नेपाल यस्तो देश हो जहाँ ‘जो चोर उसकै ठूलो स्वर’ भन्ने उखान चरितार्थ हुनेगर्छ । यहाँ भरपर्दो सेवा र वस्तु पाउन मुस्किल पर्छ । मान्छेहरू पैसाका लागि जे गर्न पनि तयार हुन्छन् । यद्यपि यो कुरा सबैमा भने लागू हुँदैन । इमानदार मान्छे फेला त पर्छन् थोरै मात्रामा । देश सुन्दर, तर मान्छेहरूमा भएको विचार र व्यवहार कुरुप छ भन्नुमा फरक पर्दैन । नेपालमा भइरहेका विभिन्न क्रियाकलाप भनौँ वा गतिविध हेर्दा लाग्छ यहाँ कानुनको खिल्ली उडाइएको पाइन्छ । उदाहरणकै रुपमा भन्नुपर्दा सहरका चोकमा आइपुग्ने गाडीका चालकले ट्राफिकको आँखा छल्न सिटबेल्ट हतपत्त लगाउँछन् र ट्राफिक प्रहरी बसेको ठाउँ पार गरिसकेपछि पुनः सो सिटबेल्ट फुकाल्छन् । कुनै सेवा प्रदायक निकाय वा सार्वजनिक संस्थामा सेवा लिनुपर्दा केही कुरा नमिलेमा चिया खर्च वा खाजा खर्चको रुपमा नगद दिएर काम मिलाइन्छ । झुटा विवरण पनि पेश हुनेगर्छ र त्यस्तोमा पनि रकम लिएर काम अगाडि बढाइन्छ । प्रदूषण जाँचमा फेल भएका गाडीवालाहरूले हरियो स्टिकर पाउन गोजीमा नोट हालिदिएपछि रातो स्टिकरको सट्टा हरियो स्टिकर दिइन्छ । यस्ता उदाहरण त कति छन् कि हाम्रो देशमा । अब लागौँ खाद्यवस्तुमा हुने लापरवाहीका विषयमा ।
जनस्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीहरूमा खाद्यवस्तुहरूको मामलामा मात्र होइन औषधिहरूमा पनि खेलवाड गरिन्छ । गाउँघरका औषधि पसलहरूबाट बिक्री गरिने औषधिहरू अनावश्यक रुपमा बिरामीलाई भिडाएर आर्थिक पाटोमात्र हेरिन्छ । अन्दाजको भरमा कसैलाई औषधि दिनु अपराध नै हो भन्न सकिन्छ । एक त एलोपैथी औषधिले साइड इफेक्ट गरिहाल्छ नै त्यसमा पनि विना प्रेसक्रिप्सन दिइने औषधिको जथाभावी प्रयोगबाट बिरामी झनै बिरामी पर्नुपर्ने अवस्था आउनसक्छ । सन्तुलित भोजन र व्यायामले नै मानिसको स्वास्थ्य जोगिन्छ । मीठो–मीठो खानामात्र खाने र व्यायाम नगर्नाले अहिले बिरामीहरूको संख्या बढ्दो छ ।
सरकारी निगरानी, किन पछि हामीः
हामीहरूले बजारबाट खरिद गरेर ल्याउने कुनै पनि खाद्यवस्तु गुणस्तरीय छ कि छैन भनेर ख्याल गर्दैनौँ । हेर्दा आकर्षक लाग्ने वा सप्रिएको तरकारीतर्फ हाम्रो नजर पर्छ र त्यो किनिहाल्छौँ । तर त्यसरी तरकारी सप्रिनुका पछाडि क्षणिक लाभका लागि खेती गर्ने क्रममा कुनै पदार्थको प्रयोग गरिएको हुन्छ भन्ने हामीमा हेक्का हुँदैन । प्रांगारिक मलको प्रयोग गरिएको तरकारी नै स्वास्थ्यका लागि सुरक्षित ठानिन्छ । बांगिएको काँक्रो नहेरेर हामीले सलक्क परेको काँक्रो किन्छौ । सरकारले यसतर्फ निरानी गर्नु नितान्त आवश्यक छ । हामी आफू पनि सजग रहनुपर्दछ ।
गुँदपाक र पुष्टकारीको खोइ जाँच्ने अधिकारी ?
