काठमाडौं । ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट माधव नारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले इ–सेवाबाट बोलेको, तपाइँको इ–सेवामा धेरै रिवार्ड पोइन्ट रहेकोमा किन प्रयोग नगर्नु भएको भन्दै याक एन्डको इन्टरप्राइजेजको मोबाइलमा पटक–पटक फोन गरी ओटीपी कोड लिई नगद १ लाख ९८ हजार ४ सय ९९ रूपैयाँ इभोलुसोन टेड्रिङ प्रालिको इ–सेवा आईडीमा रकमान्तर गरेको र इभोलुसोन टेड्रिङबाट आइफोन लिएको खुल्न आएको छ । प्रहरीले उनको साथबाट मोबाइल ४ थान र सिमकार्ड ४ थान बरामद गरेको छ ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।