फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले प्रभावशाली प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको छ।
मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले भरिएको दर्शकदीर्घाको समर्थनबीच सहज जित हात पारेको हो। विश्वकपको इतिहासमा तीन संस्करण आयोजना गर्ने पहिलो रंगशाला बनेको एज्टेकामा मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे।
खेलको नवौं मिनेटमै जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सबाट आएको बल डिफेन्डरले नियन्त्रण गर्न नसक्दा इरिक लिराको पासमा क्विनोनेसले अवसरको सदुपयोग गरेका थिए। उनले पहिलो हाफको ४२औं मिनेटमा गरेको अर्को प्रहार भने गोलपोस्टमा लागेर फर्किएको थियो।
दोस्रो हाफमा दक्षिण अफ्रिकाले लगातार झट्का बेहोर्नुपर्यो। ४९औं मिनेटमा सेफेलो सिथोले विपक्षी खेलाडीलाई लडाएपछि रातो कार्ड पाएर मैदानबाट बाहिरिए। त्यसपछि १० खेलाडीमा सीमित भएको दक्षिण अफ्रिकाले थप दबाब सामना गर्नुपर्यो।
मेक्सिकोले ६७औं मिनेटमा अग्रता दोब्बर बनायो। अनुभवी स्ट्राइकर राउल जिमेनेजले सुन्दर गोल गर्दै टोलीलाई २–० को सुरक्षित अवस्थामा पुर्याए।
खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा झर्यो। दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड पाए। यससँगै उद्घाटन खेलमा कुल तीन रातो कार्ड देखाइयो।
यसै खेलमार्फत मेक्सिकोका युवा स्टार गिल्बर्टो मोराले विश्वकप डेब्यु गर्दै नयाँ कीर्तिमान कायम गरे। उनी विश्वकपमा खेल्ने सबैभन्दा कान्छा मेक्सिकन तथा उत्तर अमेरिकी खेलाडी बनेका छन्। साथै, विश्वकप इतिहासका छैटौं कान्छा खेलाडीको सूचीमा पनि उनी समावेश भएका छन्।
जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्वपूर्ण तीन अंक जोडेको छ। यो नतिजाले मेक्सिकोको नकआउट चरण पुग्ने सम्भावना बलियो बनेको छ भने दक्षिण अफ्रिकामाथि सुरुमै दबाब बढेको छ। यसै समूहअन्तर्गतको अर्को खेल चेक गणतन्त्र र दक्षिण कोरियाबीच नेपाली समयअनुसार बिहान ७:४५ बजे हुनेछ।