केही वर्ष अघिसम्म काठमाडौँको नयाँसडक छिर्ने गेटबाट प्रवेश गर्दाबित्तिकै एउटा गुँदपाक पसलमा निकै भीड हुन्थ्यो । मान्छेहरूको लाइन हेर्दा त्यहाँ प्रहरीबाटै लाठी चार्ज गर्नुपर्ने जस्तो दृश्य देखिन्थ्यो । निकै चल्ने गरेको सो गुँदपाक पसलका सञ्चालकबाट बदमासी भएको थाहा भएपछि उनी कारबाहीमा परे र सो पसल बन्द गरियो । अहिले त्यहाँ सामान्य खालका वस्तुहरूमात्र बिक्री भइरहेको पाइन्छ । अखाद्य वस्तुहरू मिसाएर बनाइने गुँदपाक र पुष्टकारी कहाँ कसरी उत्पादन हुन्छ भन्ने थाहा पाउनका लागि सरकारी अधिकारीबाट जाँच हुनु जरुरी छ ।
बच्चा मोटो–मोटो भोटो भयो छोटोः
अहिलेका अभिभावकहरूले आफ्ना बालबालिकाहरूको स्वास्थ्य जानाजानी बिगारिरहेको पाइन्छ । उनीहरूलाई फास्टफुड तथा जंकफुड खुवाएर खुसी बन्नुपर्ने अभिभावक ती बालबालिका चाहिनेभन्दा बढी मोटो देखिएमा खुुी नै हुन्छन् । मोटोघाटो भएको देखिएपछि बच्चा स्वस्थ भएको ठान्छन् अभिभावकहरू । मोटो बच्चालाई भोटो साँघुरो भएको र छोटो भएको पत्तो हुँदैन ।
सडेको मिठाइ पसलमा, निराशा मोफसलमाः
यता सहरमा ताजामात्र होइन सडेका मिठाइहरू पनि बिक्री हुनेगरेको पाइन्छ । खाँदा मीठो लागे पनि ती वस्तुहरू कति पुराना वा कति बासी छन् भन्ने कुरा उपभोक्ताले चाल पाउँदैनन् । गुलियो–चिल्लो–अमिलो–पीरो भए पुग्छ उनीहरूलाई । सचेतनाको अभावमा मान्छेहरूले आफैँले आफूलाई बिगारीरहेका हुन्छन् । सहर बजारमा जे पनि बिक्री हुन्छ भने गाउँघरका सक्कली खाद्यवस्तुले भाउ पाउँदैनन् र त्यहाँका किसानहरूमा निराशा छाएको हुन्छ ।
चाउमिन चटपटे पानीपुरी झटपटेः
बिहान उठ्दाबित्तिकै पानीपुरी वा चटपटे खान पसलतिर दौडिने बालबालिकाहरू यहाँ नभएका होइनन् । शौचालय सरसफाइमा प्रयोग हुने हार्पिकमा प्रयोग हुने रसायन पानीपुरीमा हालेर खान दिइन्छ भन्ने समाचारमा आइसकेका पनि छन् । त्यसैले बालबालिकाले झटपट गरेर पानीपुरी र चटपट खाने बानी त्याग्नुपर्दछ ।
म्याद सकिएका अनि धेरै मकिएकाः
पसलमा पाइने कतिपय खाद्यवस्तुहरूका म्याद सकिएका हुन्छन् । कतिपय उपभोक्ताहरूले वस्तुको प्याकेटबाहिर उल्लिखित म्याद नहेरेरै किन्ने गर्छन् । म्याद सकिएका खाद्यवस्तुहरू ठूला व्यापारिक केन्द्र अर्थात् सुपर मार्केटहरूबाट रातारात बाहिरिएर पुनः प्याकिङ गरेर पसलमा पठाइने गरेका समाचारहरू पनि आइसकेका छन् । जुन सर्वसाधारण उपभोक्ताहरूमाथ सिधै घात हो भन्नसकिन्छ ।
