हामी नेपालीहरु कामभन्दा कुरा धेरै गर्छौँ र त देशको हालत बिग्रदो अवस्थामा छ । विकसित मुलुकहरुमा समयको निकै ख्याल गरिन्छ र कुन समयमा के गर्नुपर्छ भन्ने हेक्का रहन्छ । समयअनुसार कर्ममा खटिरहने हुँदा कुनै पनि देश उभो लाग्नेमा दुईमत छैन । सरकारी कामको सिलसिलामा होस् वा घुमघामको सिलसिलामा होस् विदेश गएपछि त्यहाँको अवस्था देखेर दंग पर्ने तर यता आफ्नो देशमा फर्किएपछि पुरानै मनस्थितिमा फर्कने बानीले गर्दा त्यो विदेशको अनुभव बालुवामा पानी हाले बराबर हो । प्रायजसो नेपालीहरु विदेश गएर आएपछि निकै धाक लगाएर कुरा सुनाउँछन् । चर्को स्वरमा बोलेर पल्लोघरकाले सुनुन् भन्ने मनसाय हुन्छ । साहित्यिक कार्यक्रममा कुनै वक्ता यदि विदेश घुमेका रहेछन् भने उनले सान्दर्भिक कुराभन्दा असान्दर्भिक कुरा गरेर समय खेर फाल्छन् । म यो देशमा यसरी घुमेको, यो सहरमा यस्तो थियो, मैले त्यहाँ यस्तो यस्तो अनुभव गरेँ भनेर बढाइचढाइ गर्दै नेताको जस्तो भाषण गर्न थाले भने दर्शक दीर्घामा बसेकाहरु जुरुजुरु उठेर हिँड्छन्, यी नौला कुरा होइनन् । यस्तो खालको कार्यक्रममा आफ्नै बखान नगरिएदिए हुन्थ्यो भन्ने सबै दर्शक तथा स्रोताहरुको चाहना हुन्छ । बेकारमा समयको नास गरेर कार्यक्रमलाई खल्लो पार्ने काम हुँदैआएको पाइन्छ । आफ्नो देश नेपाललाई सुन्दर, शान्त विशाल भनेर गीत–कविताहरुमा यी शब्दहरु निरन्तर कोरिइरहँदा देश झन्पछि झन् दयनीय हुँदै गएको छ । प्राकृतिक रुपले सुन्दर देश अहिले कुरुप बन्ने अवस्था छ ।
निर्यात हुने गरी खेती गरौँ आफ्नो भकारी पनि भरौः
नेपालमा कुनै बखतसम्म नेपाल धानचामल निर्यात कम्पनी लिमिटेड नामका कम्पनीहरु पनि थिए । पछि–पछि निर्यात त के गाउँघरका खेतबारीहरु बाँझै पल्टिए । आयातीत अस्वस्थकर खाद्यवस्तुमा भर पर्ने अवस्था आयो । भारत लिलाम गरिएको चामलको भात खाने अवस्था भयो ।
नाम धर्म काम दुष्कर्मः
अहिले धर्मको नाममा टिकटकबाट ठगिखानेहरुको जमात नै छ । झारफुकले बोल्ने भयो, सुन्ने भयो, देख्ने भयो भन्दै धन लुट्नेहरु पनि सक्रिय छन् यहाँ । गेरुबस्त्र धारण गरेपछि पुग्यो अन्धभक्तहरूलाई, उनीहरु चुपचाप लाग्छन् । भारतमा कैयन अपराधी बाबाहरु जेलमा छन् भने उनका अन्धभक्तहरु भित्तामा तस्वीर राखेर भक्तिगान गाइरहेका हुन्छन् नेपालमा । विदेशबाट