नेपालको संघीय राजधानीको रुपमा स्थापित काठमाडौँ सहर बखत–बखतमा विश्वको पहिलो प्रदूषित सहरमा पर्ने गरेको विगतका आँकडाहरूबाट प्रष्ट हुन्छ । यस सन्दर्भमा काठमाडौँले विश्वका सबै सहरहरूलाई उछिन्नु मानवीय कमजोरी एवं दुःखद् कुरा हो भन्नुमा फरक पर्दैन । यसका कारणहरूमध्ये सवारी साधनको अधिक संख्या त्यसमा पनि सही हालतमा नरहेका सवारी साधन पनि हुन् जसबाट उत्सर्जन हुने कार्बन वायुमा मिसिन्छ । भौतिक पूर्वाधार निर्माण र वनमा लाग्ने डढेलो पनि वायुप्रदूषणाको अरु कारण हुन् । वायुप्रदूषणका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या देखा पर्ने र एलर्जी लगायतका स्वास्थ्य समस्याहरू देखा पर्छन् । यस्तो अवस्थामा विज्ञहरूले बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र या त घरभित्र रहन सुझाव दिनेगरेका छन् । अत्यावश्यक काम नपरी सर्वसाधारणलाई निबास बाहिर ननिस्कन सरकारी निकायले पनि सूचना गरेको हुन्छ । यस समस्यामा विगतका सरकारहरूको कमजोरी हो भनेर ठोकुवा गर्न सकिन्छ । २०८१ माघको अन्तिममा काठमाडौँ विश्वको दोस्रो सहरमा परेको थियो । वायु स्वच्छता मापन गर्दैआएको आईक्यू एअरका अनुसार त्यतिबेला काठमाडौँको वायुप्रदूषण १९६ एक्यूआई थियो भने पाकिस्तानको कराची सहर २१५ एक्यूआईसहित विश्वको पहिलो सहर बनेको थियो । २०८० वैशाख लाग्दै गर्दा काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरमा उभिएको थियो, त्यतिबेला काठमाडौँको एअर क्वालिटी इन्डेक्स २०८ थियो । त्यतिबेला थाइल्यान्डको चियाङ माइ सहर विश्वको दोस्रो प्रदूषित सहरमा गनिएको थियो । यो लेख तयार पार्दासम्म काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहर बनेको छ । अहिले यहाँको वायुप्रदूषणको स्तर २०६ पुगेको छ, जुन अस्वस्थको तहभन्दा धेरै हो । जबकि, क्यूआई १५० पार गरेपछिको अवस्थालाई खतरा अर्थात् अस्वस्थ मानिन्छ । गत मंगलबार काठमाडौँको वायुप्रदूषणले उक्त सीमा अंक पार गरेको थियो । यसैका कारण अहिले अस्पतालहरूमा विरामीहरूको चाप बढेको छ । सहरबासीहरूमा आँखा पोल्ने, स्वासप्रस्वासमा समस्या आउने र घाँटी खसखस हुने जस्ता समस्या देखिएका छन् ।
देशमा सहरीकरण र बजारीकरणले तीब्रता लिएसँगै विभिन्न व्यवसायिक गतिविधिहरू चलिरहनु स्वभाविकै हो । ती धेरै व्यवसायहरूमध्येमा पर्छन्– खाजापसल, भोजनालय वा रेस्टुरेन्ट, क्याफे, फास्टफुड, बेकरी, कफी–चिया पसल, मिठाइपसल, चटपटे–पानीपुरी पसल र लस्सीपसल । बजारका सडकहरूमा गुड्ने गाडीहरूले फ्याँक्ने कार्बनका साथसाथै गाडीले उडाउने गरेको धुलो मिश्रित वायु