काठमाडौं, नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्ने भएको छ । कम्पनीले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गर्न लागेको हो ।
यस अभियानमा निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होन्डा कारका विभिन्न मोडेलहरू पर्नेछन्, जसमा सीटी, सीभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड कारहरू पर्ने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्नेछन् ।
यस अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ । यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्ने छैन । सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ग्राहकहरूलाई आफ्नो नजिकको होन्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ ।