रामायणमा उल्लेख भएअनुसार रावण अत्यन्त विद्वान् थिए, शक्तिशाली थिए, अत्यन्त धनी राजा थिए । त्यसका साथै तपस्वी थिए र उत्तिकै शिवभक्त पनि थिए । उनीसँग ज्ञान थियो, बल थियो, आफ्नै लंका राज्य थियो र सम्पत्तिका साथै मान र प्रतिष्ठा सबै थियो । तर उनको अहंकार, उनीभित्र भएको क्रोध र आफूले गरेका गलत निर्णयका कारण उनले सीताको हरण गरे र अरूले बारम्बार दिएका उचित सल्लाहलाई समेत अस्वीकार गरेका कारण अन्ततः उनको पतन भयो ।
हो, अहंकारले पतन ल्याउँछ । हनुमानजीले रावणलाई भनेका थिए, ‘तिमीसँग सबै कुरा छ, तर विवेक रहेनछ ।’ हो, हामीसँग सबै कुरा छ तर आफ्नै विवेक छैन भने सबै कुरा भएर पनि केही काम हुँदैन । अन्ततः आफ्नो पनि पतन हुन्छ र समाज पनि बिग्रिन्छ । विवेकले असल संस्कारको जन्म दिन्छ ।
संस्कार मानिसको जीवनको अमूल्य गहना हो । चाहे जुनसुकै पेशा होस्, वा धर्म, वर्ग, लिङ्ग जे सुकै होस्, सबैलाई संस्कार के हो भन्ने ज्ञान हुनै पर्छ । यो केवल बालबालिकाका लागि मात्र नभई वृद्धवृद्धासम्म आवश्यक छ । कतिपय कुरा बच्चाबाट सिक्न सकिन्छ भने धेरै कुरा पाको उमेरका आफन्त वा अन्य मानिसहरूबाट पनि सिक्न सकिन्छ ।
संस्कार भन्ने कुरा विद्यार्थीदेखि शिक्षक, जनतादेखि नेता, श्रमिकदेखि ठूला–ठूला व्यवसायी, ग्राहकदेखि बिक्रेता, किसानदेखि उद्योगपति, साना दर्जाका कामदार र कर्मचारीदेखि कार्यालय प्रमुखसम्म, प्रहरीदेखि प्रशासकसम्म, सडकमा हिँड्ने पैदलयात्रीदेखि अन्तरिक्षमा जाने व्यक्तिसम्म, यात्रीदेखि चालकसम्म, खेलाडीदेखि प्रशिक्षकसम्म, कलाकारदेखि दर्शकसम्म, पाठकदेखि पत्रकारसम्म र सञ्चारगृह सञ्चालकसम्म, बिरामीदेखि चिकित्सकसम्म, सेवाग्राहीदेखि न्यायाधीशसम्म, घरको सानो बुझ्ने बाल सदस्यदेखि परिवारको मूलीसम्म तथा समस्त हिमालदेखि पहाड हुँदै तराईका सबैमा र गाउँलेदेखि सहरवासीसम्म सबैमा हुनुपर्ने गुण हो । त्यसैगरी आम नागरिकदेखि राष्ट्रप्रमुखसम्म र समाजका हरेक तह र तप्कामा बस्ने व्यक्तिका लागि आवश्यक हुन्छ । संस्कारले नै व्यक्तिको दैनिक रूपमा देखिने व्यवहारलाई उजागर गर्छ, मधुर बोली प्रकट हुन्छ, असल सोचको विकास हुन्छ र आफ्नो जीवनशैलीलाई मर्यादित तथा सभ्य बनाउने काम संस्कारबाटै स्पष्ट रूपमा देखिन्छ । मानिसको हरेक व्यवहारलाई चिन्ने माध्यम नै कस्तो संस्कारमा हुर्केको हो भन्ने स्पष्ट बनाउँछ ।
संस्कार केवल पुस्तकका पाना पल्टाउँदैमा प्राप्त हुँदैन, न त औपचारिक शिक्षा नपाउँदैमा संस्कारको अभाव नै हुन्छ । संस्कार सिक्ने र सिकाउने अनेक माध्यम हुन्छन् । जुन स्पष्ट रूपमा देखेर होस्, पढेर होस्, परेर होस् वा सिकाइले होस्, संस्कार आउने गर्दछ ।
बालबालिकाको पहिलो पाठशाला घर हो अनि पहिलो शिक्षक घरका मूली वा बाबुआमा हुन् । बालबालिकाले सबैभन्दा पहिले घरबाट संस्कार सिक्छन् । त्यसैले आमा–बुबा, हजुरबुबा–हजुरआमा, काका–काकी, मामा–माइजू, दाजुभाइ तथा दिदीबहिनीहरू नै उनीहरूका पहिलो गुरु हुन्छन् ।
त्यसपछि विद्यालय जान थालेपछि विद्यालयका शिक्षक, साथीहरूबाट संस्कार सिक्छन् । त्यसको साथै घरतिर बस्दा छिमेकी, टोलवासीबाट पनि संस्कार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिक्दै जान्छन् ।
त्यसैगरी बिस्तारै ठूलो हुँदै जाँदा वरिपरिको वातावरणबाट, पढाइबाट, पुस्तकको ज्ञानबाट वा धार्मिक पुस्तकबाट, संस्कार सिकाइ, जीवनी र इतिहासबाट, कलाकार, खेलाडी तथा अन्य सार्वजनिक व्यक्तित्वहरूबाट, कार्यस्थलका सहकर्मी, मालिक तथा कर्मचारीहरूबाट, व्यापार व्यवसायमा संलग्न ग्राहक र बिक्रेताहरूबाट, विभिन्न सामाजिक तथा स्वयंसेवी संस्थाहरूबाट, सांस्कृतिक कार्यक्रम, चाडपर्व तथा परम्पराबाट, खेलकुद तथा समूहगत गतिविधिबाट, राष्ट्रका आदर्श व्यक्तित्व र ऐतिहासिक घटनाहरूबाट, यात्रा तथा अन्य देश वा समाजसँगको सम्पर्कबाट, आफ्नै अनुभव र गल्तीबाट पनि संस्कारको सिकाइ प्राप्त हुन सक्छ ।
यसको अलावा सडकमा हिँड्ने मानिस र सार्वजनिक स्थानमा भेटिने व्यक्तिहरू, देशका नीति, नियम र कानुन, टोल–छिमेकका साथीहरू, धार्मिक गुरु तथा धार्मिक संस्थाहरू जस्तै मन्दिर, गुम्बा, चर्च, मस्जिद आदिबाट पनि संस्कार सिकिरहेको हुन्छ ।
कतिपय व्यक्तिहरूले समाजका अगुवा तथा प्रतिष्ठित व्यक्तिहरू, राजनीतिक नेता तथा जनप्रतिनिधिहरू, सरकारी कर्मचारी तथा सार्वजनिक सेवा दिने निकायहरू, सञ्चारमाध्यम, कलाकार, खेलाडीलगायत आजकाल त सामाजिक सञ्जाल तथा इन्टरनेटबाट पनि संस्कार सिक्ने वा संस्कार तोड्ने दुवै काम भइरहेको छ । संस्कार भन्ने कुरा कुनै महान् व्यक्तित्वबाट पनि समाजमा सिकिँदै आएको हुन्छ । त्यसैले समाजका अग्रज व्यक्ति तथा दैनिक भेटिने मानिसहरूबाट पनि संस्कारको हस्तान्तरण हुँदै जान्छ । देशको कानुन, नीति–नियम, सामाजिक मूल्य र परम्पराले पनि नागरिकको संस्कार निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन् ।