हामीहरूले नजानिदो किसिमबाट फोक्सोमा पुर्याइरहेका हुन्छौँ । त्यस्तो प्रदूषित वायुमा रहेका अस्वस्थकर तत्वहरू सडकछेउँमा रहेका माथि उल्लेखित खाद्यवस्तु पसलहरूमा नदेखिने गरी मडारिइरहन्छ र विस्तारै ती खानेकुराहरूमा बस्ने गर्दछ । यस्ता खाद्यवस्तुहरू मीठा वा स्वादिला त होलान्, तर स्वास्थ्यका लागि भने जोखिम ठानिन्छन् । हामी कुनै बेकरी पसलमा आकर्षक ढंगले सजाइराखेको पेस्ट्री देख्दा वित्तिकै आकर्षित हुन्छौँ र खाउँखाउँ झैँ लाग्छ, तर सडकमा गाडीले पैदा गरेको धुलो र धुवाँका अंशहरू ती पेस्ट्रीमा परेको छ र यो खानलायक छैन भनेर विचार गर्दैनौँ । एक किसिमले भन्नुपर्दा हामी त्यतातिर पटक्कै ध्यान दिँदैनौँ । विकसित मुलुकहरूको तुलनामा हाम्रो मुलुकमा धेरै लापरबाही भएको पाइन्छ । निरीक्षण वा अनुगमन गर्ने सरकारी निकाय वा संयन्त्रले मात्र होइन संघ–संस्थाहरूलगायत कसैले पनि मतलब गरेको देखिदैन । जसरी हुन्छ जीवन बिताउन पाए हुन्छ भन्ने आभास पाइन्छ नगरबासीहरूमा । गम्भिरतापूर्वक दूरदृष्टि राख्ने चलन हाम्रो मुलुकमा देखिदैन । यहाँ धेरै कुराहरूमा गुञ्जागोल देखिन्छ, शिक्षित वा सचेतहरूले समेत ‘जसले जे गरे पनि हुन्छ’ भन्ने मान्यता राख्छन् । त्यसै यो देश पछाडि धकेलिएको होइन ।
हामी स्वयं सजग नहुँदा स्वास्थ्यमा समस्या आएपछि अस्पताल जान्छौँ र खर्च गर्छौँ दुःख गरेर कमाएको धन । त्यस्तो धनले नपुगेमा साहुमहाजनबाट मीटरब्याजमा पनि सापटी माग्छौँ । बग्रेल्ती खुलेका राम्रा–नराम्रा अस्पताल, क्लिनिक, हेल्थसेन्टर, औषधि पसलको शरणमा परेर हजारौँ–लाखौँ खर्चन्छौँ । आफ्नो स्वास्थ्यप्रति सचेत र गम्भीर हुने मनस्थिति हामीहरूमा खासै भएको पाइँदैन । सहर बजारमा मात्र नभएर राजमार्गमा गुड्ने सवारी साधनहरूले पैदा गर्ने कार्बन र धुलो पसलमा खुला रुपमा राखिने खाद्यवस्तुमा बस्दछ । माटोको धुलोले खासै असर नगरे पनि कार्बनले पेटमा अवश्य पनि असर गर्दछ । पोलेको मकै, पोलेको मासु नखान विज्ञहरूले सुझाव दिँदै पनि आएका छन् । कार्बन पेटमा पुग्दा पेट र आन्द्राको क्यान्सर हुने सम्भावना ज्यादै हुने विज्ञहरूको भनाइ छ । बाटो हिँड्ने बटुवाले र्याल, सिगान, खकार, पान–सूर्ति खाएर थुकिने थुक जथाभावी फ्याँक्ने हुँदा त्यस्ता फोहर सुकेर धुलोमा मिसिने र सो धुलो वायुको मद्दले पसलहरूमा सहजै प्रवेश गरी खाद्यवस्तुहरूमा पर्ने गर्छ ।
नगर प्रमुखहरूलाई सुझाव :
