हाम्रा दुई सय चार सय भिसी राजदूत समानुपातिक सांसद या लाभका पदमा नियुक्ति दावेदार राजनीतिक, आर्थिक, सामाजिक विश्लेसक विज्ञ प्राडा समाज (प्राडा सुरेन्द्र केसीदेखि लोकराज बराल, कृष्ण खनाल, केदारभक्त माथेमासम्म आदि इत्यादि)लाई एउटा के खाएको नपच्ने रोग लागेको छ भने दिन प्रतिदिनका स्वभाविक कुनै–कुनै आकस्मिक सरकारी काम कर्तव्य जिम्मेवारी निर्वाह घटनामा पनि आकास पातालको किटान ठहर प्रतिक्रिया टिप्पणी गरिहाल्ने । यसमा एउटा रोचक तथ्य के छ भने, त्यस्ता सबैखाले (कांग्रेस, एमाले, माओवादी, कथित राजावादी आदि इत्यादि) प्रतिक्रिया टिप्पणीको आशय तात्पर्य चाहिं फेरि उखुबारीमा स्याल कराएको जस्तो ठ्याक्कै सबैको एउटै स्वर हुबहु मिल्ने गरेको हुन्छ । प्रधानमन्त्री बालेन शाह पनि कांग्रेस, एमाले, माओवादीका खपिनसक्नुका विगतका थरि–थरिका ‘स्टन्ट’हरूसँग पटक–पटक ठोक्किएर पोख्त भइसकेका छन् । यसो नारी छामेर एक दुई ‘स्टन्ट’ छोडिदियो कि एक अर्काको पिठ्युमा छुरी घोप्न दाउ खोजिरहेका देउवा, ओली, प्रचण्ड आपसमा हार गुहार मागिरहेका कारुणिक दृश्य फिल्म देख्न पाइँदोरहेछ । पाँचपटक प्रधानमन्त्री भएको दुई पटक कांग्रेस सभापति शेरबहादुर देउवा बालेनको हन्टरबाट जोगिन विदेशमा इन्टरपोलको रेडकर्नर नोटिस छल्न सिंगापुर हङकङ भौतारिरहेका छन् । देउवा दम्पतिका छोरा बुहारीले पनि सेलिब्रेटीमा पत्रकार विजयकुमार पाण्डे र ऋषि धमला आदि इत्यादिलाई उछिनीसकेका हुनाले देउवालाई स्थायीरूपको भाग्न र लुक्न सम्भव छैन । छोरी रेनु दाहाल (मतपत्र च्यातेर भरतपुर नगरप्रमुख बनेकी रिस आक्रोशमा चितवनका मतदाताले रवि लामिछानेलाई लगातार तीनपटक चुनाव जीताए) भारतीय नागरिकसँग वैवाहिक सम्बन्ध थाहापाइसकेपछि माओवादी पार्टी मासेर रुकुम पुगेर सांसद पद जोगाएका प्रचण्ड छोरी पनि फस्ने भइ भनेर होस् हवास गुमाइएको भएर अस्पताल धाउन थालेका छन् । खड्ग ओलीको त के कुरा भयो र उनको उत्तराधिकार कहलिएका ईश्वर पोखरेल, शंकर पोखरेल, महेश बस्नेत आदि इत्यादि सबै फिल्म छर्लङ्गै छ । यस्तो प्रत्यक्ष राजनीतिक फिल्म हेर्ने एक प्रकारले प्रधानमन्त्री बालेन शाहको मनोरञ्जन लिने व्यक्तिगत शोख हवी पनि हुनसक्छ । त्यसैकारण बेला–बेला बालेनले केही ‘स्टन्ट’ छोडेर कांग्रेस, एमाले, माओवादीको सातो उडाइदिने गरेका त्यसमा माथि उल्लिखित प्राडा समाजको उखुबारीमा स्यालहुइया शैलीको रुवाबासी देख्दा भेट्दा पंक्तिकारलाई पनि एक प्रकारको मनोरञ्जन आम बौद्धिक मापदण्ड भण्डाफोर थाहा हुँदा रुनु कि हास्नु जस्तो पनि हुन्छ ।
