दलाल अर्थात् मध्यस्थकर्ता, यी दुई शब्दको अंग्रेजी अर्थ मिडलम्यान वा ब्रोकर हुन्छ। मध्यस्थकर्ताको काम गरेबापत पाउने कमिसनलाई नेपालीमा दलाली भनिन्छ। यद्यपि त्यस्तो कामलाई पनि दलाली भन्ने चलन छ। बिचौलिया शब्दपछि प्रचलनमा आएको शब्द हो। सेयर बजारमा मध्यस्थता गर्ने व्यक्ति वा कम्पनीलाई पनि दलाल भन्ने चलन छ। दलाल शब्द आफैँमा खराब शब्द होइन, बुझ्ने मान्छेहरूमा भर पर्ने कुरा हो । सेयर बजारको मध्यस्थता गर्ने कम्पनीहरूको साइनबोर्डमा कम्पनीको नामको मुनितिर सानो अक्षरमा स्पष्टसँग लेखिएको हुन्छ दलाल नं ....। मध्यस्थकर्ताको तुलनामा विचौलिया शब्द अलिक अप्रिय ठानिन्छ। अनैतिक रूपमा स्त्री र पुरुषको मिलन गराइदिनेवालालाई पनि दलाल नै भनिन्छ। यो मामलामा चाहिँ नकारात्मक किसिमले प्रयोग हुन्छ दलाल वा दलाली शब्द। सहजकर्तालाई अंग्रेजीमा फेसिलिटेटर भनिन्छ । काममा सघाइदिने, सहजपूर्ण वातावरण मिलाइदिने काम नै सहजिकरण हो। कसैकसैले कुनै काम मिलाइदिने भन्नुको सट्टा सहजिकरण गरिदिपर्यो भन्ने चलन छ, जुन सहजिकरण शब्दको सरासर गलत प्रयोग हो । सेवाग्राहीहरूको भीडभाड हुने सरकारी निकाय वा सार्वजनिक संस्थाहरूमा कुनै पनि मध्यस्थकर्ता वा विचौलियाले काम गराउन सघाएबापतको पारिश्रमिक सुहाउँदो किसिमले लिनु उचित हुन्छ र त्यो एक प्रकारले धर्म पनि हुन्छ। गत बिहीबारमात्रै सरकारी कार्यालयहरूबाट बिचौलिया खाली गराउने अभियानमा प्रहरी जुटेको समाचार छ । यातायात कार्यालयबाट बिचौलियाहरू समातिएका समाचार त्यसअघि नै दिनहुँ प्रकाशन हुँदैआएको पाइएको छ। यातायात कार्यालय, वैदेशिक रोजगार विभाग राहदानी विभाग जस्ता निकायहरूमा बिचौलियाहरूको बिगबिगी भइरहेको गुनासो आएपछि त्यतातिर सरकारको ध्यान गएको देखिन्छ ।
करोडपति–अर्बपति दलाल :
नेपालमा विभिन्न कामहरूका लागि विचौलियाको भर पर्ने अवस्था छ। सामान्य कामका लागि पनि सेवाग्राहीहरूले सरकारी निकाय वा सार्वजनिक संस्थाहरूबाट सेवा लिँदा मध्यस्थकर्ताको सहारा लिने गर्दछन्। समयको अभाव भएका बेला वा आफूले नभ्याउने भएपछि मस्यथताकर्ताको खोजी गर्नु स्वाभाविकै पनि हो । मध्यस्थकर्ता वा विचौलियाले सेवाग्राहीको कामलाई सहज बनाइदिनका लागि उचित शुल्क लिनु उपयुक्छ हुन्छ। काम गर्न यो यो अप्ठेरो छ भनेर सेवाग्राहीलाई प्रष्ट पारिदिनुपर्छ। सेवाग्राहीबाट अनावश्यक रूपमा रकम असुली गर्नु एक प्रकारको आर्थिक अपराध हो। कोही मान्छेको एउटा कम्पनी छ र उसको कम्पनी घाटामा गहिरहेको र लगानी डुबेका कारण