सहर तथा बजारीय बस्ती व्यवस्थित तथा पद्धतियुक्त गराउने जिम्मा सम्बन्धित नगर÷गाउँपालिकाको हुन्छ । त्यसका लागि मेयर÷अध्यक्षले मातहतका पदाधिकारी तथा अधिकृतलाई अख्तियारी सुम्पिएका पनि हुन्छन् । सहर बजारका बाटो छेउँमा सञ्चालनमा आइरहेका माथि उल्लिखित पसलहरू सडकभन्दा २५।३० मीटरभित्र सञ्चालन गर्ने नीति अवलम्बन गरेमा उपभोक्ताहरूको स्वास्थ्यमा कम असर पर्नेमा दुईमत छैन । जब सवारी साधन स्टार्ट गरिन्छ तब सुरु हुन्छ धुवाँ फ्याँक्ने काम अर्थात् वायुमण्डल नै प्रदूषित हुने गतिविधि । सही हालतमा रहेकाभन्दा सही हालमा नरहेका सवारी साधनहरूबाट फ्याँकिने धुवाँबाट कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड, नबलेको हाइड्रोकार्बन, सिसा, विषाक्त पदार्थ निस्कन्छ । जसबाट मानिसमात्र होइन कुनै पनि प्राणी त्यस धुवाँबाट प्रभावित हुन्छन् । सहर बजारमा रहेका परेवा, काग, कुकुर, विरालोलगायतका प्राणीहरूमा पनि ती विषाक्त पदार्थले खराबी गर्दछ । साथै हाम्रो स्वासप्रस्वासमा समस्या, एलर्जी, दम, क्यान्सर, मृगौलामा खराबी, रगतमा कमी, ब्रेन ह्यामरेज लगायतका समस्या आउन सक्ने स्वास्थ्यविद्हरू बताउँछन् । चिकित्सकहरूले डिजेलबाट चल्ने पूराना गाडीहरू सञ्चालन गर्न दिन नहुने तर्क दिन्छन् । डिजेलबाट चल्ने थोत्रा सवारी साधनबाट निस्कने धुवाँमा कार्बनमोनोअक्साइड अत्यधिक हुने र त्यसले मानिसको रगत, मुटु र फोक्सोमा असर गर्ने भएकोले त्यस्ता थोत्रा सवारी साधनहरूलाई बन्द नै गर्नुपर्ने बताउँछन् । चिकित्सकहरूका अनुसार कार्बनमोनोअक्साइड त विष नै हो । पूराना, थोत्रा सवारीसाधनहरूले धेरै मात्रामा प्रदूषण गरिरहेका छन् । हाम्रो देशमा वातावरण मन्त्रालय पनि छ । तर त्यसले वातावरण सम्बन्धमा अध्ययन गर्ने, उपाय निकाल्ने र अबलम्बन गर्नेतर्फ खासै ध्यान दिएको देखिँदैन ।
काठमाडौं उपत्यकाका सडकहरूमा लाखौँको संख्यामा चारपांग्रे र दुईपांग्रे सवारी साधनहरू गुड्छन् । सबैभन्दा बढी मोटरसाइकल र स्कुटरको संख्या छ । विद्युतबाट चल्ने सवारी साधनहरूको संख्या ज्यादै न्यून छ । कताकतै विद्युतीय सवारी साधनहरू गुड्ने गरेका देखिन्छन् । यस्ता वातावरणमैत्री सवारी साधनहरू सञ्चालनका लागि प्रोत्साहन गर्नेतर्फ विगतका सरकारहरू खासै गम्भीर भएको पनि पाइएन । सडकको छेउँमा बसेर मोबाइल चलाउँदा हामीले एकैछिनमा मोबाइलको स्क्रिनमा धुलोले ढाकेको पाउँछौँ । यसबाट थाहा हुन्छ कि, वायुमण्डलमा कति धुलो र धुवाँ मिसिएको छ भनेर । काठमाडौँमा पहिलेदेखि नै स्ट्रिट फुडको चलन चलिआएकोमा हाल आएर महानगरले त्यस्ता व्यवसायीहरूलाई हटाएपछि सहरको मुहार नफेरिएको भने होइन । सडकछेउँ र गल्लीगल्लीमा बनाइने पिज्जा, बर्गर, पकौडा, पानीपुरी, चटपटेलगायतका कैयन खाद्यवस्तुहरू सेवन गर्नाले