अहिले नेपालमा वसन्त ऋतुको सिजनको हिमाल आरोहणको लगभग सकिएको छ । यसै सेरोफेरोमा यो लेखमा सगरमाथा हिमाल यसका भविष्यबारे लेख्दैछु । हालसम्म विश्वकै अग्लो हिमाल मानिएको सगरमाथाको भविष्य साँच्चै अन्यौलमा पर्दै गएको छ । तर यस सम्बन्धमा विश्वका धेरै कम मानिसलाई मात्रै थाहा होला कि, सगरमाथा हिमालको भविष्य निकट भविष्यमै अन्धकारमय हुँदैछ । हुन पनि समुन्द्री सतहदेखि नाप्दा आजसम्म सगरमाथा हिमालले पृथ्वीमा रहेका हजारौं हिमालमध्ये सबैभन्दा अग्लो हिमालको मान्यता पाएको छ । त्यसैले गर्दा विश्व एक से एक नामुद पर्वतारोहीले यो हिमालको शिरमा एकपटक भए पनि पाइला राख्ने सपना देख्छन् । यस्तो सपना देख्नु पर्वतारोहीहरूका लागि अनौठो कुरो पनि होइन । किनकि, उनीहरूको आफ्नोआफ्नो काम नै विश्वका विभिन्न अग्ला र अप्ठ्यारा हिमाल आरोहण गरेर आफ्नो व्यक्तिगत एवं देशको नाम विश्वमा ऊँचो राख्नु रहेको हुन्छ । यो वर्ष त सगरमाथा हिमालमा आरोहीको सङ्ख्या पनि इतिहासमै सबैभन्दा धेरै पुगेको छ । साथै नेपाल सरकारले पनि सगरमाथाबाट विगतका वर्षहरूमा भन्दा धेरै सलामी दस्तुर उठाउन सफल भएको छ ।
हुन पनि सगरमाथा हिमाल आरोहण गर्न सक्नु जुनसुकै देशका पर्वतारोहीका लागि आफ्नो प्रतिष्ठासमेत जोडिएको हुन्छ । फलतः पछिल्लो वर्षको हरेक वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहणका लागि ठूलो भीडभाड हुने गरेको छ । हुन पनि पछिल्लो समयमा वर्षेनी कम्तिमा पनि तीन सय ७०/८० जनादेखि चार सय ६०/७० अवस्था हेरेर चार सय ८५/९० देखि पाँच सय १५/२० जनाभन्दा बढी संख्यामा नेपाली एवं विदेशी पर्वतारोहीले सगरमाथा हिमाल आरोहण गरिरहेका छन् । साथै त्यसरी सगरमाथा हिमाल आरोहण गर्न आएका विदेशी अनि स्वदेशी पर्वतारोहीहरूका साथमा जाने सहयोगीहरू जस्तो कि सरदार, गाइड, क्लाइम्बिङ शेर्पा (हाइ एल्टिच्युड शेर्पा) आदि गरेर वर्षेनी साढे सात सय ८०, सात सय ९० जनादेखि नौ सय ८०, नौ सय ९० भन्दा बढी पर्वतारोही सगरमाथा हिमालको शीरमा पाइला राख्न सफल भई रहेका छन् । त्यस्तै उनीहरूका साथमा जाने कुक, किचेन ब्वाइ, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, सम्पर्क अधिकृत, याक–नाक एवं प्रकारले चौंरी गोठालो समेत गर्दा लगभग १७–१८ सय देखि २२–२१ सय जनाको ठूलो भीडभाड हुने गरेको छ, सगरमाथा हिमालको आधार शिविरमा । यो क्रम ७५ दिन अर्थात् साढे दुई महिनासम्म निरन्तर जारी रहने गर्छ ।