लखेटिएका र अर्को देश हुँदै भागेर नेपाल आएका एकजना स्वामीको आश्रम मजाले चलेको छ । उनलाई भगवान तुल्य मान्ने अन्धभक्तहरु पनि छन् यहाँ । विदेशमा यो यो गरेको भनेर गफ लगाइन्छ, हाम्रा गुरु वा बाबाले काठलाई सुन बनाइदिनुभएको भनेर दाबी गर्ने उनका एजेन्टहरुले अन्धभक्तहरु मनग्यै धन कुम्लाइरहेका छन् । हिप्नोसिस र ब्रेनवासको माध्यमबाट सोझा मान्छेहरुलाई जालमा पारेर तन–मन–धन लुट्दै आएकाहरुको ठगी अखडा चलेकै छन् । जसलाई भोटबैंकको रुपमा चिनिन्छ, त्यसैले यस्ता अखडालाई वा उनका सञ्चालकलाई सरकारले हतपत्त कारबाही गर्दैन ।
प्रदूषित सहर घुम्नजाने रहरः
कहिलेकाहिँ विश्वकै पहिलो प्रदूषित सहर काठमाडौँ बन्ने गर्छ । जुन कोलकाता जत्तिको स्वच्छ हुन सकेको छैन । अरु विकसित मुलुकका सहरहरुको त के कुरा? त्यहाँका पद्धतिहरुका बारेर बुझेर आफ्नो देश भित्रिएपछि विदेश गएर फर्किएकाहरुले त्यस्ता समस्याहरुका बारेमा सम्बन्धित निकायलाई सल्लाह दिनुपर्ने हो । बस्नुछ आफ्नो देशमा बखान गर्नु छ अर्काको देशको । यस्तो खालको कामलाई देशभक्ति भनिदैन, उनीहरु प्रकृतिप्रेमी पनि होइनन् । खुट्खा खाएर जथाभावी थुक्ने नेपालीलाई एकजना भारतीयले सवक सिकाएको भिडियो भाइरल भएको थियो । यहाँ प्रदूषण नगरौँ भनेर माइकिङ पनि गरिन्छ । तर माइकिङ गरेर मात्र पुग्दैन नेपालीहरुलाई । सभ्य जीवन यापनका लागि उनीहरुलाई व्यवस्थित तरिकाले सबक सिकाउनैपर्छ । काठमाडौँमा रहँदा यो लेखकले मास्क लगाउन थालेको तेत्तीस वर्ष भयो । कोरोना कालमा मात्र मास्क लगाउनुपर्छ भन्ने ठान्नेहरु पनि छन् यहाँ । अस्पतालहरुमा जाने विरामीहरुमा अधिकांश प्रदूषणका बिरामी हुनेगर्छन् भन्ने तथ्यांक पनि आइसकेको छ ।
छोडियो खेती ज्यानलाई क्षतिः
खेतबारी बाँझो राख्ने अनि बजारबाट बासी खानेकुराहरु किनेर खाने गर्नाले एकातिर श्रमको अभावमा स्वास्थ्य बिग्रिएको थाहा हुँदैन भने बजारका जबरजस्ती टिकाइएका अनेकथरिका खाद्यवस्तु किनेर खाँदा स्वास्थ्यलाई लाभ हानी दुवै सँगसँगै भइरहेको हुन्छ । यसतर्फ सचेत हुनु जरुरी छ ।
सहिदका सपना धन कमाउने जपनाः
सहिदको सपना साकार पार्नुपर्छ भन्दै ती कुरालाई घोषणापत्र तथा भाषणमा मात्र सीमित पार्ने अनि तिनैले धन कमाउनका लागि माफिया तस्करहरुसँग साँठगाँठ गर्नाले पनि कहिँ सपना साकार होला?