नेपाललाई संस्कार, संस्कृति र सभ्यताको धनी देश मानिन्छ । ठूलालाई सम्मान गर्ने, सानालाई माया गर्ने, अतिथिलाई देवताको रूपमा मान्ने, सहयोग र सहकार्यको भावना राख्ने परम्परा नेपाली समाजको विशेषता रहिआएको छ । तर पछिल्ला वर्षहरूमा समाजमा संस्कार कमजोर हुँदै गएको महसुस गर्न थालिएको छ ।
कानुनको उल्लङ्घन नगर्ने हो भने पनि संस्कारी हुन समय लाग्दैन । उदाहरणका लागि, बाटोमा थुक्नु हुँदैन, बाटोमा फोहोर फाल्नु हुँदैन, अरूलाई प्रत्यक्ष रूपमा असर पर्ने काम गर्नु हुँदैन जस्ता सामान्य कुराहरू असल संस्कार भएका मानिसले कदापि गर्दैनन् ।
असल संस्कारमा हुर्केको मानिसले व्यक्तिगत आचरण पनि राम्रो राख्छ । धेरै लोभलालच गर्दैन, अरूको भलाइमा समय बिताउँछ, आफ्नो प्रगतिपथमा लम्किन्छ, अरूको चियोचर्चो गर्दैन, व्यक्तिगत रूपमा अरूलाई होच्याउने वा दबाउने काम गर्दैन, सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्दैन ।
अरूको समस्या पनि आफ्नै जस्तो गरेर सहयोग गर्न अगाडि बढ्छ, अरूको कामको कदर गर्छ, अरूलाई जानीजानी दुःख दिँदैन, सबैलाई प्रेमभावले हेर्ने गर्छ । आफ्नो सुखभन्दा लोकको खुसीलाई पनि ध्यान दिन्छ । प्रकृति जोगाउँछ, बच्चालाई माया गर्छ, वृद्धलाई सम्मान गर्छ । ज्ञान लिन्छ अनि ज्ञान बाँड्छ । आफूले जानेको कुरा अरूलाई पनि सिकाउँछ । अनावश्यक झगडा गर्दैन । समाजमा राम्रो कुरा फैलाउँछ । सकारात्मक सोच ल्याउँछ । खानपिन, आहार–विहारमा सन्तुलन राख्छ र आफ्नो शरीरलाई अनावश्यक बोझ दिँदैन । भोजनलाई नियन्त्रण गर्छ ।
मानिसले आफ्नो मूल्य र मान्यता बिर्सिन थालेको हो कि भन्ने आभास हुन थालेको छ । आफू बन्नका लागि अरूलाई मिचाहापन गर्दै अगाडि बढेको पनि महसुस हुन थालेको छ । जति समाज शिक्षित हुँदै गयो, पहिलेको जस्तो संस्कार हराउँदै गएको हो कि भन्ने पनि देखिन थालेको छ ।
मोबाइलको बढ्दो प्रयोगको असर र अहमताले बढाएको मानसिकताले पनि संस्कारमा कमी आइरहेको छ । यसको उदाहरणका रूपमा सार्वजनिक स्थानमा असभ्य व्यवहार देखाउनु, ट्राफिक नियमको बेवास्ता गर्दै गाडी कुदाउनु, अरूको ख्याल नगरी लाइन मिच्नु, हर्न बजाउँदै बतासिएर सवारीसाधन चलाउनु, बाटोमा हिँड्दा अभद्र व्यवहार गर्नु, जथाभावी थुक्नु, ज्येष्ठ नागरिकप्रति सम्मान नगर्नु, सामाजिक सञ्जालमा अपशब्दको प्रयोग गर्नु, जे पायो त्यही समाचार सम्प्रेषण गर्नु, नराम्रा भिडियो पोस्ट गर्नु, भ्रष्टाचारलाई बढावा दिनु, स्वार्थी सोच राख्नु र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले संस्कारमा ह्रास आएको संकेत गर्दछ ।