समग्रमा सरकारले पटकपटक गरेर ४७६ वटा हिमाल पर्वतारोहीहरूले आरोहण गरुन् भनेर खुल्ला गरेको छ । त्यसो भए पनि वर्षेनी सगरमाथा हिमालमै पर्वतारोहीहरूको ठूलो भीड हुने गरेको देखिन्छ । यस्तो किन भई रहेको छ त ? सरकारले यसको सटिक एवं चित्तबुझ्दो जवाफ दिन सक्दैन । हुन सक्छ, सगरमाथा हिमाल विश्वको एक मात्रै अग्लो र ‘आइकोनिक’ हिमालका रुपमा स्थापित भएको हुनाले गर्दा प्रायः सबै पर्वतारोहीहरूको आकर्षण सगरमाथामै रहेको होस् । त्यसैले हालसम्म लगभग नौ हजार पर्वतारोहरूले १२ हजारदेखि १३ हजार पटक आरोहण गर्न सफल भएका छन् । त्यसरी नौ हजार पर्वतारोहीहरूले १२ हजारदेखि १३ हजार पटक आरोहण गर्न कसरी सफल भए ? भन्दा एकै व्यक्तिले आठौं, नौऔं, १०औं, ११औं, १२औं, १३औं, १४औं, १५औं, १६औं, १७औं, १८औं, १९औं, २१औं २२औं, २३औं, २६औं २७औं, २९औं, ३०औं एवं ३१औं पटक सगरमाथा आरोहण गरिसकेका छन् । हुन पनि सोलुखुम्बु जिल्लाको थामे गाउँका कामीरिता शेर्पाले सन् २०२४ को वसन्त ऋतुमा एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर २९ एवं ३०औं पटक सगरमाथा आरोहण गरेका थिए भने उनै कामीरिता शेर्पाले यो वर्ष (सन् २०२५) को वसन्त ऋतुमा ३१औं पटक सगरमाथा आरोहण गरेर गत वर्षको आफ्नै विश्व कीर्तिमान भंग गरेका छन् । अहिलेसम्म सगरमाथा आरोहणको सन्दर्भमा कामीरिता शेर्पाले ३१औं पटक सगरमाथा आरोहण गरेर दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन् । त्यस्तै सोलुखुम्बुकै पासाङदावा (पा दावा)शेर्पाले पनि यही वर्षको वसन्त ऋतुमा २९औं पटक सगरमाथा हिमल आरोहण गरेर दोस्रो धेरैपटक सगरमाथा हिमाल आरोहण गर्ने पर्वतारोही बन्न सफल भएका छन् ।
जे होस्, भूगर्भविद् एवं वैज्ञानिकहरूका अनुसार सगरमाथा हिमाल ‘ग्रे लाइमस्टोन’ले बनेको हो । साथै सगरमाथा हिमाल आजभन्दा एक करोड ५२–५३ लाख वर्षदेखि एक करोड ५९–६० लाख वर्षअघि उत्पत्ति भएको हो । टेथिस महासागर टेक्टोनिक प्लेट सर्ने–चल्ने क्रममा वा भनौं ‘अप–हिभल’ सिद्धान्तअनुसार सगरमाथा हिमालले अहिलेको रुपमा आकार लिएको हो । गुगल सर्च गरेर हेर्दा अहिले अस्तित्वमा नरहेको ‘टेथिस महासागर’ त्यो बेला आजको एसिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रसम्म फैलिएको थियो । करिब ४०–४१ मिलियन वर्षअघि ‘टेथिस महासागर’ उत्तरतर्फ सर्दै गएर आजको आल्पस पर्वत मालाका साथै हिमालय पर्वत माला बनेको हो । त्यस्तै गरेर करिब ८०–८१ मिलियन वर्षअघिको समयमा आजको भारत छ हजार चार सय (६,४००) किलोमिटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो ।
साथै सगरमाथा हिमाल आरोहणको इतिहास हेर्दाखेरि सन् १९२१ सम्म पुग्नुपर्ने हुन्छ । त्यस यता सन् २०२४ को वसन्त ऋतुसम्म नेपाललगायत विभिन्न देशका करिब आठ हजार पर्वतारोहीले १२–१३ हजार बढी पटक आरोहण गरेका छन् । त्यसको कारण भनेको माथि नै एक प्रसंगमा भनिएझैँ एकै जना पर्वतारोहीले एकभन्दा बढी पटक सगरमाथा आरोहण गरेका छन् । त्यसो त सगरमाथा हिमाल केवल आरोहीका लागि मात्रै