मोजमस्तीमा चर्नेहरू समयको दुरुपयोग गर्नेहरुः
नेपालमा धनी र गरिबबीचको खाडल ठूलो छ धनीहरु झन्झन् धनी हुँदै जाने र गरिबहरु झन्झन् गरिब हुँदै जानुपर्ने अवस्था छ । उदाहरणका लागि मिटरब्याजीहरु मोटाउँदै जाने र उनीबाट कर्जा लिनेहरुको अवस्था दैनन्दिन खराब हुँदै गइरहेको पाइन्छ । गरिब तथा श्रमिकहरुबाट सहकारीमा जम्मा गरिएको रकमले त्यहाँका व्यवस्थापक तथा हर्ताकर्ताहरुले गाडी किन्ने, महल किन्ने अनि मोजमस्ती गर्नाले यता निक्षेपकर्ताहरुको रकम डुबेका समाचारहरु आइरहेका छन् । धेरै ब्याज पाउने लोभमा सर्वसाधारणहरुले सहकारीमा नै रकम जम्मा गर्नेगरेको पाइन्छ । सहकारीसँग सम्बन्धित सरकारी निकायको संख्या चारवटा छन् । तर सहकारीमा भएको भद्रगोल अवस्थालाई टुलुटुलु हेरिरहेका छन् ती निकायका पदाधिककारी तथा हाकिमहरुले ।
जनचाहना टुटे नेताहरूले लुटेः
जनमतको आधारमा
सांसद हुँदै मन्त्री बन्नेहरुले आफ्ना सालासाली–भाञ्जाभाञ्जी– भतिजाभतिजीलाई विभिन्न अवसरहरु दिएर सरकारी ढुकुटी लुट्छन् भने भोट दिने अर्थात् मतदान गर्नेहरु पुर्पुरोमा हात राखेर बस्नुपरेको छ । विकासको नाममा घुस–कमिसनमा रुमल्लिएको हाम्रो मुलुकको अवस्था त्यसै खस्किएको होइन । जनताको चाहनालाई बेवास्ता गर्दै नेताहरु आफ्नो र आफ्ना भावी सन्ततिका लागि कसरी धन थुपार्ने भन्नेतिर लागेका हुन्छन् । युवाहरु खाडीमा नेताहरु गाडीमा भन्ने उखानै बनिसक्यो हाम्रो मुलुकमा ।
देशमा कदम नचाल्ने विदेशमै हाम फाल्नेः
विदेश जाने भनेपछि निकै गौरबको कुरा ठानिन्छ । विदेमा गएर उच्च वा मध्यम स्तरको काम पाइए त ठीकै होला । निम्नस्तरको काम गर्न विदेशमा जाने अनि विदेश गएँ भनेर धाक लगाउने पारा राम्रो भने होइन । पच्चीस हजार कमाउन साउदी अरेबिया जाने, तर यहाँ दुईवटा भैँसी पालेर पैँतीस हजार कमाउने चाहना नराख्नाले पनि मुलुक आत्मनिर्मर भएको छैन । आफ्नो देशमा भैँसी पाल्दा लाज लाग्छ रे विदेशमा झाडुबढारु गर्दा इज्जत हुन्छ रे । वाह हाम्रा युवाहरु ! सोँच पनि कस्तो ?
अनेक धन्दाले कमाउनेहरु र अखाद्य वस्तुहरुमा रमाउनेहरुः
कालो धन कमाउने अनेक तरिका छन् यहाँ । कम्पनी रजिस्ट्रारको कार्यालयमा व्यवसाय वैध तरिकाले दर्ता गर्ने अनि सम्बन्धित निकायबाट इजाजत वा अनुमति पत्र नलिइकन कम्पनी दर्ताको प्रमाणपत्रकै भरमा अवैध धन्दा चलाएर कालो धन कमाउनेहरु पनि छन् । त्यसरी कमाएको धनले उनीहरु घरमा नखाएर महंगाखालका क्याफे तथा रेस्टुरेन्टमा गएर खान्छन् नानाथरीका खानाहरु । ती खाना स्वास्थ्यवर्धक छन् कि छैनन् भन्नेतिर उनीहरुको ध्यान जाँदैन । ती फास्टफुड खाएर उनीहरु मोटाघाटा देखिन्छन्, खाइलाग्दा देखिन्छन् । तर मीठो र स्वादको नाममा स्वास्थ्यमा समस्या आएपछि महंगो खालको निजी अस्पतालमा गएर धन खन्याउछन् । अनेक प्रकारका धन्दाबाट कालो धनले अखाद्य वस्तुहरु खाएर रमाउनेहरुलाई रोक्न त सकिन्न, तर जनचेतनाका कामहरु हामीहरुले गर्नुपर्ने देखिन्छ ।