यहाँनेर प्रधानमन्त्री बालेन शाहको कुन एक्सन (काम) चाहिं सही हो र कुन चाहिं सही एक्सनमा पुग्न पूर्वाधारस्वरूप छोडिएको ‘स्टन्ट’ हो बुझ्नु अनिवार्य हुन्छ । बालेन काठमाडौं नगरप्रमुखमा विजयी भए यताका ‘स्टन्ट’हरूको हिसाबकिताब हेर्ने हो भने, दुई प्रकारका भेटिन्छन् । एकथरी उनको ‘स्टन्ट’ काम गरिसकेपछि परिणाम देखाउने शैलीको हुन्छ । जस्तो गत भदौ २३/२४ गतेको जेन—जी नवजागरण संग्राममा पानी बाड्दै हिडेका सुशीला कार्की प्रधानमन्त्री भएपछि मन्त्री बाँड्दै हिड्न थालेका सुदन गुरुङलाई आफ्नो झण्डै दुईतिहाइ शक्तिको क्याबिनेटमा गृहमन्त्रीमा नियुक्ति दिएर २१ जना स्कुलड्रेसकासहित ७६ जना भविष्यका कर्णधार नेपाल आमाका सपूतको क्रूर हत्या अभियोगमा सत्ताच्यूत प्रधानमन्त्री र गृहमन्त्री खड्ग ओली र रमेश लेखकलाई जेल कोच्न लगाउनु यो उनको काम देखाइसकेपछिको ‘स्टन्ट’ शैली हो ।
प्रधानमन्त्री बालेन शाहको काम देखाउने शैलीको ‘स्टन्ट’बाट कांग्रेस, एमाले, माओवादी आदि इत्यादिको सातो जान थालेको देखा पर्न थालेकै समय अब यिनीहरूले ‘चुच्चेनक्शा’को हल्ला मच्चाएर उखुबारीको स्याल हुइया बसी खान दिने छैनन् भन्ने त्यसबखत यसै स्तम्भमा मेरो टिप्पणी आएको थियो । खड्ग ओलीको ‘चुच्चेनक्शा’ शैलीको ‘नेपालले भारतको जमिन हडपेको छ’ भन्ने बालेन शाहको पछिल्लो ‘स्टन्ट’बाट राष्ट्रिय राजनीतिमा मच्चिएको हल्लिखल्लि स्याल हुइया दृश्यबाट विगतको उल्लेखित मेरो टिप्पणी अक्षरस चरितार्थ भएको छर्लङ्ग हुन्छ । ‘चुच्चेनक्शा’को विषयबाहेक कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूमा बालेन सरकारका विरोधमा चुँ गर्न सक्ने कुनै हैसियत जोगिएको छैन । त्यसैकारण ‘नेपालले भारतको जमिन हडपेको छ’ भन्ने रणनीतिक ‘स्टन्ट’ वक्तव्यलाई ठूलो राष्ट्रघाति बालेन भन्ने स्याल हुइया अध्याय अहिले चलिरहेको छ । हो, यो उनको काम फत्ते गर्न पूर्वाधार शैलीको ‘स्टन्ट’ हो । यसमा प्रधानमन्त्री बालेन शाहले अनिवार्य थाहा पाउनुपर्ने कुनै पनि हालतमा झुक्किन नहुने एक दुई पुष्टि प्रमाणित तथ्य उजगार, पाठ्यक्रम अभिलेख गर्न चाहन्छु ।
पहिलो तथ्य त के हो भने, भारतको नक्शाभित्र पुगेको नेपालको भूमि लिपुलेख, लिपियाधुरा, कालापानी (चुच्चेनक्शा) फेरि नेपालको नक्शाभित्र आइपुग्न या त तेश्रो विश्वयुद्ध भएर विश्वमै एउटा उथलपुथल आउनुपर्छ । या भारत नेपाल सैनिक भिडन्त भएर नेपालसँग भारत हार्नुपर्छ । जुन सपनामा पनि सम्भव छैन । किनभने सन् १९५० को नेपाल भारतमैत्री सन्धीमा हस्ताक्षर भएजस्तै ‘महाकाली सन्धी’मा ‘चुच्चेनक्शा’ भारतको सीमाभित्र पुग्नेगरी हस्ताक्षर भइसकेको छ । प्रखर राजनीतिकर्मी अध्येता भरत दाहालले महाकालीसन्धी भए (विसं.२०५३) यता निरन्तर रूपमै त्यसको बिक्री रकमबाट ४०० बढी एमाले, कांग्रेस, राप्रपाका हेटौंढा उत्पादित भुक्के चप्पलधारी नेताहरूले राजधानीमा रातारात पाँचतारे शैलीका महल खडा गरेका चिच्चाइ–चिच्चाइ भण्डाफोर गर्दै आइरहेका थिए र छन् । कथम कदादित बेलायतको समेत सहयोग लिएर (सुगौली सन्धी) अन्तर्राष्ट्रिय अदालतमा पुगियो भने पनि भारतले मुद्दा जित्ने पक्का छ । उल्टो महाकाली सन्धीमा हस्ताक्षर गर्ने