नेपाल सरकारले आर्थिक वर्ष २०८३।८४ को बजेटमा संस्कृति तथा पर्यटन क्षेत्रका लागि सात अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । ऐतिहासिक स्थल बृहत् लुम्बिनी विकास, जनकपुरलाई विवाह गन्तव्य, उच्च पहाडी पदमार्ग र पर्या पर्यटनको विकास र विस्तार, दलित समुदायको परम्परागत मौलिक सीपको प्रवर्धन, धार्मिक एवं तीर्थस्थलहरू समेटेर प्रादेशिक पर्यटकीय कोरिडरको प्रवर्द्धन आदि कार्यक्रमहरू समावेश गरिएको छ । चालू १६औं पञ्चवर्षीय योजनाका प्रमुख कार्यक्रममा पर्यटन पूर्वाधारको विकास, पर्यटन बजारको विकास, विस्तार तथा सुदृढीकरण, गुणस्तरीय लगानी आकर्षण र पर्यटकीय क्रियाकलाप तथा गन्तव्यको विविधिकरण गर्ने, एक जिल्ला न्यूनतम एक पर्यटकीय गन्तव्य र आतिथ्य व्यवस्थापनमा सुधार गर्ने आदि समावेश गरिएको छ । वर्तमानको वार्षिक ११।१२ लाख पर्यटक आगमनलाई आव २०८५।८६ सम्म २५ लाख पुर्याउने र जीडीपीमा पर्यटन क्षेत्रको योगदान दुई प्रतिसतबाट सात प्रतिसत पु¥याउने लक्ष सोह्रौं योजनाको छ ।
समृद्धिको यात्रामा पर्यटन क्षेत्रको विकास र विस्तारले अहं भूमिका खेलेको हुन्छ । पर्यटन विकासको महत्व र मार्गचित्रको बारेमा बहस एवं प्रचारप्रसार पर्याप्त हुन सकेको छैन । हाम्रो जस्तो प्राकृतिक, धार्मिक विविधताले भरिएको देशमा पर्यटक आकर्षण गर्ने अनेक उपाय हुन सक्छन्। विश्वमा पर्यटनको आधार प्राकृतिक सौन्दर्य, कला, संस्कृति, धर्म, सामाजिक रीतिरिवाज, खेलकुद, शिक्षा आदि प्रमुख हुन्। नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रोचक संगमस्थल हो । नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दीऔं पुरानो र विश्वमा अनुपम छ । अतिथि देवो भव संस्कार संस्कृतिमा अभ्यस्त नेपालीहरूको जीवनस्तर उकास्न पर्यटन प्रवर्द्धन बरदान सावित हुन सक्छ । नेपाली समाजको सुमधुर संरचना विभिन्न जातजाति, धर्म संस्कार र संस्कृतिको अनुपम समझदारी र सहकार्यमा जीवन्त रहेको छ । यहाँको चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशहरूका लागि उदाहरणीय र अनुकरणीय हुन सक्छन्। विभिन्न जातजाति तथा समुदायको पहिचान र परिचय उनीहरूको रहनसहन, संगीत र नृत्यमा प्रकट हुन्छ । कला र शील्प, लोक गीत र वाद्यवादन, भाषा र साहित्य, दर्शन र धर्म, त्यौहार र उत्सव, खाना र पेयमा मुखरित हुन्छ । सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्न मौजुदा विशिष्ट संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संस्कृति र सभ्यताको धनी सुन्दर देश नेपालबारे फितलो प्रचारप्रसारका कारण पर्यटन विकासमा आशालाग्दो उपलब्धी हासिल हुन सकेको छैन । नेपालमा पर्यटन विकासका आधार एवं चर्चा र चुनौतीबारे रौंचिरा विश्लेषणका आधारमा भविष्यदर्शी नीति तथा कार्यक्रम ल्याउन सरकार र सरोकार पक्ष चुकेको महसुस हुन्छ ।
मानिसहरू पर्यटकको रुपमा ज्ञान, अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि संसारका विभिन्न ठाउँमा पुगिराखेका हुन्छन् । सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै जानु स्वभाविकै हो । आफ्नो देशमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिकलगायतका दुर्लभ तथ्यहरू उजागर गरी कीर्तिमान कायम राख्ने होड नै चलेको छ । विविधताले भरिपूर्ण हाम्रा प्राकृतिक सांस्कृतिक र धार्मिक संरचना पर्यटकीय गतिविधीका लागि लोभ लाग्दा छन् । प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, तलाउ विहार, स्काइ डाइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्यानोनिङ, सहासिक खेल जिपवायर, जङ्गल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जङगली जनावर, गाउँवस्तीको अनुपम मौलिकता पर्यटन विकासका प्राकृतिक आधारहरू हुन् । हामीले पनि उल्लेख्य मात्रामा पर्यटक भित्र्याउने रणनीतिक व्यवहारिक योजनाको खाँचो छ । खर्चको हिसाबले पनि विश्वको सस्तो देश नेपालमा मनोरञ्जन र अध्ययनका लागि आउन र रमाउन सहज रहेको विज्ञापन सन्देश प्रवाहमा कन्जुस्याइँ गरिनु हुन्न ।