लिलामी चामल यता उपभोक्ताको ध्यान कताः
भारतमा दुईवर्ष पुरानो चामल लिलाम गर्ने प्रचलन छ, त्यो चामल लिलाम भएपछि केही मात्रामा नेपाल त पक्कै आउँछ होला । त्यसमा ठूला उद्योगी तथा व्यापारीहरूको चलखेल हुन्छ भन्न सकिन्छ । पोषक तत्व गुमिसकेका त्यस्ता चामल नेपालमा ल्याएर आकर्षक र रंगीबिरंगी बोराहरूमा प्याकिङ गरेपछि मान्छेले चामलको गुणस्तर भन्दा पनि बोराको आकार प्रकार र रङ–बुट्टा हेरेर किन्ने गरेको पाइन्छ ।
एनी हाउ पैसा कमाउः
बजारमा नाजायज किसिमले दाम कमाउनेहरूको बीचमा होड चलेको देखिन्छ । धोका दिएर हुन्छ कि छक्काएर हुन्छ कि धम्क्याएर हुन्छ । जसरी भए पनि धन कमाउने सोँच भएका मान्छेहरू ठूला सहरमा मात्र नभएर साना सहरहरूमा पनि रहेका हुन्छन् । सर्वसाधारणमाथि घात गरेर हरेक दिन पार्टी भोजमा रमाउने मान्छेहरूको पहुँच भने राजनीतिक दलका नेताहरूसँग हुनेगर्छ । उनीहरूविरुद्धमा उजुरी परेमा उजुरी दिनेहरूले उल्टै दुःख पाउनुपर्ने अवस्था छ । किनकि माथि–माथि मिलेपछि जस्तोसुकै उजुरी परे पनि त्यसको कुनै अर्थ रहँदैन । कानुन राम्रो भएर के गर्नु ?
खानेकुरा पोकाका पोका उपभोक्ताको स्वास्थ्यलाई धोकाः
अहिले सहरमा मात्र होइन कि गाउँघरमा समेत बच्चादेखि युवासम्म र अधबैंसेदेखि वृद्धसम्म प्याकेजिङ गरिएका खानेकुराहरूमा पल्किएका छन् । छिटो पकाउन सजिलो मानिने चाउचाउ अहिले जहाँत्यहीँ पुगेको छ । विश्वमा चाउचाउ उपभोग हुने मुलकमा नेपाल पहिलोमा पर्छ भनेर समाचार आइसकेको छ । चाउचाउ पेट भर्ने बाहेक त्यसबाट पोषण पाइन्छ भन्नु गलत हो । चनाको बिरौला अनि मकै–गहुँको रोटी त अहिले हेलामा परिसकेको छ । जुन सचेतनाको अभाव नै हो भन्नुमा अत्युक्ति हुनेछैन ।
आयातमा कडाइ हुनुपर्छ लडाइः
मुलुक पहिले पहिले कृषिप्रधान देश भनेर चिनिन्थ्यो भने पछिल्लो समय कुर्सीप्रधान देश भनेर चिनिदैआएको छ । किनकि यहाँ कुर्सी र सत्ताका लागि सांसदहरू लुकाउने, अपहरण गर्ने अन्य चलखेल गर्ने प्रवृत्तिको विकास भएको पाइन्छ । राजनीतिक हस्तक्षेपका कारण कृषिमा आधारित धेरै सरकारी उद्योगहरू डुबे । आयातमा कडाइ गर्नका लागि हामी लडाइ गर्नु जरुरी छ ।
विषादीका पोका तरकारी डोकाका डोकाः
