काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रम बन्द भएका अस्पतालहरूमा सेवा पुनः सञ्चालन गर्न आग्रह गरेकी छिन् ।
मन्त्रालयमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकारी अस्पतालका प्रमुख र स्वास्थ्य बीमा बोर्डसँग भएको छलफलमा उनले सेवा सुरु गर्न आग्रह गरेकी हुन् । मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रम गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको भन्दै यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । ‘स्वास्थ्य बीमा जनताको कार्यक्रम हो । यसको विकल्प छैन । सेवा बन्द गरेका अस्पतालले यथाशीघ्र कार्यक्रम पुनः सञ्चालन गर्नुपर्छ,’ उनले भनिन् । छलफलमा स्वास्थ्य बीमा बोर्डले हालै स्वास्थ्य उपचार सुविधा थैली (बेनेफिट प्याकेज) मा गरेको दररेट परिमार्जनका विषयमा पनि चर्चा भएको थियो । मन्त्री मेहताले स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचार सुविधा थैलीमा गरेको परिवर्तनका सम्बन्धमा थप छलफल गर्न मन्त्रालय तयार रहेको बताइन् । बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैलीको दररेट परिमार्जन गरेको थियो ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा प्रणालीलाई सहज र प्रभावकारी बनाउन मन्त्रालयले नीतिगत तहमा छलफल गरिरहेको जानकारी दिए । उनले सुविधा थैलीको नयाँ दररेटसम्बन्धी विवाद समाधानका लागि सरोकारवालासँग परामर्श जारी रहेको बताए । स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक सकुन्तला प्रजापतिले केही परीक्षण तथा उपचार सेवाको दररेटबारे अस्पतालहरूले उठाएका चासोका विषयमा थप छलफल गरेर समाधान खोज्न सकिने बताइन् । अस्पताल प्रमुखहरूले भने हालै परिमार्जित सुविधा थैली पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । उनीहरूले स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुनुपर्ने रकम लामो समयदेखि भुक्तानी नभएको र त्यसले सेवा सञ्चालनमा प्रत्यक्ष असर पारेको बताए । छलफलमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताललगायत प्रमुखहरू सहभागी थिए ।