उसलाई रातको निद्रा र दिनको भोक खोसिएको हुन्छ भने उसको कम्पनीलाई खारेजीमा लैजानका लागि मध्यस्थकर्ताले न्युनतम शुल्कमा रकम लिनुपर्दछ ताकि ऊ थप चिन्तामा नपरोस्। सेगाग्राहीसँग चर्को रकम लिएर कुनै पनि मध्यस्तकर्ताले आफू ऐयासी जीवन बिताउनु राम्रो होइन । कमिसनबापत प्राप्त रकमले महलमा बस्ने र करोडको सुविधायुक्त गाडी प्रयोग गर्ने अनि सुविधाभोगी हुने करोडपति–अर्बपति दलाल हुनु राम्रो होइन ।
क्षणिक लाभ लिने मध्यस्थकर्ता :
सामान्य किराना पसल, मासु पसल, कपडा पसललाई पनि प्रालिमा दर्ता गराएर पारिश्रमिक खाने मध्यस्थकर्ताहरू पनि नभएका होइनन् यहाँ। यस्तो आकारको व्यवसाय घरेलुमा र यस्तो खालको व्यवसाय कम्पनीमा दर्ता गर्ने सल्लाह धेरैले दिदैनन् र क्षणिक लाभका लागि सानो आकारको व्यवसाय पनि कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता गरिदिनाले सेवाग्राही मर्कामा पर्दैआएका छन् ।
सरकारको परीक्षणकालसम्म पर्ख र हेरः
गठन भएको नयाँ सरकारको अहिल्यै विरोध र आलोचना गरिनु नितान्त मुर्खता हो र जनमतको खिल्ली उडाउनु हो। आफूले गरेको ठीक र अरुले गरेको बेठीक ठान्ने अबुझहरूका कारण मुलुक सधैँ अलमलमा पर्दैआएको छ। कमीकमजोरी त सबैका हुन्छन्, झिनामसिना कमजोरीहरू कोट्याउने र उल्लेखनीय कामहरू नदेख्नेहरूका कारणले नै समाज खराब हुन्छ र त्यसैको परिणाम स्वरूप समग्र रूपमा मुलुक नै खराब भइदिन्छ। त्यसकारण नयाँ सरकारको कार्यकुशलतालाई पर्खेर हेरौँ र जनमतको कदर गरौँ। यदि सरकार असफल भइहाल्यो भने त्यसपछि मात्र औँला ठड्याउनु उचित ठहरिन्छ ।
लेखापढी व्यवसाय मर्यादित हुनुपर्छः
सेवाग्राहीहरूका लागि कुनै पनि लेखापढी व्यवसायीले आफ्नो व्यवसायलाई मर्यादित बनाउनुपर्दछ ता कि सेवाग्राहीहरूले आफूलाई निश्चिन्त भएको महसुस गरुन्। अनावश्यक रूपमा सेवाग्राहीहरूलाई हैरान गराउनु र आवश्यकताभन्दा बढी पारिश्रमिक असुल्नु कुनै पनि हालतमा उपयुक्त ठानिदैन। पैसा नै सबथोक हो भनेर जीवन बिताउनु एक किसिमले राम्रो काम हुँदै होइन ।
दलालीबाट हुने आम्दानीको केही अंश समाज सेवामाः
दलाली कामबाट आफूले कमाएको केही रकम समाज सेवामा लगाउनु राम्रो हो। कमाएको मात्र देखिनु सामाजिक हिसाबले राम्रो पक्ष होइन। समाजका लागि केही देन हुन्छ भने त्यो कमाइ अर्थपूर्ण हुन्छ नत्र अनर्थ भइदिन्छ, ऊ पैसामुखी मान्छेको रूपमा गनिन्छ।
कर्मचारी युनियनभित्र छन् दलालहरूः