तत्कालीन राज्यसत्ताका राष्ट्रघाति आमा बेच्ने अपराधी सजायको कटघरामा नदेखिँदासम्म नेपालको तर्फको त उजुरी दर्ता गरिदिनसम्म पनि अदालतलाई बाध्यता हुन्न । देश बेचेको, मानव तस्करी गरेको अपराध अन्तर्राष्ट्रिय अदालतमा अक्षम्य ज्यान सजाय पापको घडा फुटेर सबै समाप्त भएको ठानिन्छ । यसमा अलिकति सिलसिलेवार जाँदा तथ्य झन् छर्लङ्ग हुन्छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा महाकालीसन्धीमा हस्ताक्षर गर्न दिल्ली जाँदै गर्दा राजा वीरेन्द्रले नारायणहिटी दरबार बोलाएर ‘महाकालीसन्धीमा हस्ताक्षर नगर त्यो राष्ट्रघाति छ’ भनेर सम्झाएका थिए । देउवाले राजा वीरेन्द्रको त्यो सल्लाह नमानेर दिल्ली पुगेर हाम्रो चुच्चेनक्शा भारतको नक्शाभित्र पुगेको सन्धीमा हस्ताक्षर गरेकै कारण नेपालआमाको कोपभाजनमा अहिले परेका हुन् । पापको श्राप र धर्मको आशीर्वाद अपरिहार्य भन्ने गीता वचन छ ।
देउवाको हर्कत हस्ताक्षर प्रकरणमा के थाहा भयो भने, नेपालमा राजसंस्था रहँदासम्म त्यो महाकालीसन्धी जालझेलबाट चुच्चेनक्शा भारतको नक्शाभित्र आइपुगे पनि भोगचलनमा जान सम्भव छैन । भारतले नेपालका १५ पहाडी जिल्लाका १८ ठाउँमा गाडीएका भारतीय सैनिक पोष्ट (२००९ सालदेखि २०२७ सालसम्म नेपालको सार्वभौमिकता भारतको कब्जामा) उखेल्न राजा महेन्द्रले माओत्सेतुङको साथ लिएर सफलता पाएजस्तै भोलि नेपालले समय अलिकति फेरिँदा आफ्नो भूमि आफ्नै सीमाभित्र ल्याउन सक्ने देखियो । परिणाम राजसंस्थालाई मासेर अब नेपालको राजनीतिको दुइटा केन्द्र दरबार र दिल्लीमध्ये दिल्लीमात्र रहन पुग्यो । त्यसपछि १७ हजारबढी नेपालआमाका सपूतको आहुति र बलिदानपछि थोपरिएको माओवादी हिंसाको दस वर्षे रगतपच्छे दुर्भाग्य र लादिएको २०७२ को संविधानपछि त सोझै भारतीय गुप्तचर संस्था ‘रअ’का हाकिम सरासर कसैलाई सुइकोसम्म नदिई १२ बजे राति नेपालका प्रधानमन्त्रीको बेडरुमसम्म पुगेर कान समातेर उठबस गराइ काम अह्राएर (चुच्चेनक्शा स्टन्ट गर्नु) फर्किने गरेको अब त तीन करोड नेपालीका हात हातबाट लुक्नसक्ने कुरा थिएन, लुकेन पनि । भन्नुको तात्पर्य त्यसपछि नेपालको राजनीति पूर्णरूपमा दिल्लीको कठपुतली नाचमा रूपान्तरण भएको हो । गृहमन्त्री भएको व्यक्ति भारतीय दूतावास पुगेर आईजीपी कसलाई बनाऊँ भनेर सोध्ने भारतीय नागरिक रासनकार्ड होल्डर नेपालको क्याबिनेटमा मन्त्री भएपछि, हुन थालेपछि मात्रै भारतले नेपालको चुच्चेनक्शामा काम थालेको अलिकति रिकर्ड पल्टाउँदा छर्लङ्ग भइहाल्ने हुँदा त्यतातिर धेरै जानै परेन । बेलायत, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय अदालत जहाँ पुग्दा पनि नेपालले भारतलाई बेचेको ल्याप्चे ठोकिसकेको कुनै पनि हालतमा फिर्ता नहुने पक्का भएर नै नेपाली जनतालाई बेबकुफ बनाउने उदेश्यले खड्ग ओलीलाई अघि सारेर ‘चुच्चेनक्शा स्टन्ट’ गजबको चुनाबी नारा भएको थियो । त्यसैकारण नै मैले बालेनको पछिल्लो भारतको भूमि नेपालले मिचेको छ ‘स्टन्ट’लाई ओलिको ‘चुच्चेनक्शा स्टन्ट’सँग तुलाना गरेको हुँ । यी दुबै ‘स्टन्ट’मा ओलिको नियत प्रष्टतः खोटो देखिन्थ्यो भने बालेनको नियत चाहिं पवित्र देखिन्छ । सन् ५० को सन्धीदेखिका नवमूल्यांकन वार्तामा भारतलाई ल्याउन बालेन सामु अर्को विकल्पै थिएन ।