छिटो हुर्काउने र छिटो फलाउने प्रविधिहरूको विकास भइरहँदा विषादी र कृत्रिम उर्वराशक्तिबाट उब्जिएका अनाज तथा फलफूलहरूबाट मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । त्यस तरकारीहरू कताकताबाट डोकाकाडोका आउँछन् थाहा हुन्न । विषादी प्रयोगका कारण उपभोक्ताहरू बिरामी पर्ने र अस्पतालहरूमा जानुपर्ने अवस्था छ ।
रोगको खानी गर्छ हानीः
अखाद्य वस्तुहरू रोगका खानी नै हुन्, जसले फाइदाभन्दा हानी गर्ने गर्छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई बजार अनुगमन गर्न सक्रिय बनाउन सकियो भने देशका उपभोक्ताहरू बिरामी पर्ने थिएनन्, अस्पतालको शरणमा पर्ने थिएनन् र कतिपयले अकालमा ज्यान गुमाउने थिएनन् ।
बासी खाना अस्पताल जानः
सादा खाना बनारस जान भन्ने उखान त धेरैले सुनेको हुनुपर्छ । तर अब बासी खाना अस्पताल जान पनि भन्नुपर्ने अवस्था छ । पछिल्लो समय घरमा फ्रिज भित्र्याएपछि भुराभुरीहरू रमाउनु स्वभाविकै हो । गर्मीमा चिसो पिउनका लागि फ्रिज उपयोगी मानिन्छ । तर फ्रिजमा राखिएका कुनै पनि खाद्यवस्तु पूर्णतया प्राकृतिक हुँदैनन् । जबर्जस्ती सही हालतमा राखिने साधन बनेको छ फ्रिज ।
लामो दूरीको यात्रा खानामा बासी मात्राः
लामो दूरीका सवारी साधनहरूमा यात्रा गर्नेहरूले आफुखुसी खाना खान पाउँदैनन् । रात्रीबस होस् वा दिवा कुनै पनि बसले आफूलाई अनुकूल र आफ्नै फाइदा हेरेरमात्र गाडी रोक्ने तथा खाना खान लगाउने गरेको पाइन्छ । फलफूलहरू भएको ठाउँहरूमा गाडी हतपत्त रोकिदैन । कोहीकोही यात्रुहरूको ध्यान फलफूलमा गएपछि होटललाई घाटा हुने र गाडीवालालाई कमिसनमा पनि कमी हुने हुँदा मासुभात जहाँ पाक्छ त्यतै गाडी रोकिन्छ ।
खाजा मीठो–मीठो रोग छिटो–छिटोः
हामीले आफ्नो मन नियन्त्रण गर्न नसकेपछि मीठो भन्दै अखाद्य खाजा खाने गर्छौँ जसमा कृत्रिम बास्ना रङ र स्वाद मिसाइएका हुन्छन् । जुन स्वस्थकर भन्दा पनि छिटोछिटो रोग निम्तिनेखालका हुन्छन् ।
अन्त्यमा, नागरिकको जिउज्यानका लागि सरकारी तवरबाट गम्भिर रुपले ध्यान दिइनु आवश्यक छ । जनस्वास्थ्य नबिग्रने खालका खाद्यवस्तुको कारोबार हुने वातावरण बनाइनु जरुरी छ । विगतका सरकारहरूले यस्ता विषयमा खासै चासो लिएर अगाडि बढेको पाइएको थिएन, जसले गर्दा व्यवसायीको लापरबाहीका कारण धेरै उपभोक्ताहरू रोगी भए र अस्पतालको शरणमा परेर धनको नाश पनि गरे । यदि स्वस्थकर खानपान हुने हो भने त बिरामी पनि भइँदैन र अस्पताल जान पनि आवश्यकता पर्दैन ।