काठमाडौँ, फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह चरणको रोमाञ्चक खेलमा नेदरल्यान्ड्सले दुईपटक बनाएको अग्रता जोगाउन नसक्दा जापानसँग २–२ गोलको बराबरी खेलेको छ।
अमेरिकाको डलास रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफ सुरु भएलगत्तै दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दै चार गोल सम्भव बनाए।
नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले खेलको ५०औँ मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर जापानले सात मिनेटपछि नै जवाफ फर्कायो। केइतो नाकामुराले ५७औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।
बराबरीपछि पनि नेदरल्यान्ड्सले दबाब कायम राख्यो र ६४औँ मिनेटमा क्रिसेन्सो समरभिलले गोल गर्दै टोलीलाई पुनः २–१ को अग्रता दिलाए। खेल अन्तिमतिर पुग्दै गर्दा नेदरल्यान्ड्स जित नजिक देखिएको थियो।
तर जापानले हार मान्न तयार भएन। खेलको ८९औँ मिनेटमा कर्नरबाट आएको बललाई डाइची कामाडाले आकर्षक हेडरमार्फत जाली चुमाउँदै खेललाई २–२ को बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले एक–एक अङ्क बाँड्न बाध्य भए।
जापानको अन्तिम समयमा आएको गोलले नेदरल्यान्ड्सको जित खोसेको हो। रोमाञ्चक प्रतिस्पर्धापूर्ण खेलपछि दुवै टोलीले विश्वकप अभियानमा एक–एक अङ्क जोडेका छन्।