काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन एक करोड ७० लाख रुपैयाँबराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।
अस्पतालमा बिहीबार आयोजित एक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका प्रमुख प्राडा सुवास आचार्यलाई सामग्री हस्तान्तरण गरेकी हुन् । महानगरले हस्तान्तरण गरेका उपकरणहरुमा शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट विरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्ट¥याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा अल इन वन डेक्सटप छन् । यस्तै चुस्त सेवाका लागि सर्भर र ¥यामको क्षमता वृद्धि गरिएको छ ।
कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले सरकारी अस्पतालहरुमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नुपर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरेको बताईन् । ‘विरामी र बिरामीका आफन्तलाई त्यत्तिकै पनि पीडा भइरहेको हुन्छ । उहाँहरुलाई उपचार गराउने क्रममा झन पीडा र सकस नहोस् । पैसा तिर्न र ओपीडीको टिकट काट्न घण्टौँ लाइनमा बस्नु नपरोस् । यसलाई प्रविधिको प्रयोगबाट सुधार गर्न सम्भव छ । यसका लागि हामीले सहयोग गरेका हौँ’, उनले भनिन् । यस्तै उनले आगामी दिनमा अस्पतालसँगको सहकार्यमा टेलि सर्भिस सञ्चालन गर्न सकिने बताइन् ।
अस्पतालका प्रमुख प्राडा आचार्यले विरामीमैत्री सेवा व्यवस्थापन गर्न महानगरपालिकाबाट प्राप्त उपकरणले सहयोग गर्ने बताए । ‘पहिलो चरणको सहयोगबाट महसुस गर्न सकिने सेवा दिन सकिएको छ । दोस्रो चरणमा पनि सहयोग हुने अपेक्षा गरेका छौँ । यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस बनाउन सकिन्छ’, उनले भने । महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले जानकारी दिए ।