जनतालाई दुःख नेतालाई सुखः
खेतीपाती, वनपात, गाईवस्तु, घाँसदाउरामै गाउँलेहरुको जिन्दगी जान्छ भने उनै जनताले भोट दिएर पठाएका सांसदहरुको जीवनशैली केही महिनामै फेरिन्छ । मतदाताहरुसम्म फेरि जाने समय उनीहरुलाई हुँदैन ।
लाज पचाउने बानी सन्ततिलाई हानीः
सरकारी निकायका कुनै पनि पदाधिकारी वा कर्मचारीहरुले भ्रष्टाचार गरेर कमाएको धनका बारेमा कसैले प्रमाण सहित उजुरी दिएमा मात्र छानबिन हुन्छ । यदि उजुरी परेन भने निर्धक्कसम्म लामो समय भ्रष्टाचार गरी नै रहन्छन् । केही गरी उजुरी परेर छानबिनको दायरामा आए, पक्राउ परे, मुद्दा चल्यो, छापाहरुमा प्रकाशन भयो भने उनका सन्ततिहरुमा मानसिक असर पर्न सक्छ । भ्रष्टाचारीका छोराछोरीको बिहे हुन मुस्किल पर्छ । कतै बसाइ सरेर गएमा मात्र उनका छोराछोरीको बिहे होला, नत्र गाह्रो छ । किन कि दाग लागिसकेपछि त्यो दाग जति पखाले पनि जाँदैन ।
पिउन जान्ने जिउन नजान्नेः
सहर बजारका मान्छेले त रम, जीन, ह्विस्की, वाइन, बियर पिउलान् । तर गाउँघरका अम्मलीहरुले भने दुईपाने, तीनपाने, चारपाने पिउने बाहेक उपाय छैन । सहरबाट गाउँ पुर्याइएका मदीराहरु महंगो भएपछि काजी, जिम्माल, मुखियाहरुका सन्तानले मात्र पिउन सक्लान्, तर गरिबले त्यस्ता महंगाखालका पेय पदार्थ पिउन सक्दैन र ऊ ठर्रा पिउन थाल्छ । भट्टीमा गएर सितनसँग रक्सी खान्छ र घरमा गएर श्रीमतीसँग झगडा गर्छ । कोहीकोही त चुँडिएको चप्पल एउटा हातमा र रक्सीको बोतल अर्को हातमा समाएर बाटो दायाँबायाँ गरेर हल्लिएका पनि हुन्छन् । घरमा श्रीमती तथा छोराछोरीलाई तनाव ।
देशभक्ति हरायो नचाहिँदो करायोः
देशमा कोही बस्ने भए पो देशले माया पाउँछ, सबैलाई विदेश चाहिएको छ । विद्यार्थीहरुले बाह्र कक्षा पास गर्दाबित्तिकै विदेश जाने योजना बनाएका हुन्छन् । केही वर्षमा यो देशमा सबै क्याम्पसहरु बन्द हुने अवस्था आउनसक्छ । स्नातक विदेमै, स्नातकोत्तर विदेशमै, विद्यावारिधि विदेशमै पढ्ने भएपछि यहाँका क्याम्पस तथा विश्वविद्यालयको के काम? युवाहरुले देशलाई माया मारेर विदेशतिर हुत्तिनुमा सरकारकै कमजोरी देखिन्छ । विगतका सरकारहरुले युवाहरुलाई देशभित्रै अड्याउन सकेका थिएनन् ।
अन्त्यमा, मुलुकका विद्यमान तमाम समस्याहरु समाधानका लागि नयाँ सरकारमा जिम्मेवारी आएको छ । जुन पछिल्लो जनचाहना पनि हो ।