खड्ग ओलीको ‘चुच्चेनक्शा’ दुईतिहाइबाट पास शैलीको ‘स्टन्ट’ जस्तै बालेनको नेपालले भारतको नक्शा मिचेको छ ‘स्टन्ट’लाई लिएर बौद्धिक समाज, वकिल, पत्रकार आदि इत्यादि जमातमा ‘बालेन राष्ट्रघाति,’ ‘उसलाई अहिले नै फाँसीमा झुण्ड्याउनु पर्छ,’ ‘बालेन अब सँधैका लागि सकिए’ जस्ता रोइलो स्यालहुइया देख्दा भेट्दा वैरागजस्तो भावना मनमा जाग्छ । २१सौं शताब्दीमा हिँडिरहेका भए पनि अझै हाम्रो नवजागरण चेतना मानसिकता युरोपको तुलनामा १८रौं शताब्दीमै अलमलिइरहेको छ । यति स्वभाविक र सजिलो ट्रिक पनि हाम्रो बौद्धिक विश्लेसक समाज र पत्रकार जगतले आंकलन गर्न सकेनन् कि तत्काललाई कमसेकम एकटर्म पाँचवर्ष ढुक्कले सुशासन, भ्रष्टाचारलाई अंकुश र कृषि प्रणालीमा उत्पादन वृद्धि बिहान बेलुकाको छाक आत्मनिर्भरतर्फको यात्रामा अलिकति खुट्टा दह्रो टेक्न नथाल्दासम्म चुच्चेनक्शा जस्ता आवश्यक पर्दा चीन, अमेरिका, रुस, बेलायतसम्म गुहार्नुपर्ने जटिल बनाइएको मुद्दामा हाललाई नअलमलिइरहने बालेन रणनीति संसारका जुनसुकै देशका जन निर्वाचित प्रधानमन्त्री जसले पनि यति आफ्नै शैली अनुकूल काम गर्न स्वतन्त्र हुन्छन् । अलिकति सुशासन र दैनिक उपभोग्यमा सास धान्नसक्ने अर्थतन्त्रमा खुट्टा टेकेर अर्को टर्ममा चुच्चेनक्शा छिनोफानोमा जाने रणनीति प्रधानमन्त्री बालेनले लिएका हुन् भने त्यसमा आम नेपाली जनमा गुनासो हुने कुरै भएन । ‘हामीलाई नेपाल भारत सीमा विवादमा चीन, बेलायत साक्षी हुने कुरा मान्य छैन’ रवि लामिछाने नरेन्द्र मोदी भेटका समय भारतले बालेनलाई जवाफ दिइसक्यो । यसको अर्थ बालेन अर्को टर्म प्रधानमन्त्री हुँदासम्म पनि यो मुद्दा राष्ट्रिय स्यालहुइयाको नारा भइरहन्छ ।
अन्त्यमा एउटा अकाट्य तथ्य किटानका साथ समयको वाणी सरह के भन्छु भने, जो–जो बालेनको नेपालले भारतको जग्गा मिचेको छ (दशगजा यता उता छिनोफानो बाँकी) वाणीलाई राष्ट्रघाति भन्दै सडकमा मिडियामा उफ्रिरहेका घोक्रो फुलाइरहेका भेटिन्छन्, लेखेर राख्नुहोस् या त्यो तिनीहरूको नवजागरण (प्राडा) कविलाई लिगेसीकाट माथि उठ्न सकेको छैन । या पक्कै पनि कतैबाट पेटपाल्ने ऐंस आराम उपलब्ध छ । तथ्य के हो भने, भारतलाई ‘नेपालले आफ्नो जमिन हडप्यो’ भन्नु लाजको पसारो । नेपाललाई ‘भारतको जग्गा हडपेको छु’ भन्नु डरको पसारो । बालेनलाई सुविधा के भने न लाजको पसारो न डरको पसारो । बस भएको कुरो यति हो । अनि त्यत्रो ठूलो–ठूलो स्वरको राष्ट्रघाति बालेन कोलाहलको के अर्थ र औचित्य ? अस्तु ।