विगतका सरकारहरूका पालामा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी सरुवाका लागि विकराल रूपमा दलालीका कामहरू भएका थिए। घुस नखाइ कर्मचारीहरूको सरुवा हुन गाह्रो हुन्थ्यो। २०७५ सालमा यो लेखकलाई कार्यालय नै नभएको ठाउँमा सरुवा गरिएपछि निकै तनाव झेल्नुपरेको थियो। साथीहरूले भन्थे– ‘पैसा खुवाउनुस् न तुरुन्तै भनेकै कार्यालयमा सरुवा हुन्छ।’ म पैसा खुवाउने पक्षमा थिएन र त मैले हण्डर खाएँ। विरामी अवस्थामा रहेको र मेडिकल बोर्डको सिफारिस पेश गर्दासमेत र सामान्य प्रशासन मन्त्रालयमै आधा दर्जन साथीहरू कार्यरत रहँदारहँदै पनि मैले हैरानी व्यहोर्नुपरेको थियो। अरु कर्मचारीहरूले सरकारी जागिर खाएर सम्पत्ति जोड्छन् भने मैले जागिर खाएर भएको पैतृक सम्पत्तिसमेत गुमाएँ। २०७५ सालमा मलाई सरुवा गरिएको ठाउँमा २०७९ भदौमा अर्थात् म अनिवार्य अवकाश भएपछि मात्र कार्यालय स्थापना भयो। सामान्य प्रशासन मन्त्रालयमा प्रशासन महाशाखा÷प्रशासन शाखाबाट हुने कर्मचारी सरुवाको काम मन्त्रीको निजी सचिवालयबाट हुनथ्यो अर्थात् सरुवाको अन्तिम सूची मन्त्रीको सचिवालयमा निजी सचिव र स्वकिय सचिव अनि उनका सहयोगीहरू अनि कर्मचारी संगठनका पादाधिकारीको सल्लाहमा। जसको औपचारिकतामात्र प्रशासन महाशाखा÷प्रशासन शाखाले निभाउँदछ। त्यहाँ घुस्याहा कर्मचारीहरूको सलबलाहट निकै देखिन्थ्यो। चलाक र घुस्याहा कर्मचारीहरूलाई आकर्षक कार्यालयमा सरुवा गराइदिने र इमानदार कर्मचारीहरूलाई दुःख दिने अपराधी मनोवृत्तिका कर्मचारीहरूलाई ठीक नपारेसम्म मुलुकको शासन व्यवस्थामा सुधार आउँदैन। यातायातको कर्मचारी वैदेशिक रोजगारमा र त्यस्तै एउटा आकर्षक निकायको कर्मचारी अर्को आकर्षक अर्थात् मालदार अड्डामा घुमिफिरी सरुवा भइरहँदा उनको परिवार सुख सयलमा रमाइरहेको हुन्छ। कुनै बखत हुलाकको हाकिमलाई छोरी दिनुभन्दा भंसारको पियनलाई दिनु ठीक भन्ने सोचाइ थियो। पैसालाई नै ठूलो ठान्ने हाम्रो समाजमा सुधार हुनु धेरै बाँकी छ। ज्ञान–संस्कारतर्फ ध्यान नदिने र धनसम्पत्ति नै ठूलो हो भन्ने मानिसहरूको जमात नै खराब समाजको ऐना हो ।
उपचारमा समेत बिचौलियाः
गाउँघरका मेडिकल हल अर्थात् औषधि पसल चलाउनेहरूले पनि ‘फलानो ठाउँमा फलानो अस्पतालको फलानो डाक्टरकोमा जानुस्, ठीक हुन्छ’ भनेर विश्वास दिलाएर पठाइन्छ र त्यो निजी अस्पतालको तर्फबाट जिल्लाका औषधि पसलेहरूले कमिसन पाउँछन्। नेपालमा उत्पादित औषधिहरूमध्ये साठी प्रतिशत औषधि गुणस्तरहीन भनेर समाचार पनि आइसकेको छ ।
सबैभन्दा ठूला बिचौलिया अदालतमाः