अहिले तीन करोडको हाराहारीमा जनसंख्या भएको सानो भूगोलभित्र प्राकृतिक विविधता असंख्य जातजाती र भाषा संस्कार संस्कृतिले भरिपूर्ण भएको देश विश्वमा नेपाल मात्रै होला। यहाँको विविधता हेर्न अवलोकन गर्नमात्रै नभएर पूर्वीय दर्शन, संस्कार संस्कृतिको अध्ययन अनुसन्धानकर्ताको लागि पनि उत्तिकै रोजाइको क्षेत्र पर्ने सम्भावना प्रचुर छ। हाम्रो धार्मिक सांस्कृतिक र प्राकृतिक वैभवको दिगो संरक्षण र विकास गर्दै पर्यटक भित्र्याउन ठोस नीति र रणनीतिको खाँचो खट्किएको सर्वत्र महसुस गरिएको छ। हाम्रा पुर्खाले आर्जेको र प्रकृतिले दिएको बर्दानको सदुपयोग गर्दै सम्पन्नतातिर लम्किन नेतृत्वमा दूरदर्शी शोच र दृढ इच्छाशक्ति आवश्यक छ । संसारमै ठूलो उद्योगको रुपमा स्थापित र विस्तारित हुदै गएको पर्यटन उद्योग हाम्रोमा प्राथमिकतामा नपर्नु विडम्बना हो । सम्पन्नताको प्रचुर स्रोतसाधानयुक्त भूमिमा बसेर अरुको आस गर्नुु भनेको सुनको कटौरामा भीख माग्नु जस्तै हो ।
कमजोर आर्थिक स्थिति भएको नेपालले आधुनिक वैभवपूर्ण संरचना निर्माण गरेर पर्यटक आकर्षण गर्ने आधार नभए पनि प्राकृतिक मनोरम दृश्य तथा धार्मिक सांस्कृतिक संरचना र संस्कारले पर्यटन व्यवसाय फस्टाउन प्रचुर मद्दत पुग्ने जगजाहेर छ । हामी प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा र सभ्यताको धनी भएर पनि सदुपयोग गर्न नसक्नु भनेको माल पाएर चाल नपाएको टीठ लाग्दो अवस्था हो। नेपाली पोशाक, जातजाति, धर्म, पाहुना सत्कार, धार्मिक संस्कारमा विविधता, सांस्कृतिक धार्मिक सम्पदामा प्रचुरता आदि पर्यटकीय आकर्षणका क्षेत्र हुन्। युनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचीकृत धरोहर स्तूपा, मन्दिर, गुम्बा, विहार, दरबारहरूको संरक्षण र सम्बर्द्धनमा समेत तदारुकता नदेखिनु दुःखद् हो । कुनै बेला मन्दिरै मन्दिरको सहर भनेर चिनिएको काठमाडौं उपत्यका घरहरूको अस्तव्यस्त कंक्रिड जंगलको छाँयामा परेको छ । भूकम्पबाट प्रभावित उपत्यका भित्रका काठमाडू दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपति नाथ, बौद्धनाथ, चाँगूनारायण मन्दिरको जिर्णोद्धारमा उदासिनताको कारणले पनि सांस्कृतिक धार्मिक पर्यटनमा धक्का लागेको छ । उपत्यका बाहिर बराह क्षेत्र, हलेसी, कालिन्चोक भगवती, पाथिभरा भगवती, दोलखा भिमसेन, शैलुंग, मनकामनना, गोरखा दरबार, जनकपुर, लुम्बिनी, मुक्तिनाथ, गोसाइकुण्ड, स्वर्गद्वारी, खप्तड आश्रम, विन्ध्यवासिनी, बराही पोखरा फेवातालगायतका ताल आदि असंख्य धार्मिक सांस्कृतिक प्राकृतिकस्थलको प्रचारप्रसार र पर्यटकमैत्री वातावरणका अभावले पर्याप्त पर्यटक भित्र्याउन सकिएको छैन ।
बोल्नेको पीठो बिक्छ नबोल्नेका चामल पनि बिक्दैन भन्ने नेपाली भनाइ पर्यटन विकासका सरोेकार निकायले आत्मसात गरेको पाइँदैन । नेपाल आउने पर्यटक संख्याअनुसार भाषा र शैलीमा राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमार्फत प्रचार प्रशार गर्नेतर्फ खासै ठोस योजना देखिँदैन। नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र सहासिक पर्यटकीय गन्तव्यका रुपमा विश्व बजारमा स्थापित गराउने खालका आक्रमक प्रचार प्रशार कार्यक्रहरूको खाँचो खट्किएको देखिन्छ । पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पहिचान भएका गन्तव्यहरूको पूर्वाधार निर्माणमा तीब्रता र थप नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास र प्रवर्द्धनका लागि प्राथमिकता दिइनुपर्ने देखिन्छ । ऐतिहासिक पर्यटकीस्थल गढी, किल्ला, दरबारआदिको महत्वको प्रचार गर्दै संरक्षण र सहज पहूँचका लागि आवश्यक व्यवस्था गरिनुपर्दछ । पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन,जलयात्रा पर्यटन, पर्या पर्यटन, धार्मिक सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन जस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिइनुपर्दछ । बाह्यको साथसाथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै पर्यटन विकासको पूर्वाधारको रुपमा लिइने बाटो, वासस्थान अन्तरगत होटल, होम स्टे, र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटन विकासमा टेवा पुग्ने वास्तविकता हो । नेपालको परम्परा, लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाजआदिको संरक्षणका लागि एक राष्ट्रिय तथा सबै प्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक संग्राहलयको स्थापना दिगो पर्यटन विकासका लागि सकारात्मक पहल ठहरिने छ । तीन तहका सरकारको नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई प्राथमिकतकासाथ सम्बोधन भएमा दिगो पर्यटन विकासमा टेवा पुग्नेतर्फ सरकार र सरोकार पक्षको हेक्का पुग्नु जरुरी छ ।