आकर्षणको विषय नभएर सगरमाथा आरोहण गर्न अनुमतिपत्र वा भनौं परमिट जारी गरेवापत कमाइ गर्ने नेपाल सरकारका साथै सगरमाथा हिमाल आरोहण गराउने विभिन्न पर्वतारोही कम्पनीहरूका लागि पनि धेरै आकर्षणको विषय बनेको छ । यसो हुनुको कारण नेपाल सरकाले सगरमाथा आरोहण गर्न आउने विभिन्न देशका पर्वतारोहीबाट ठूलो मात्रामा सलामी दस्तुर संकलन गर्ने गर्छ । त्यस्तै विभिन्न देशका पर्वतारोहीहरूलाई सगरमाथा हिमाल आरोहण गर्न आकर्षित गर्दै विभिन्न सञ्चारमाध्यममा विज्ञापन निकाले आह्वान गर्दै नेपालसम्म ल्याएर सगरमाथा आरोहण गराउने स्वदेशी तथा विदेशी पर्वतारोहण कम्पनीले पनि ठूलो मात्रामा कमाइ गर्ने गरेको छ, सगरमाथामा हिमालबाट । त्यस्तै सगरमाथा आरोहीका साथमा जाने कुक, किचेन ब्वाइ, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, सम्पर्क अधिकृत, लुक्ला तथा नाम्चेबजारबाट भारी खेप्ने–बोक्ने याक–नाक र चौंरीको गोठालो समेत गर्दा कम्तिमा पनि २०/२२ सय जनाले वर्षेनी रुपमा राम्रै कमाइ गर्ने गर्छन् । नेपाल सरकारले मात्रै सगरमाथा हिमाल आरोहण गर्न अनुमति जारी गरेवापत विगतका दिनमा वर्षेनी ६५/६७ देखि ७३/७४ करोड आम्दानी गरिरहेको थियो । यो वर्ष एक अर्बभन्दा बढी कमाइ गरेको छ । सगरमाथा हिमालले प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा वर्षेनी अर्बाैं रकम बराबारको विदेशी मुद्रा आय आर्जन गरेको देखिन्छ । तर, यसरी ‘सुनको फुल पार्ने कुखुरी’को रुपमा रहेको सगरमाथा हिमाललाई दीर्घकालसम्म बचाउनका लागि हामी लागि पर्ने कि नपर्ने ? प्रश्न खडा भएको छ । सगरमाथा हिमालको कमाइबाट मक्ख नपरेर सगरमाथा हिमालको दिगोपना र दीर्घकालसम्म बचाइ राख्नेतर्फ हामीले तत्कालै केही न केही कदम चाल्ने ? किनभने, सन् २०२२ को फेब्रुअरी ५ मा बीबीसी नेपाली सेवाले आफ्नो अनलाइन संस्करणमा अपलोड गरेको–प्रकाशित गरेको रिपोर्टअनुसार सगरमाथा हिमालको आसपास रहेका हिम नदीमा विगत दुई हजार वर्षदेखि जमेर रहेको बरफ केही वर्ष अघिदेखि तीब्र गतिमा पग्लन सुरु भएको छ । रिपोर्टमा जनाइएअनुसार सात हजार नौ सय मिटरको उचाइमा रहेको साउथ कोल र त्यस वरिपरि रहेको ग्लेसियरको बरफ पग्लिने क्रम पनि ८० गुणाले छिटो रहेको देखाएको छ । यसले सगरमाथा हिमालको भविनकारात्मक संकेत गर्दै छ, सगरमाथा हिमालको आयु छोट्टिदै छ, सगरमाथा हिमालको आयु घट्दै छ । सोचौं त, केही गरी सगमारथाको आयु लामो समयसम्म रहेन भने के होला ? सगरमाथाको आयु लामो समयसम्म नै रहे पनि सगरमाथा हिमालमा हिऊँ पर्न छाड्यो, बरफ जम्न छाड्यो भने ढुंगै–ढुंगा अनि चट्टानी भीर–पहरका बाटो भएर मात्रै सगरमाथाको शिरमा पुग्न ‘मै हुँ !’ भन्ने नामुद पर्वतारोहीलाई पनि गाह्रो हुने छ ।