विश्वकप फुटबल हरेक चार वर्षमा आयोजना हुने विश्वकै सबैभन्दा लोकप्रिय खेल महोत्सवमध्ये एक हो । यो केवल एउटा खेल प्रतियोगिता मात्र नभई उत्साह, राष्ट्रिय गौरव, संस्कृति, पर्यटन, व्यापार र अवसरको विशाल संगम पनि हो । विश्वकपले खेलाडी, दर्शक, आयोजक राष्ट्र, व्यवसायी तथा विभिन्न क्षेत्रसँग सम्बन्धित लाखौं मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड्ने काम गर्दछ । उद्घाटन समारोहदेखि फाइनल खेलसम्म यसको माहोल अत्यन्त रोमाञ्चक र उत्साहजनक हुन्छ । विश्वकपले देश चिनाउँछ, संस्कृति चिनाउँछ, खेलाडीलाई विश्वसामु प्रस्तुत गर्छ र धेरैका लागि सफलता तथा सम्भावनाको ढोका खोलिदिन्छ । फिफाद्वारा आयोजना गरिने विश्वकप फुटबल संसारकै सबैभन्दा प्रतिष्ठित र लोकप्रिय खेल प्रतियोगिता हो । यसको सुरुवात सन् १९३० मा भएको थियो ।
विश्वकप आयोजना गर्ने विचार फ्रान्सका खेल प्रशासक जुल्स रिमेले अघि सारेका थिए । त्यस समय ओलम्पिक फुटबल प्रतियोगिता लोकप्रिय भए पनि स्वतन्त्र र विश्वव्यापी फुटबल प्रतियोगिताको आवश्यकता महसुस गरिएको थियो । त्यसैका आधारमा पहिलो विश्वकप सन् १९३० मा उरुग्वेमा आयोजना गरियो । उक्त प्रतियोगितामा १३ राष्ट्रले सहभागिता जनाएका थिए र आयोजक उरुग्वे नै पहिलो विश्वकप विजेता बनेको थियो । सन् १९३४ मा इटाली र सन् १९३८ मा फ्रान्समा विश्वकप आयोजना गरियो । तर दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप हुन सकेन । अहिले सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउँदैछन् । यो अहिलेसम्मकै धेरै राष्ट्र सहभागी भएको विश्वकप हो, जसले विश्वकपलाई अझ व्यापक र प्रतिस्पर्धात्मक बनाएको छ ।
अब नेपालले पनि विश्वकप खेल्ने सपना देख्नुपर्ने बेला आएको छ । विश्वकप खेल मात्र नभई राष्ट्रलाई चिनाउने बलियो आधार हो । आजका कलिला बालबालिकालाई खेलमा प्रोत्साहन गरी, आन्तरिक कलह र झैझगडा मात्र नगरी, मेरो र तेरो खेलाडीलाई अवसर दिनु र हाम्रोलाई भन्दा जसको भए पनि निष्पक्ष रूपमा राम्रालाई अवसर दिई टिम बनाई कडा प्रशिक्षण गरेमा अवश्य नेपाल एकदिन विश्वकपमा खेल्ने छ । नेपाल फिफाको पूर्ण सदस्य राष्ट्र भए पनि अहिलेसम्म विश्वकपको अन्तिम चरणमा पुग्न सकेको छैन । यसको पछाडि सीमित पूर्वाधार, पर्याप्त लगानीको अभाव, अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको कमी तथा फुटबल प्रशासनमा समय–समयमा देखिने विवादहरू जस्ता विभिन्न कारणहरू जिम्मेवार देखिन्छन् । यदि बालबालिकालाई सानैदेखि खेलकुदमा प्रोत्साहन गर्ने, योग्य खेलाडीलाई निष्पक्ष रूपमा अवसर दिने, आधुनिक प्रशिक्षण प्रणाली लागू गर्ने तथा फुटबल प्रशासनलाई अझ प्रभावकारी बनाउने हो भने नेपालले पनि भविष्यमा विश्वकप खेल्ने सपना अवश्य देख्न सक्छ ।