संस्कार हराउनका पछाडि विभिन्न कारणहरू छन् । हाल नेपालमा परिवारमा संयुक्त परिवारको विघटन हुने क्रम बढिरहेको छ । ‘एक्लै गर्न सक्छु’ भन्ने भावनामा वृद्धि हुनु, बाहिरको प्रभाव धेरै पर्नु, अभिभावकहरू काममा व्यस्त भएकाले बालबालिका एक्लै बस्नु, जसले गर्दा उनीहरूमा चिडचिडापन बढ्नु र संस्कार सिक्ने अवसर कम हुनु, नैतिक शिक्षाको कमी आउनु, सामाजिक सञ्जालको अनुचित प्रभाव बढ्दै जानु, बढ्दो भौतिकवाद हुनु, राजनीतिक तथा सामाजिक नेतृत्वबाट सकारात्मक उदाहरणको अभाव हुनु, राज्यस्तरकै जिम्मेवार पदमा बसेका व्यक्तिहरू र जननिर्वाचित प्रतिनिधिहरूको व्यवहार कहिलेकाहीँ अनौठो देखिनु जस्ता कारणले पनि संस्कार सिक्नेहरूले नराम्रो कुरा सिक्ने अवस्था देखिन्छ ।
त्यसैगरी समुदायबीचको घट्दो सम्बन्धले पनि संस्कार सिकाइमा असर परेको देखिन्छ । यदि बालबालिकाले राम्रो व्यवहारको अभ्यास घरका साथै अन्य स्थानहरूमा पनि देख्न पाए भने मात्र संस्कारको विकास हुन्छ । तर घर, विद्यालय र समाजमा नै त्यस्तो व्यवहार देख्दैनन् भने उनीहरूमा पनि संस्कारको विकास कमजोर हुन सक्छ ।
संस्कारको संरक्षण र विकासका लागि परिवार, विद्यालय, समाज र राज्य सबैको भूमिका महत्वपूर्ण हुन्छ । घरबाट नै बाबु–आमाले सम्मान गर्न सिकाउने, अनुशासनमा बस्न लगाउने, सही जिम्मेवारी दिने र जिम्मेवार बन्न सिकाउने तथा नैतिकताको शिक्षा दिनुपर्छ । विद्यालयमा नैतिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्छ । समाजका अगुवा जस्तै शिक्षक, कर्मचारी, व्यवसायी र नेताहरू स्वयं आदर्श बन्नुपर्छ । साथै कानुनी शासन र सामाजिक उत्तरदायित्वलाई बलियो बनाउन सके संस्कारको पुनर्जागरण सम्भव छ ।
हाम्रो समाजले नै संस्कारी बन्न सिकाएको हो, तर हामी अरूको लहैलहैमा नलागी आफ्नै कर्तव्यबाट पछाडि नहटेर अगाडि बढ्ने दिन आएको छ । संस्कार कुनै एक दिनमा हराउने वा एकैपटक फर्किने विषय होइन । यो निरन्तर अभ्यास, शिक्षा र उदाहरणबाट विकसित हुने गुण हो । त्यसैले संस्कारको धनी देश भनेर गर्व गर्ने मात्र होइन, आफ्नै व्यवहारबाट संस्कारलाई जीवन्त राख्ने जिम्मेवारी पनि प्रत्येक नागरिकको हो । जब व्यक्तिले आफूबाट परिवर्तन सुरु गर्छ, तब परिवार, समाज र अन्ततः देश नै संस्कारित बन्न सक्छ ।