कुनै एउटा मुद्दा अदालतमा दशकौँसम्म पनि चलिरहन्छ भने त्यहाँ बिचौलियाको खेल हुन्छ भन्ने कुरा बुझ्नुपर्दछ। मुद्दा जति लम्ब्यायो उती आम्दानी हुन्छ, कानुन व्यवसायीको रूपमा काम गर्ने बिचौलियालाई । मैले एकदिन एकजना वकिललाई सोधेँ– ‘तपाईँ न्यायाधीश हुने बेला भएन र?’ उनले जवाफ दिइहाले– ‘कहाँ र सर! पच्चीस लाख मागे।’ खासमा पच्चीस होइन पचास लाखसम्म लिएर न्यायाधीश हुनुपर्ने कुरा अरुबाट पनि सुनेँ। नेपालमा प्रशासन बिक्नु, न्याय बिक्नु, मान्छेको नैतिकता बिक्नु साह्रै नै लज्जास्पद विषय हो। मुद्दा दायर गरेपछि पीडितलाई समयमै न्याय दिनु वा फैसला गर्नु न्यायालयको दायित्व हुन आउँछ ।
खाडी मुलुकमा पठाएर अलपत्र पार्नेहरूः
विदेश जानुलाई ठूलो कुरा मान्नेहरू हाम्रो समाजमा धेरै छन्। आफ्नो मुलुकको माटोलाई बेवास्ता गर्दै निम्नस्तरको काम गर्नसमेत तम्सिने युवाहरूले देशभक्तिका कुरा गर्दैनन्, विदेश जान पाए पुग्छ। साउदी अरबमा गएर महिनाको पच्चीस हजार कमाउनुभन्दा त यहीँ दुईवटा लैनु–बकेर्नु भैँसी पाल्ने हो भने मासिक तीस हजारभन्दा बढी कमाइन्छ। शीर ठाडो पारेर छाती चौडा बनाएर बस्न पनि पाइयो र इज्जत पनि हुने। फटाहा दलालहरूको भर पर्दा युवाहरू खाडी मुलुकमा गएर अलपत्र पर्नेगरेका समाचारहरू पनि नआएका होइनन्। त्यहाँ कार्यरत नेपाली नारीहरूको वेदना र कारुणिक व्यथाका बारेमा पनि विगतका सरकारहरूलाई चासो थिएन।
आध्यात्मिक दलाल झन खतरनाकः
नेपालमा जतिजति आध्यात्मिक संस्थाहरूको संख्या बढ्दैजान्छन् मुलुक त्यतित्यति बर्वादीतिर गहिरहेको छ। त्यस्ता संस्थाहरूको जालोमा सर्वसाधारण फस्छन् ब्रेनवास र हिप्नोसिसको माध्यमबाट। फस्नेहरूको दिमाग उथलपुथल पारिन्छ र अन्धभक्तहरूको विवेक हराएर जान्छ। ती मान्छेहरू समाजका लागि मात्र नभएर मुलुककै लागि भार बन्नपुग्छन्। नेताहरूका गुण्डाहरूभन्दा धर्मगुरुका गुण्डाहरू खतरनाक पनि हुन्छन्। धर्मको नाममा ठगिखाने धर्मगुरुको नामै लिएर आलोचना गरिएमा उनका अन्धभक्तहरू अरिंगाल झैँ भन्केर आउँछन्। त्यस्ता संस्थाहरूमा पनि दलालको बिगबिगी हुन्छ जसले सर्वसाधारणहरूलाई धर्म भन्दै अधर्म गर्दै आफ्नो संस्थामा फसाउँछन् र लुट्छन् अन्धभक्तहरूबाट तन–मन–धन ।
अन्त्यमा, सबै क्षेत्रका बिचौलिया वा मध्यस्थकर्ताबाट सेवाग्राहीहरूलाई हुने हैरानी र अनावश्यक खर्च नियन्त्रणका लागि सरकारबाट पहल गरिनु मनासिव ठहरिन्छ। अनुगमनलाई तीब्रता दिएर नाजायत किसिमबाट आर्थिक शोषण गर्ने बिचौलियाहरूलाई च्याप्पच्याप्प समाएर झ्याप्पझ्याप्प कारबाही गरेर सरकारले आफ्नो सफलता देखाउनु आवश्यक छ।