हाम्रो अवस्था अझै नाजुक छ भने उता अर्जेन्टिना, ब्राजिल, उरुग्वे जस्ता देशहरूमा त फुटबल उनीहरूको नसानसामा फैलिएको छ । यहाँ फुटबल भनेको धर्मजस्तै ठानिन्छ । यहाँका बच्चाहरू पनि बाल्यकालदेखि नै वा भनौँ स्कुलदेखि नै फुटबलसँग जोडिएका हुन्छन् र कडा मेहनतका साथ प्रशिक्षण पनि गराइन्छ । त्यसैले विश्वकप जित्दा असाध्यै ठूलो पर्व हुने गर्दछ र धेरै खेलाडीहरू त अत्यन्त गरिबीबाट आएर विश्वप्रसिद्ध खेलाडी बनेका छन् ।
युरोपका देशहरू इङ्ग्ल्यान्ड, स्पेन, जर्मनी, इटाली, फ्रान्स सबैभन्दा व्यवस्थित र व्यावसायिक मानिन्छन् । विश्वका सबैभन्दा धनी क्लबहरू युरोपमा छन् । रियल म्याड्रिड, एफसी बार्सिलोना, म्यानचेस्टर युनाइटेड, लिभरपुल एफसी र बायर्न म्युनिख जस्ता क्लबहरू धनी साथै लोकप्रिय पनि छन् । यहाँ घरेलु लिगहरूको लोकप्रियता अत्यधिक छ र फुटबल उद्योगले अरबौं डलरको अर्थतन्त्रसमेत चलाउँछ ।
त्यसैगरी अफ्रिकी राष्ट्र नाइजेरिया, सेनेगल, मोरक्को, घाना लगायतका देशहरूमा पनि फुटबल अत्यन्त लोकप्रिय छ । यहाँका मानिसहरू र युवाहरूको सपना खेलाडी बन्ने हुन्छ । उनीहरू एकदम जोसिला खेल खेल्नेमा पनि पर्दछन् । यी देशहरूमा समुद्री किनारामा समेत फुटबल खेलेको देख्न सकिन्छ । र खेल उत्सवमय नै हुन्छ । धेरै खेलाडीहरू गरिबीबाट पनि फुटबलको माध्यमले एकदम जीवनस्तर उठेको देख्न सकिन्छ । विश्वकप खेल्नु र खेलाउनु भनेको देशकै स्तर देखाउनु हो ।
विकासोन्मुख देश वा साना देश जहाँ पूर्वाधारकै कमी छ, खेल मैदान छैन, घरेलु खेल खेलाउनै नसक्ने देशले त आयोजक हुनु त टाढाको कुरा हो भन्न सकिन्छ । यो २०२६ को विश्वकप तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको पहिलो अवसर हो । उत्तर अमेरिकाका तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिको—को संयुक्त सहकार्यमा हुँदैछ । यो विश्वकप केवल फुटबलको प्रतियोगिता मात्र होइन, यसले यी तीनै देशको पर्यटन प्रवद्र्धन पनि हुँदैछ, व्यापार व्यवसायमा उल्लेख्य वृद्धि हुँदैछ । महँगो पैसा हालेर दर्शकले टिकट किन्दैछन् र यो एक ठूलो पर्व बन्दैछ । साथै सांस्कृतिक आदानप्रदानको ऐतिहासिक महोत्सव पनि हुँदैछ । यो ती तीनै देशका लागि अवसर हो र उनीहरूका लागि गौरवको पनि विषय हो । यसले तीनै देशको व्यवस्थापन, उनीहरूको खेल मैदानको अवस्था, त्यहाँको स्थानीय संस्कृति झल्काउन पाउने हुँदा विश्वसामु आफ्नो छवि उच्च देखाउने अवसर पनि हुने छ र यसले पर्यटनलाई उचाइमा पनि पु¥याउँछ । यसले गर्दा ती देशहरूको अन्तर्राष्ट्रिय छवि पनि बलियो बनाउँछ । आफ्नो प्रविधिलाई पनि देखाउने यो सुनौलो अवसर हो ।
त्यसैगरी विश्वकप खेल्नु भनेको खेलाडीका लागि ठूलो अवसर हो । यत्तिकै खेलाडी बन्न पनि सकिँदैन । यो सानो मेहनत गरेर पनि हुने कुरा होइन र आफू एकै जनाले खेलेर पनि जितिने होइन । तर आफ्नो टिम पनि राम्रो छ, मनोबल उच्च छ र पहिलेदेखि विश्वकप खेलिरहेको देशले त एउटा चर्चित खेलाडीको जन्म गराउँछ । ऊ विश्वसामु चर्चित हुन्छ, उसले प्रतिष्ठित क्लबबाट खेल्ने अवसर पाउँछ र क्लब, टिम र देशलाई नै जिताइ आफू पनि माथि पुग्ने अवसर पाउँछ ।
