य भइसकेका थिए । अफ्रिकी देशका मानिसहरु हिंस्रक हुँदै अर्कालाई भालाले रोपेर मारिरहँदा नेपालीहरुमा यस्तो पशुवत् र क्रुर विचार कहिल्यै आएन ।
बितेका दिनहरुमा नेपालमा पनि आन्दोलनहरु नभएका होइनन् तर यी सबै गृहयुद्ध थिएनन् । नेपालमा शासकहरुले नेपालीहरुलाई आफ्नो फाइदाको लागि लडाएका थिए र आज पनि लडाउने क्रम चाहिँ जारी नै छ, चाहे त्यो २०४६ साल होस् वा २०६२ र २०६३ नै किन नहोस् । किनकि कसैको स्वार्थको लागि नेपालीहरु लडेका थिए, रहरले होइन कसैको करले । किनकि नेपालीहरुको स्वभावमा कहिल्यै पनि लड्नु भन्ने हुँदैन । किनकि नेपालीहरु त जहिल्यै पनि मिलेर बस्न चाहन्छन् र उनीहरु एक अर्काको सह–अस्तित्वलाई स्वीकार गर्दछन् । तर दुर्भाग्य आज पनि स्वदेशी र विदेशी तत्वहरुले आफ्नो स्वार्थको लागि नेपालीहरुलाई लडाइरहेका छन् कहिले जातजातिको बीचमा युद्ध गराउन चाहन्छन् त कहिले धार्मिक समुदायहरुको बीचमा फुट ल्याउन चाहन्छन् । तर यो सत्य हो कि नेपालीहरुमा सांस्कृतिक र सामाजिक धनाढ्यता प्रसस्तसंग भएको कारणले अहिलेसम्म नेपाल गृहयुद्धको चपेटामा पर्नुपरेको छैन र यस्तो दुर्गती नेपालमा कहिल्यै पनि नआओस् । यो देवभूमि र तपोभूमि नेपालमा जन्मिएका नेपालीहरुको स्वभावमा नै देवदूतको गुण निहित छ । चाहे तिनीहरु नेपालको जुनसुकै भूगोलमा बसुन्, चाहे तिनीहरु नेपालका कुनै पनि जति र समुदायहरुका होऊन् ।
२०६४ सालतिर एकपटक यो लेखक भारतको हरियाणा राज्यको गुडगाउँ नजिकैको चन्दु गाउँमा कपाल काट्न जादा कपाल काट्ने भारतीय हजामले कपाल काटुन्जेल एकदमै आदरसाथ कपाल काटिदिएको थियो र पछि कपाल काटेको पैसा दिइसकेपछि उसले भन्यो, ‘तुम यहाँ से जल्दी जाओ यहाँ तुमको बैठनेका जगा नही है ।’ पछि पो बुझियो कि नेपालीहरुको मन र हृदय यस्तो हुँदैन । नेपालमा चिया पसल र होटलमा एककप चिया खाएर दुई घण्टा कुर्सि वा बेञ्चमा बसेर आराम गर्न हामीलाई कसैले पनि रोक्दैनन् । किनकि नेपाली मनले र नेपाली पनले जहिल्यै पनि अरुको बारेमा सोच्दछ ।
एकपटक २०५९ सालतिर यो लेखक केही नेपालीहरु र साथमा २ र ४ जना भारतको नागाल्यान्डका मानिसहरुको साथमा उत्तरी तनहुँको स्याम्घा गाउँमा जाँदा सारा बगैचा सुन्तला पाकेर गाउँ नै पहेलपुर भएको थियो र केही व्यक्तिहरुले सुन्तला किनेर खाने इच्छा गरे । तर स्याम्घा गाउका स्थानीय सुन्तला धनीले यस्तो जवाफ दिए, ‘तपाइँहरु सुन्तलाको रुखमा चढेर जति खान सक्नुहुन्छ खानुहोस् तर झोलामा चाहिँ हालेर नलैजानुहोला ।’ कम्तिमा पनि ५ र ७ जनाको हाम्रो टोलीले बिहान आठ बजेदेखि दश बजेसम्म सुन्तलाको बोटमा चढेर सुन्तला खादा हामीले भातको साटो सुन्तला खाएका थियौँ ।
नेपालमा अझै पनि सामाजिक जीवन कति प्रगाढ छ भन्ने कुरा यस्तै अनुभवहरुबाट बुझ्न सकिन्छ । सित्तैमा सुन्तला टन्न खाइसकेपछि एकजना नागाल्यान्डबाट आएका भारतीय नागरिकले भने, ‘नेपाल चाँडै नै दक्षिण कोरिया जस्तो हुनेछ भन्दै आशिष् दिए ।’ शायद नेपालीहरुको पाहुनाहरुलाई गर्ने आदर र सत्कारलाई देखेर उनले यसो भनेको हुनुपर्छ । भारतीय कपाल काट्ने हजामको व्यवहार र नेपालको तनहुँ जिल्लामा बस्ने एक स्थानीय नेपाली नागरिकको व्यवहारले बताउँदछ कि वास्तवमै नेपाली हुनुभनेको के हो? आर्थिक र भौतिक रुपले नेपालीहरु सम्पन्न नहोलान् तर सामाजिक रुपले नेपालीहरु दुनियाभरिमा सबैभन्दा धनी छन् । कारण यस्ता कथाहरु र अनुभवहरु त विदेशीहरुले नेपालीहरुको बारेमा कति हो कति बताएका छन् र लेखेका पनि छन् । जसले गर्दा आज पनि विश्वभरिबाट मानिसहरु नेपाल, नेपाली समाज र समुदायको अध्ययन गर्न नेपाल आउँदछन् । एउटा भनाइ छ, ‘फूलको वास्ना वरिपरि र मान्छेको वास्ना डाँडापरि ।’ निश्चय नै नेपालीहरुको वास्ना सारा दुनियाभरी मगमगाएको छ र नेपालीहरुको सामाजिकीकरणको उदाहरण एकदिन संसारभरिका विद्यालय र विश्वविद्यालयहरुमा पढाइने छ अनि सारा दुनियालाई साँचो ज्ञान सिकाउनेहरु पनि नेपालीहरु नै रहेछन् भन्ने कुरा सारा दुनियालाई थाहा हुनेछ ।
लमजुङको ताराचोकमा खिर र घिउ खाँदा होस् या त मकवानपुरको लाइसीराङ्ग गाउँमा आर्यन प्रजाको घरमा भातको साटो मौरीको मह र चाका खाँदा होस् वा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका, वडा नं २, सादेवामा याम कुमार राई र समुएल राईको घरमा अति नै लोकप्रिय फल किबी खादा होस् वा रुकुमको सैपातुंग गाउँमाथिको वृद्ध मगर बुबाआमाले अँगेनोमाथि भारमा सुकाइ राखेकोे मासु आगोमा पोलेर खान दिँदा होस् । नेपाल सानो भए तापनि नेपाली मन, नेपाली पन र नेपालीहरुको विशाल सामाजिक जीवन र भाइचाराले ओतपोत भएको हृदय देख्दा वास्तवमै जो सुकैलाई पनि नेपाली हुनुको आनन्दले भावविभोर र सम्हाली नसक्नुको खुशीले पक्कै पनि आनन्दित तुल्याउने छ ।
रोल्पा जिल्लाको गंगादेव गाउँपालिका, वडा नं २ को पूर्णगाउँ, डाँडा गाउँ र सुक्कौरा जाँदा ओइति भन्ने जंगलमा रात परेपछि मंसिरको ठिहीमा त्यहीका एक मगर व्यक्तिले आफ्नो घरमा लगेर रातमा बास दिएको र नचिनेका पाहुनाहरुलाई मकैको ढिडो, कुखुराको मासु र सुप खान दिई न्यानो ओछ्यानमा सुत्न दिँदा होस् वा लमजुङको ठूलीबेसी गाउँमा चिसोले झाडापखाला र उल्टी हुँदा सोही गाउँकी एक अधबैँसे महिलाले यो लेखकलाई हेरचाह गरी न्यानो ओछ्यानमा सुत्न दिँदा होस् । हरेक पटक नेपालीहरुको विशाल मन स्पस्टसंग देख्न पाउँदा साँच्चै नै सानो देश नेपालमा विशाल मन भएका नेपालीहरुको बसोबास रहेको छ भन्ने कुरा प्रष्ट हुन्छ । मेचीदेखि महाकालीसम्म जहाँ गए तापनि नेपालीहरु सबै जातजाति, भाषा, भाषी, धर्म, संस्कृति र सम्प्रदायहरुका मानिसहरु मिलेर बसेको देख्न सकिन्छ । जहाँ भाईचारा र एक अर्काको सहअस्तित्वलाई स्वीकार गर्ने अनि समुदायमा सबैसंग मिलेर बस्ने नेपालीहरुको स्वभावले साच्चै नै नेपाललाई विश्वमा एक नमुना मुलुक बनाउँदछ । त्यसैले त नेपाललाई ‘सुन्दर, शान्त, विशाल’ को उपमाले पनि चित्रित गरिएको छ ।
यसरी नै नेपाल राज्य सानो भए तापनि वास्तवमै नेपालमा बसोबास गर्ने प्रत्येक नेपालीहरुको मन र हृदय विशाल भएको कुरा प्रष्ट हुन्छ । नेपालीहरु गरिबी र दुःखदायी पीडामा भए तापनि आफूसंग भएका कुरा अरुसंग बाडचुड गरी जिउन नै खुशी हुन्छन् । आजभन्दा पच्चीस वर्ष अघिसम्म मागेर हिड्ने नेपालीहरु भेट्न गार्हो हुन्थ्यो । पचास वर्ष पहिलेसम्म नेपालमा पेशेवररुपले चोरी र डकैति गर्ने नेपालीहरु थिएनन् । किनकि नेपाली मन भनेको समूहिक रुपले एक अर्कोको सहअस्तित्वलाई स्वीकार गर्ने हुन्छ । तर दुःखलाग्दो कुरा वैदेशिक प्रभावले हिजोआज नेपाली मन र नेपाली हृदय दुषित हुँदै गएको छ । तर आशा गरौँ, नेपाल सानो भए तापनि सधैँभरि नेपालीहरुको विशाल मन र हृदयलाई पुस्तौँ पुस्ताहरुले देख्न, भोग्न र अनुभव गर्न पाउँनेछन् ।(लेखक अधिवक्ता हुन् ।)