स्वास्थ्यमा नकारात्मक असर परिरहे पनि ग्राहकहरूले सस्तो खोज्ने हुँदा त्यतातिर आकर्षित हुनेगरेको पाइन्छ । गल्लीगल्लीमा माछा तार्ने र सेकुवा बनाउने प्रचलन पनि बढ्दैआएको छ । उपभोक्ताहरूमा चेतनास्तर अझै पनि बढ्न सकेको छैन । स्ट्रिट फुडमा प्रयोग हुने तेलमा एकदमै शंका गर्नुपर्ने अवस्था पनि छ । धेरैपटक अर्थात् दोहो¥याइ–दोहो¥याइ प्रयोग गरिएका त्यस्ता तेलमा ट्रान्सफ्याटको मात्रा ज्यादै हुने र त्यसले जनस्वास्थ्यमा नराम्रो प्रभाव पर्ने हुन्छ भन्ने विज्ञहरूको भनाइ छ । नाम कहलिएका पसलहरूमा पनि त्यस्ता गुणस्तरहीन तेल प्रयोग हुनेगरेको छ । यस्ता विषयमा अनुगमन गर्ने संयन्त्र सक्रिय हुनु अति नै आवश्यक छ ।
सहर बजारमा रहेका खाद्यवस्तुका पसलहरू सडकभन्दा २५÷३० मिटरभित्र सञ्चालन गर्नुपर्ने आवश्यक छ । त्यसका लागि नगरपालिकाका पदाधिकारीहरूको ध्यानाकर्षण हुनु अत्यन्त जरुरी भइसकेको छ । जनस्वास्थ्यलाई विचार गरेर सहर–बजारमा बसोबास गर्नेहरूको स्वास्थ्यप्रति जवाफदेही हुनु नितान्त आवश्यक छ । सडक नियमित रुपमा सरसफाइ गर्ने, पानी छर्कने, ब्रुमरको प्रयोग गर्ने, खाल्डाखुल्डी पुर्ने, बिग्रिएको बाटो मर्मत गर्ने काम तदारुकताका साथ गर्नुपर्दछ । यस विषयमा बेवास्ता गरिनु जनघाती काम हो ।
अन्त्यमा, यव लेखक चौध वर्षअघि भारतको पश्चिम बंगालको राजधानी कोलकाताको भ्रमणको शिलशिलामा त्यहाँको पद्धति देख्दा काठमाडौले कोलकाताबाट थोरैमात्र भए पनि केही सिकेमा काठमाडौँ धेरै नै सभ्य हुने ठानेको थियो । कोलकातामा डिजेलबाट सवारी साधनहरू चले पनि प्रदूषण खासै देखिँदैन । तर काठमाडौँमा डिजेल र पेट्रोल दुवै प्रकारका इन्धनबाट सवारी साधन चलेको भए पनि कोलकाताभन्दा निकै बढी वायुप्रदूषण भएको पाइन्छ । कारण एउटै यो हो कि सवारीधनी र सवारीचालकहरूले सरकारी मापदण्ड पालना नगर्नु । हाम्रो मुलुकमा धेरै कुराहरूमा मापदण्ड त छन् तर तीनको पालना गर्ने कमैमात्र होलान् । कोलकातामा तोकिएको स्थानमा मात्र थुक्ने व्यवस्था गरिएको छ । जहाँतहीँ थुक्दा कारबाहीको भागिदार भइने हुँदा त्यहाँका नगरवासीहरू सचेत छन् र सभ्य पनि छन् । फराकिला सडक छन्, तरकारी बजार अलगै स्थानमा, कपडा पसल अलगै स्थानमा छन् । काठमाडौँमा जस्तो छ्यासमिस बजार छैन कोलकातामा । सडकका दायाँबायाँ रहेका वृक्षहरूले गर्मीयाममा सितलता प्रदान गरेका हुन्छन् र सहरको शोभा बढाएको पनि पाइन्छ । नेपालमा भने नगरपालिकाले आज रोपेको बोट आवाराहरूले भोलि उखेलेर फालेर असभ्यता प्रदर्शन गरेको पाइन्छ । साथै छाडा चौपायाले पनि खाइदिन्छन् रोपिएका ती बोट बिरुवाहरू ।