विश्वकप विज्ञापनदाता तथा प्रायोजकका लागि अवसर हो । यो विश्वभरका अर्बौं दर्शकले हेर्ने प्रतियोगिता भएकाले विभिन्न कम्पनीहरूका लागि आफ्नो प्रचार गर्ने यो ठूलो बजार हो । विश्वकपमा प्रायोजन तथा विज्ञापनबाट ठूला कम्पनीहरूले आफ्नो ब्रान्डको विश्वव्यापी पहिचान बढाइरहेका छन् । त्यसैगरी, एयरलाइन्स कम्पनीहरूका लागि पनि यो ठूलै अवसर भएको छ । विश्वकप अवधिमा लाखौं समर्थक, खेलाडी, पत्रकार र पर्यटकहरू प्रत्यक्ष हेर्न एक देशबाट अर्को देशमा यात्रा गरिरहेका छन् । यसले हवाइ सेवाको माग उल्लेखनीय रूपमा बढेको देखिन्छ र विभिन्न एयरलाइन्स कम्पनीहरूले विशेष प्याकेज तथा अतिरिक्त उडानमार्फत पनि ठूलो आर्थिक लाभ लिइरहेको देखिन्छ ।
यसको साथै स्थानीय यातायात क्षेत्रका लागि पनि विश्वकप एक अवसर हो । उबर, बस, ट्याक्सी, मेट्रो, रेल तथा अन्य सार्वजनिक यातायात सेवाहरूको प्रयोग उल्लेखनीय रूपमा बढ्छ । स्थानीय यातायात व्यवसायीहरूले अतिरिक्त आम्दानी गर्ने अवसर पनि यही विश्वकप हुन सक्छ । मानिसहरूको धेरै आगमनले होटल तथा रिसोर्ट, रेस्टुरेन्ट र कफी सपको साथै मनोरञ्जनस्थल पनि भरिभराउ हुने गर्दछ । त्यहाँ भएका खेल सामग्रीका पसलहरू भरिभराउ हुने हुँदा खेल सामग्री उत्पादकका लागि पनि यो ठूलो अवसर हुने गर्दछ । जर्सी, फुटबल, जुत्ता, खेलकुद सामग्री तथा स्मरणीय वस्तुहरूको माग विश्वकपका बेला निकै बढ्छ । खेल सामग्री उत्पादन गर्ने कम्पनीहरूले ठूलो व्यापारिक लाभ हासिल गर्छन् । समर्थकहरू आफ्नो मनपर्ने टोलीको जर्सी तथा सामग्री खरिद गर्न उत्साहित हुन्छन् र खरिद गर्दछन् ।
यसैगरी, विश्वकप केवल खेलाडीको मात्र होइन, प्रशिक्षक, विश्लेषक, व्यवस्थापक तथा प्राविधिक टोलीको पनि परीक्षा हो । उत्कृष्ट रणनीति र नेतृत्व प्रदर्शन गर्न सक्ने प्रशिक्षकहरूले अन्तर्राष्ट्रिय स्तरमा नयाँ अवसर प्राप्त गर्न सक्छन् ।
विश्वकप खेलप्रेमीहरूका लागि एउटा चाड हो अनि महान उत्सव पनि हो किनकि विभिन्न देशका समर्थकहरू, खेलाडीहरू, पत्रकारहरू, मिडियाकर्मीहरू, क्यामराम्यानहरू, व्यवसायीहरू एकै मञ्चमा जोडिन्छन् । किनकि खेलले मनोरञ्जन मात्र होइन, यसले मित्रता, सहिष्णुता र खेलभावनाको सन्देश पनि विश्वसामु दिन्छ । हार र जितभन्दा माथि उठेर विश्वभरका मानिसहरूलाई एकै ठाउँमा जोड्ने शक्ति विश्वकपसँग हुन्छ ।
विश्वकप फुटबल केवल २२ खेलाडीले मैदानमा खेल्ने खेल मात्र होइन । यो राष्ट्रको प्रतिष्ठा, खेलाडीको सपना, व्यवसायको अवसर, पर्यटनको प्रवद्र्धन र विश्वव्यापी एकताको प्रतीक हो । यसले खेलकुदमार्फत विश्वलाई जोड्ने, प्रतिभालाई सम्मान गर्ने र आर्थिक गतिविधिलाई गति दिने काम गर्दछ । त्यसैले विश्वकपलाई केवल खेल प्रतियोगिता नभई मानव सभ्यता, उत्साह, अवसर र विश्व एकताको महान उत्सवका रूपमा लिन सकिन्छ ।