नराम्रो संस्कारले मानिसको सोच र व्यवहारलाई गलत दिशातर्फ लैजान सक्छ । जब सोच र आचरणमा विकृति आउँछ, त्यसले गलत कार्य गर्न समेत प्रेरित गर्न सक्छ । कुनै भाँडोमा लामो समयसम्म हिङ राखियो भने त्यस भाँडोको गन्ध हिङकै आउँछ, र यदि त्यही भाँडोमा अत्तर राखियो भने त्यही भाँडो सुगन्धित हुन्छ । मानिसको जीवनमा पनि यस्तै हुन्छ—ऊ जुन वातावरणमा बस्छ, जसको संगत गर्छ र जे देख्छ–सुन्छ, त्यसको प्रभाव उसको चरित्र र संस्कारमा पर्दै जान्छ । त्यसैले असल संस्कारको विकासका लागि असल संगत र सकारात्मक वातावरण अत्यन्त आवश्यक हुन्छ ।
परिवारका अभिभावक तथा ज्येष्ठ सदस्यहरूले आफ्ना बालबालिकालाई राम्रो साथी छनोट गर्न, सभ्य व्यवहार अपनाउन र नैतिक मूल्यहरू बुझ्न सहयोग गर्नुपर्छ । गलत संगत, अनुचित गतिविधि तथा खराब प्रभाव भएका स्थानहरूबाट बालबालिकालाई टाढा राख्नुपर्ने जिम्मेवारी पनि परिवारकै हो ।
आज समाजमा विभिन्न तहका व्यक्तिहरूबाट देखिने व्यवहारले नयाँ पुस्तामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । कहिलेकाहीँ देशका महत्वपूर्ण निकाय र जिम्मेवार पदमा रहेका व्यक्तिहरूबाट समेत असहिष्णुता, आक्रोश वा मर्यादाविपरीत गतिविधि देख्न पाइन्छ । यस्ता घटनाले सकारात्मक सन्देशभन्दा नकारात्मक प्रभाव बढी पार्न सक्छन् । त्यसैले बालबालिका र युवापुस्तालाई यस्ता गतिविधि अनुकरणीय होइनन्, बरु सचेत हुनुपर्ने विषय हुन् भन्ने शिक्षा दिन आवश्यक छ । सही संस्कार, सही सोच र सही व्यवहारबाट मात्र स्वस्थ र सभ्य समाजको निर्माण सम्भव छ ।
संस्कार राम्ररी भएको देशमा त्यस देशको संस्कार झल्किन्छ, राम्रो प्रचार हुन्छ, भोलिको पुस्ताले त्यही सिक्छ, पुस्तान्तरण हुँदै जान्छ । आउनुहोस् सबै संस्कारी बनौँ, बालबालिकादेखि नै असल संस्कार सिकाऔँ, मोबाइलबाट अलि टाढा रही प्रकृतिसँग नजिक बनौँ । यसले सभ्य समाज र सभ्य राष्ट्र बन्न प्रेरित गर्छ, कामको मूल्यांकन गर्न सिकाउँछ र हरेक मानिसको चरित्र असल बनाउन मद्दत गर्छ ।
भनिन्छ—सही आचरण र संस्कार २० वर्षको उमेरमा होइन, २ वर्षदेखि नै सिकाउनुपर्छ । संस्कार बिहानै उठ्ने, आफ्नो नित्य कर्म गर्ने, सकारात्मक कर्म गर्ने र मनलाई प्रसन्न राख्ने अभ्यास हो—अरूलाई दुःख दिएर होइन । ज्ञान, ध्यान र असल कर्मको संस्कार सिक्दै र सिकाउँदै जाऔँ । भोजन, व्यवहार र कर्ममा संस्कारलाई अघि बढाउनु आजको आवश्यकता हो । पुण्य र पापको ख्याल गरी संस्कारी बनौँ ।
ज्ञान हुनुमात्र संस्कारी हुनु होइन । रावण विद्वान् थिए, शिवभक्त थिए, तर अहंकार र अधर्मतर्फको झुकावका कारण अन्ततः उनको पतन भयो । त्यसैले ज्ञानसँगै विवेक, विनम्रता र असल संस्कार अत्यावश्यक हुन्छ ।