त्यसैगरी पर्यटन प्रवद्र्धनको अवसर पनि विश्वकपले दिने गर्दछ । आयोजक देशका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको विश्वव्यापी प्रचार हुन्छ । साना–साना रोजगारी सिर्जनाको अवसर समेत हुन्छ । सुरक्षा निकायले ठूला–ठूला चुनौतीको सामना गर्नुपर्दछ । त्यसैगरी यातायात, होटल, निर्माण, सञ्चार, सरसफाइ लगायतका क्षेत्रमा हजारौं अस्थायी तथा स्थायी रोजगारी सिर्जना हुन्छ ।
त्यसैगरी पत्रकारिता गर्नेले, युट्युबरलगायत कन्टेन्ट क्रिएटरहरूले समेत आफ्नो काम पाउने गर्दछन् । आफ्नो ठाउँमा मेलापर्व जस्तो हुने हुनाले जनता पनि ताजा महसुस गर्ने अवसर पाउँछन् । जनताले राज्यले गरेको कामलाई धन्यवाद दिन सक्छन् । यसले सरकारलाई हेर्ने दृष्टिकोण पनि फरक पार्दछ । हाम्रो देशले विश्वकप आयोजना गर्यो भन्दा गौरव गर्ने ठाउँ हुन्छ । युवा पुस्ताले पनि केही सिक्ने अवसर पाउँछ । एकोहोरो बनेर बसेका जनताले धेरै मानिसहरूसँग अन्तरक्रिया गर्न पाउँछन्, आफ्ना कुरा साटासाट गर्न पाउँछन् र धेरै ठाउँबाट आएका पाहुना र खेलप्रेमीसँग बसी रमाइलो गर्ने अवसर पनि पाउँछन् । साथै विदेशी लगानीसमेत राज्यले भित्र्याउने अवसर पाउँछ ।
उद्घाटन कार्यक्रममा चर्चित कलाकार आउने हुँदा सङ्गीतप्रेमीहरूले पनि रमाइलो महसुस गर्न पाउँछन् । आयोजकको लगानी त हुन्छ तर आम्दानी गर्ने स्रोत पनि उत्तिकै बलियो हुन्छ । त्यसैगरी संसारका ठूला सञ्चारकर्मीहरूले पनि आफ्नो काम पाउँछन् । यसले सामाजिक एकता पनि ल्याउने गर्दछ ।
विश्वकप जस्ता खेल खेल मात्र नभई एक महान उत्सव हो, देशको गौरव हो, देशको शान हो, खेलाडीको सम्मान हो र यो गर्नु राज्यको दायित्व पनि हो । आफ्नो देशलाई विश्वसामु चिनाउने अवसर हो । यसले आर्थिकदेखि व्यावसायिक र कूटनीतिक समन्वय राख्न पनि मद्दत गर्दछ । गरियो भने गर्नै नसकिने केही छैन । हाम्रो पनि सबै क्षेत्रमा रङ्गशालाको निर्माण गर्न पहल गरौं, रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको बनाऔं, डिभिजन लिगदेखि नै खेलाडीलाई सक्रिय बनाऔँ, राम्रा खेलाडीलाई अगाडि ल्याउने प्रयास गरौँ, राष्ट्रिय स्तरका प्रतियोगिताहरूको आयोजना गरौँ, र आन्तरिक कलह तथा झगडा नगरी एकताबद्ध भएर अघि बढौँ । सभ्य समाज बन्न, असल खेलाडीबाट सिक्न सकिन्छ, अनुशासन खेलाडीबाट सिक्न सकिन्छ, स्वस्थ शिक्षा खेलाडीबाट सिक्न सकिन्छ, जोश–जाँगर खेलाडीबाट सिक्न सकिन्छ । खेल जीवन हो, खेल युवाको ढुकढुकी हो, खेल विश्वास हो, खेल मनोरञ्जन हो । खेल विश्वसामु चिनिने एक माध्यम हो । आज खेलेरै संसारले एउटा सामान्य मानिसलाई विश्वको सेलिब्रेटी बनाइदिएको छ । आशा गरौँ नेपालले पनि फुटबल खेलका लागि केही गर्नेछ र कुनै दिन नेपाल विश्वकपमा खेल्ने छ ।